१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घटे भक्तपुर भित्रिने पर्यटक

भक्तपुर– भक्तपुर भित्रिने पर्यटकको संख्यामा कमी आएको छ। गएको आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिको तुलनामा यो वर्षका सोही पाँंच महिनामा भक्तपुर नगर भित्रिने पर्यटकको संख्यामा कमी आएको हो।

भक्तपुर नगरपालिकाले राखेको तथ्यांक अनुसार उक्त पाँंच महिनामा गएको वर्ष भन्दा यो वर्ष भक्तपुर भित्रिने पर्यटकको संख्यामा नौ सय ९५ जनाले कमी आएको छ।  

तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ साउनदेखि मंसिरसम्मको पाँंच महिनाको अवधिमा गैरसार्क पर्यटक ६६ हजार आठ सय ६० जना र चिनिया तथा सार्क मुलुकका ४७ हजार दुई सय ८० जना गरी जम्मा एक लाख १४ हजार एक सय ४० जना पर्यटकहरुले भक्तपुर भ्रमण गरे।

२०७५/७६ सालको सोही अवधिमा गैरसार्क पर्यटक ६७ हजार दुई सय ७८ जना, चिनिया र सार्क मुलुकका ४५ हजार आठ सय ६७ जना पर्यटक गरी जम्मा एक लाख १३ हजार एक सय ४५ जनाले भक्तपुर भ्रमण गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्या नौ सय ९५ जनाले घटेको हो। 

भक्तपुर प्रवेश गर्ने अधिकांश पर्यटकहरु एक दुई घण्टामात्रै बसेर काठमाडौ फर्कछन्। न्यून मात्रै पर्यटक भक्तपुरमा बास बस्छन्। त्यसकारण भक्तपुरमा बास बसाउने योजना रहेको नगर प्रमुख सुनिल प्रजापति सुनाउँंछन्।

भक्तपुर भ्रमणमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन नगरपालिकाले सम्पदा क्षेत्रहरुमा सन्ध्याकालिन बत्तीको व्यवस्था गर्दै गरेको, बास बस्ने पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्न सन्ध्याकालिन समयमा पाटी–पौवाहरुमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्ने तयारी पनि गरिरहेको उनले बताए।

साथै पर्यटकहरुले कुनै किसिमको असहजता महसुस गर्न नपरुन् भन्ने उद्देश्यले ठाउ–ठाउमा पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालय निर्माण तथा महत्वपूर्ण सम्पदास्थलहरुमा गाडी निषेध गर्ने कार्य पनि गर्दै गर्ने योजना उनले सुनाए।

प्रकाशित: २१ पुस २०७६ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App