१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बहुआयामिक आकार लिँदै कृषि खेती

हेलम्बु  - हेलम्बु गाउँपालिका–४, महांकाल सेरागाउँका ४१ वर्षीय बिनोद लामिछानेको हातमा अधिवक्ताको लाइसेन्स छ। कानुन व्यवसाय गरेर मानसम्मान र छाँटका साथ जीवनयापन गर्न सक्छन् उनी। यो पेसामा राम्रो कमाइ हुने उनले पनि बुझेकै छन्। तर, जिल्लामै कृषि उत्पादनका लागि अब्बल सेराफाँट छाडेर उनी कानुन व्यवसायमा रम्न सकेनन्। दुःखले आर्जेको अधिवक्ताको लाइसेन्स शिरानीमूनि घुसार्दै सेराफाँटमा कृषि व्यवसायमा जम्दै र रम्दै छन् बिनोद।

तीन वर्षअघि उनले अगुवाइ गरेर सुरु गरेको कुखुरापालन र च्याउ व्यवसायले अहिले बहुआयामिक कृषि फर्मको आकार लिँदै गएको छ। ‘कृषि व्यवसायमा जस्तो आनन्द अन्यत्र मिल्दैन,’ छोटो समयमै प्रविधिमा आधारित जिल्लाकै ठूलो पोल्ट्री फर्मका मालिक बनेका बिनोद भन्छन्, ‘कमाइ पनि यतै राम्रो छ।’ बिग एग्रिकल्चर प्रालिको नाममा उनले सुरु गरेको फर्ममा यतिबेला १० हजार कुखुराले एकसाथ अण्डा दिइरहेका छन्। सँगै च्याउ र कागती खेती पनि गरिरहेका छन्। यो वर्षदेखि ३० रोपनी जमिनमा हरियो तरकारी खेती विस्तार गर्दै फर्मलाई बहुआयामिक बनाउने योजना अघि सारेका छन् उनले।

गाउँकै खिमाराज लम्साल, शिब लामिछानेसँग मिलेर बिनोदले तीन वर्षअघि लेयर्स जातका दुई हजार पाँच सय कुखुराबाट व्यवसाय अघि बढाए। पहिलो खेपमै अण्डा बिक्रीबाट मनग्ये आम्दानी लिन सकेपछि हौसिएका उनीहरुले लगानी बढाउँदै फर्मलाई प्रविधियुक्त बनाउँदै दोस्रो चरणमा १० हजार कुखुरा थपे। २५ लाख लगानीमा दोस्रो वर्षदेखि च्याउ खेती विस्तार गर्दै व्यवसायको कुल लगानी दुई करोड रुपैयाँ पु¥याएको प्रालिका निर्देशकसमेत रहेका बिनोदले बताए।

यो वर्ष पाँच करोड रुपैयाँको कारोबार हुने अनुमान गरेका छौं,’ उनले भने, ‘एक करोड रुपैयाँ त नाफा नै कमाउने लक्ष्य छ।’ उनका अनुसार यतिबेला दैनिक साढे सात हजार अण्डा बिक्री हुँदा ७५ हजार आम्दानी भइरहेको छ। पाँच रोपनी जमिनमा बनाएको टहरोमा कुखुरापालन भइरहेको छ। तीन महिनामा कुखुराले लगातार १८ महिना अण्डा दिन्छ। पहिलो खेपमै अण्डा बिक्रीबाट एक करोडको कारोबार गर्दै २० लाख रुपैयाँ नाफा बसेपछि आफूहरु व्यवसायमा हौसिएको उनी बताउँछन्।

गत वर्ष चारवटा टनेलमा लगाएको १५ हजार किलो कन्ने च्याउ बिक्रीबाट १८ लाख रुपैयाँ आम्दानी भएको थियो। यो वर्ष दैनिक एक सय ५० किलो बेच्ने गरी च्याउ खेती विस्तार गर्न लागिएको कृषि फर्मका अर्का सदस्य प्रकाश लामिछाने बताउँछन्। उनका अनुसार हरेक तीन महिनामा बिक्रीयोग्य हुने च्याउ प्रतिकेजी एक सय २० देखि एक सय ६० रुपैयाँमा राजधानीको कालीमाटी तरकारी बजारमा सहजै खपत हुने गरेको छ। अण्डा भने स्थानीय बजारमै खपत भइरहेको छ।

‘अभ्यासका रुपमा गरिरहेको कागती खेती यो वर्ष दुई सय ५० रोपनी जमिनमा फैलाउँदै छौं,’ उनले भने। च्याउ उत्पादनपछि मल बन्ने पराल र कुखुराको सुली प्रयोग गरेर हरियो तरकारी लगाउने तयारी भइरहेको प्रकाशले जनाए। बजारको अभाव नहुने अनुभवका आधारमा फर्मलाई बहुआयामिक बनाउन लागिएको व्यवसायी बताउँछन्।

तीन जनाबाट सुरु व्यवसायको लगानीकर्ता अहिले सात परिवारका १३ जना पुगेका छन्। उनीहरु सेयर सदस्य हुन्। सेयर सदस्य नै दैनिक काममा जुट्छन्। काम र जिम्मेवारीका आधारमा उनीहरु मासिक पारिश्रमिक १८ देखि २५ हजार रुपैयाँ तोकिएको निर्देशक बिनोद बताउँछन्। उनका अनुसार लगानीका आधारमा सेयर सदस्यबीच नाफा बाँडफाँड हुने गरेको छ। यो पोल्ट्री फर्म लगानी, प्रविधि र उत्पादनका हिसाबले जिल्लामा पहिलो र प्रदेश ३ मा उत्कृष्ट पाँचभित्र पर्ने उनी सुनाउँछन्। ‘फर्मलाई कृषि अध्ययन केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना छ,’ उनले भने।

प्रकाशित: २० पुस २०७६ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App