१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्राधिकरणका १ सय ३८ प्रमुखसँग कार्य सम्पादन सम्झौता

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्य सम्पादन सम्झौता गरेका छन्। विद्युत्् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा सम्झौता केन्द्रित छ।

चालू आर्थिक वर्षका लागि प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुख र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिएको हो। प्राधिकरण व्यवस्थापनसँग शनिबार प्रदेश ५ को प्रादेशिक कार्यालय बुटवलका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखले सम्झौता गरेसँगै चालू आवका लागि वितरण तथा ग्राहक सेवातर्फको कार्यसम्पादन सम्झौता सकिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखले र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले कार्य सम्पादन सम्झौता गरेका हुन्।

सम्झौता मार्ग निर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए। ‘मैले नेपाल सरकारसँग गरेको कार्यसम्पादन सम्झौतालाई नतिजामुखी बनाउन उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा जिम्मेवारी दिई कार्य सम्पादन सम्झौता गरिएको छ,’ उनले भने।

सम्झौतामा विद्युत्् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, गुणस्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायत सूचकांक निर्धारण गरिएको छ। प्राधिकरणले चालू आवमा वितरणतर्फको विद्युत् चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणले गत आर्थिक वर्षमा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो। तीन वर्षअघिसम्म विद्युत्् चुहावट २५.७८ प्रतिशत रहेकामा गत आवसम्ममा १५.३२ प्रतिशतमा झारिएको छ। तीन वर्षभित्रमा १०.४६ प्रतिशत विद्युत् चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक करिब सात अर्ब रुपैयाँ थप आम्दानी गरेको छ।

तीन वर्षभित्रमा मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न अभियान चलाएको कार्यकारी निर्देशक घिसिङले बताए। सरकारले तीन वर्षभित्र शत्प्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुœयाउने घोषणा गरेको छ।

बुटवल क्षेत्रको विद्युत् चुहावट ९.२६ प्रतिशतमा झारिने
विद्युत् प्राधिकरणले प्रदेश ५ को प्रादेशिक कार्यालय वुटवल मातहतका वितरण केन्द्रहरुको वितरणतर्फको विद्युत्् चुहावटलाई  ९.२६ प्रतिशतमा झार्ने भएको छ। प्राधिकरणले प्रादेशिक कार्यालय बुटवललाई गत आर्थिक वर्षमा १२.३९ प्रतिशत रहेको विद्युत्् चुहावटलाई घटाएर चालू आवमा ९.२६  प्रतिशतमा झार्ने लक्ष्य दिएको हो। कार्यालयको मंसिरसम्ममा औसत विद्युत्् चुहावट १०.३२ प्रतिशत छ।

बुटवल मातहत प्रदेश ५ मा पर्ने ६ जिल्लाका ११ वितरण केन्द्र छन्। कार्यलयअन्तर्गतका ग्राहकको संख्या चार लाख ३९ हजार छ भने ८४.४८ प्रतिशत विद्युतीकरण भएको छ।

घिसिङ सम्मानित
मुलुकको लोडसेडिङ अन्त्य गरेको भन्दै क्षेत्रीय होटल संघ, चितवनले शुक्रबार कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको छ। संघले चितवनको सौराहामा आयोजना गरेको १६ औं हात्ती महोत्सव समापन समारोहमा प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईंले सम्मानपत्रसहित दोसल्ला ओडाएर घिसिङलाई सम्मान गरे।

प्रकाशित: २१ पुस २०७६ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App