१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्चीको गिटी, बालुवा सप्लायर्सलाई भुक्तानी हुने

काठमाडौं - मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई गिटी, बालुवा आपूर्ति गरेका व्यवसायीको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको छ। बोर्डका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव मानव बेल्वासेको अध्यक्षतामा बसेको बैठकले स्थानीय गिटी, बालुवा सप्लायर्सको मात्रै बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको हो।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य सचिव तथा आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बैठकले गिटी तथा बालुवाको स्थानीय सप्लायर्सको बक्यौता भुक्तानी गर्ने विषयमा आवश्यक निर्णय भएको बताए। ‘बोर्ड बैठकले गिटी, बालुवा सप्लायर्सको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘मेलम्चीको पूर्वठेकेदार कम्पनी सिएमसीलाई १५ दिनभित्र भुक्तानी गर्न अनुरोध गर्नेछौं। सिएमसीले भुक्तानी नगरेको खण्डमा समितिले नै स्थानीय सप्लायर्सको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने छौं।’ बोर्डका अनुसार गिटी, बालुवाको स्थानीय सप्लायर्सको करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

यसअघि संसद्को विकास तथा प्रविधि समितिले पनि स्थानीय गिटी, बालुवा सप्लायर्सको बक्यौता रकम भुक्तानी दिन निर्देशन दिएको थियो। आयोजना प्रमुख खत्रीले बिहीबार बसेको बोर्ड बैठकले १२ बुँदे निर्णय गरेको जानकारी दिए। ‘बोर्ड बैठकले मेलम्ची खानेपानी आयोजनाको स्वेतपत्र जारी गर्ने निर्णय स्वीकृत गरेको छ,’ आयोजना प्रमुख खत्रीले भने,‘एक साताभित्रै आयोजनाको सम्पूर्ण जानकारी दिने खालको स्वेतपत्र जारी गर्नेछौं।’

बोर्ड बैठकले आयोजनाको विद्युत्को बक्यौता महसुल समेत भुक्तानी गर्ने निर्णय गरेको छ। आयोजनाको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई खाजा खर्चबापत जनही दैनिक ५० रुपैयाँ दिइने भएको छ। बोर्ड बैठकले आयोजनाका लागि आवश्यक पर्ने विज्ञ समूहको राय तथा सुझाव लिनका लागि पनि बाटो खुला गर्ने निर्णय गरेको छ। आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी सिएमसीसँग पाउनुपर्ने रकम माग गर्दै स्थानीय आपूर्तिकर्ताले दबाब दिइरहेका छन्।

सिएमसी पीडित आपूर्तिकर्ता, कर्मचारी र कामदारले उक्त कम्पनीसँग लिन बाँकी एक अर्ब ६७ करोड रुपैयाँ पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन्। सिएमसी कम्पनी पोहोर पुस २ गते भागेको थियो। ठेकेदार कम्पनी भागेपछि आयोजना सम्बद्ध व्यक्तिलाई उधारोमा सिटामोल, मोबाइल रिचार्ज कार्ड बेचेका स्थानीय साना व्यापारी पनि पैसा डुब्ने चिन्तामा छन्।

मन्त्रालयले यसअघि आपूर्तिकर्ताको बक्यौता रकमबारे अध्ययन गर्न प्राविधिक समिति गठन गरेको थियो। आयोजना प्रमुख खत्रीले मेलम्ची आयोजनाको अन्य स्थानीय सप्लायर्सको बक्यौता रकम भुक्तानी गर्ने विषयमा थप अध्ययन भइरहेको बताए। ‘सिएससीलाई विभिन्न सामान उपलब्ध गराएका अन्य स्थानीय सप्लायर्सको भुक्तानी गर्ने विषयमा अझैसम्म कुनै पनि निर्णय भएको छैन,’ उनले भने, ‘आवश्यक अध्ययन गरेर टुंगो लगाउने छौं।’

आयोजना प्रमुख खत्रीले सिनो हाइड्रो कम्पनीले अहिले आफ्नो समय तालिकाअनुसार आयोजनाको काम द्रुत गतिमा गरिरहेको जनाए। ‘अहिलेको ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ,’ उनले भने, ‘हामीले चालु आवको असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने लक्ष्यसहित काम गरिरहेका छौं।’

बोर्ड बैठकमा पहिलोपटक कामनपाका मेयर    
मेलम्ची खानेपानी विकास समितिको बोर्डमा पाँच सदस्य छन्। तर बोर्ड बैठकमा सधैंजसो काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र अर्थ मन्त्रालयका सहसचिव उपस्थित हुँदैनथे। यसले गर्दा बैठक बस्न ढिला हुन्थ्यो। तर बिहीबारको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पहिलोपटक उपस्थित भएका छन्। बैठकमा मेयर शाक्य उपस्थित भएपछि छुट्टै रौनक थपिएको थियो।

आयोजना प्रमुख खत्रीले शाक्यको उपस्थितिले बैठकमा सकारात्मक ऊर्जा थपिएको बताए। ‘स्थानीय तहको निर्वाचनयता मेयरसाप बैठकमा सहभागी हुनु भएको थिएन,’ प्रमुख खत्रीले भने, ‘बिहीबारको बैठकमा उहाँको उपस्थितिले छुट्टै माहोल भयो। आगामी बैठकमा पनि उहाँ उपस्थित हुने अपेक्षा छ।’

अर्थ मन्त्रालयका सहसचिव उपत्यका बाहिर भएकाले बैठकमा सहभागी हुन नसकेको आयोजनाले जनायो। मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक खानेपानी मन्त्रालयका सचिवको अध्यक्षता बस्ने गर्छ। बोर्ड सदस्यमा काठमाडौं महानगरपालिका प्रमुख, अर्थमन्त्रालयका सहसचिव, आयोजना प्रभावित क्षेत्रका एकजना सदस्य र मेलम्ची खानेपानी आयोजनाको प्रमुख सदस्य सचिव रहने प्रावधान छ।

प्रकाशित: २० पुस २०७६ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App