१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'जग्गाजमिन सकियो, रोग निको भएन'

३८ वर्षीय सीता परियार। तस्बिर : सरिता/नागरिक

धादिङ – बिहान–बेलुका छाक टार्न समस्यामा रहेकी गजुरी गाउँपालिका–७ स्यामैडाँडाकी ३८ वर्षीया सीता परियार परिवारका साथ मुस्किलले दिन गुजारिरहेकी छन्। उनी १० वर्षदेखि विभिन्न रोगबाट पनि ग्रस्त छिन्। सुगर, युरिकएसिड, थाइराइडजस्ता रोगले ग्रस्त उनी सामान्य हिँडडुल गर्न मात्र सक्छिन्। शरीर बिस्तारै कमजोर हुँदै गएपछि उनी थला परिन्। धामीझाँक्रीलाई देखाए पनि निको भएन। सुरुमा गाउँकै स्थानीय स्वास्थ्य संस्थामा पुगिन्, औषधि खाइन् तर रोग ज्युँको त्युँ रह्यो।

उपचार खर्च जोहो गर्न गाह्रो भएको उनले सुनाइन्। ‘शरीर कमजोर भएकाले काम गर्न सक्दिनँ, खर्च हुन्जेल उपचार गरेँ तर अहिले खर्च नभएकाले घरमै थलिएकी छु,’ उनले भनिन्, ‘पैसा भएको बेला उपचारका लागि अस्पताल जान्छु नभएको बेला रोग लुकाएर घरमै बस्छु।’

उनका पति कुमार परियार काठमाडौंको गार्मेन्टमा काम गर्छन्। महिनाभर काम गरेर कमाएको पैसा पत्नीको उपचार र घरव्यवहारमा खर्च गर्छन्। खेती धेरै छैन, अन्नपात ६ महिनालाई पुग्दैन। भनेको समयमा बालबच्चालाई खानेकुरा खुवाउन पनि नसकेको पीडा पोख्छिन् उनी। पढ्दै गरेका छोराछोरीलाई कापीकलम पु-याउन पनि धौधौ पर्ने गरेको उनले सुनाइन्।

खर्चको जोहो गर्न १० वर्षअघि काठमाडौंस्थित एउटा फाइनासबाट ७० हजार रुपैयाँ ऋण लिए। घरजग्गा धितो राखी ऋण लिएको पैसा उपचारमा खर्चिए र घर फर्किए। केही समय बिसेक पनि भयो। अस्पतालले निरन्तर उपचारका लागि आइरहनुपर्ने बताएको थियो। तर निरन्तर उपचारका लागि जान खर्च थिएन। रोग बल्झँदै गयो। अहिले घरमै थलिएर बसेकी छिन् उनी। फाइनान्सबाट लिएको ७० हजार ऋण तिर्न नसकेपछि उनको भएको जग्गाजमिन सबै लिलाम भएको छ। ‘ऋणले न आफ्नो रोग निको भयो, न घरबारी नै रह्यो,’ उनले रुँदै भनिन्, ‘गरिबलाई ऋणमाथि ऋण नै ऋण भनेको जस्तै भएको छ, अहिले सुकुम्बासी जस्तै भएका छौं।’

‘घरमा खानेकुरा छैन, जग्गाजमिन लिलामी भयो, बसिरहेको घर पनि कतिबेला छोड्नुपर्ने हो पत्तो छैन,’ उनले भनिन्, ‘रोगले आजभन्दा भोलि चापिरहेको छ, उपचार गराउन खर्च छैन।’ दुई साताअघि रोगले चाप्न थालेपछि उनीकाठमाडौंस्थित वीर अस्पताल पुगिन्। उपचारका लागि खर्च जुटाउन नसक्दा अस्पतालमा भर्ना भए पनि खर्च अभावले घर फर्कनुपरेको उनी तीतो अनुभव सुनाउँछिन्। ‘उपचारका लागि खर्च छैन, ज्यान मर्नु न बाँच्नुको अवस्थामा छ,’ आफ्नो पीडा सुनाउँदै उनले भनिन्, ‘गाउँनजिक सरकार छ तर सरकारले मेरो व्यथा देख्दैन, सक्दो उपचार गरियो तर खर्च नहुँदा घरमै थलिनु परेको छ।’

प्रकाशित: २१ पुस २०७६ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App