१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ भवन बन्यो, विद्यार्थी टहरामै

ओखलढुंगा - सिद्धिचरण नगरपालिका–६ स्थित जन्तरखानी माविमा करिब चार करोड ५० लाख रुपैयाँको सहयोगमा नयाँ भवन बनेको छ। तापनि पुस्तकालय, ल्याब र शिक्षक आवासका लागि सो भवन प्रयोग गरिएकाले यहाँका विद्यार्थी टहरामै बसेर अध्ययन गर्न बाध्य छन्।

करोडौंको लागतमा नयाँ भवन बने पनि पुराना जस्ताले बारेको र जस्ताकै छानो रहेको टहरोमा बसेर अध्ययन गर्नुपरेको कक्षा ७ मा अध्ययनरत अञ्जली मगरले बताइन्। हिउँ÷तुसारो पर्ने र धेरै चिसो ठाउँ भएकाले टहरामा बसेर पढ्नलेख्न समस्या रहेको उनको भनाइ छ।

विद्यालयमा कक्षा ५, ६ र ७ का ४८ जना विद्यार्थीलाई जस्ताको टहरामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मेखबहादुर मगरले बताए। ‘भूकम्पले क्षति पु¥याएपछि सातकोठे दुईवटा पुराना भवन हटाएर नयाँ भवन बनाइयो, तर यो विद्यार्थीका लागि होइन रहेछ,’ प्रअ मगरले भने, ‘हामीलाई डिजाइन र ड्रोइङ स्टिमेट हेर्न आएन, पछि थाहा भयो यो त पुस्तकालय, ल्याब र शिक्षक आवासका लागि भवन बनेको रहेछ।’ उनका अनुसार ६ कोठे दुईतले भूकम्पप्रतिरोधी भवन बनेको छ। ‘बन्न त ६ कोठे भवन बन्यो तर हामीलाई कक्षा कोठाको अभाव थियो। बन्ने भवनका विषयमा व्यवस्थापन समिति र हामीलाई जानकारी नहुँदा विद्यालयमा कक्षाकोठाको अभाव समाधान भएन,’ उनले भने।

हाल यस विद्यालयका १ सय ८५ जना छात्रछात्रा अध्ययनरत छन्। तीनवटा कक्षाका ४८ जना विद्यार्थी टहरामा बसेर अध्ययन गर्न बाध्य छन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षामार्फत एसियाली विकास बैंकको करिब ४ करोड ५० लाख रुपैयाँ सहयोगमा मारुसिन सिताका कम्पनीले भवन बनाएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानी हिउँ, तुसारो पर्नुका साथै अत्यधिक जाडो हुने क्षेत्र हो। हिमपातको समयमा अझ बढी यहाँका विद्यार्थीलाई अध्ययन गर्न असहज हुने गर्दछ।

प्रकाशित: २० पुस २०७६ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App