१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णालीमा चार जनाको उम्मेदवारी

उम्मेदवारी दर्ता गर्दै उम्मेदवार। तस्बिरःगणेश/नागरिक

वीरेन्द्रनगर- राष्ट्रियसभा सदस्यका लागि कर्णालीमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन्। कर्णालीमा हुने दुई सिटका लागि उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसभन्दा अघि कर्णालीमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विजयी भएका थिए। यस वर्ष तत्कालीन नेकपा एमाले र माओवादीले एक÷एक सिट बाँडफाँड गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन्। डिल्लीराज पाठकको प्रस्तावक प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थक गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन छन्। अर्का उम्मेदवार गणेशकुमारी बस्नेतको समर्थकमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा तथा प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा बसेका छन्।

मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उम्मेदवार पाठकले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै पार्टीलाई धन्यवाद दिए। त्यस्तै नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा विसीले उम्मेदवारी दर्ता गराए। सुमित्राका समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल तथा प्रस्तावकमा प्रदेशसभा सदस्य देवी ओली रहेका छन्। अर्का उम्मेदवार शर्माको समर्थकमा प्रदेशसभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेशसभा सदस्य करबीर शाही रहेका छन्। ३३ प्रदेशसभा सदस्य तथा ७९ मा ५३ स्थानीय तहमा नेकपाले जितेको छ। एक सय ९८ मतदाता रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन्।

चुनावमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कर्णाली प्रदेश सभाका सदस्यहरूले मतदान गर्नेछन्। माघ ९ गते राष्ट्रिय सभाको २ सिटका लागि हुने निर्वाचन हुँदैछ।

 

प्रकाशित: २० पुस २०७६ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App