१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँच वर्षपछि पक्की भवनमा विद्यार्थी

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनेको सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा मावि।  तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक– सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा माविको पुनर्निर्माणपछि शनिबार ७३औं वार्षिकोत्सव मनाएको छ। ०७२ सालको विनाशकारी भूकम्पले उक्त विद्यालयको भैतिक संरचना ध्वस्त भएको थियो। झन्डै पाँच वर्षपछि विद्यार्थीहरु पक्की भवनमा समेत सरेका छन्।

सर्वसाधरणका छोराछोरीले पढ्न हुँदैन भन्ने मान्यता राख्ने जहाँनिया राणा शासनको समयमा २००७ पुस १९ गते उक्त विद्यालय खुलेको थियो। वार्षित्कोत्सवकै अवसर पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले पुनर्निर्मित विद्यालय समुदायलाई हस्तान्तरण गर्‍यो। हस्तान्तरित विद्यालयको नेकपाका नेता तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले  उद्घाटन गरेका थिए।

एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा अत्याधुनिक विद्यालय भवन बनेको हो। साढे १० करोड रुपैयाँको लागतमा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० का इन्जिनियर शेरबहादुर पुजाराले बताए। ‘भूकम्पपछि बनेकामध्ये बजेटका हिसावले जिल्लामा यो नै ठूलो विद्यालय हो,’ उनले भने। 

सरकारद्वारा नमूना घोषित विद्यालय भएकाले यो विद्यालय भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको छ। पुनर्निर्माणअन्तर्गत तीन विद्यालय, छात्रावास, पहरा घर र शौचालयसहित ६ वटा भवन एकै प्याकेजमा बनेका हुन्। भव्य भवनमा काक्षाकोठा मात्रै फराकिला ३६ वटा छन्। छात्रावास भवनमा १४ कोठा छन्। छात्रावासमा भित्रै शौचालय, भान्छा घर र चमेनागृह छन्। विद्यालयमा कार्यालय, बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्यूटर प्रयोगशालाका लागि छुट्टै भवनको बनाइएको छ। 

छात्र, छात्रा, अपांग विद्यार्थी र शिक्षकका लागि छुट्टा–छुट्टै शौचालय छन्। भूकम्पप्रतिरोधी विद्यालय अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री समेत छ। निर्माण प्याकेजमै डेस्क, बेञ्च, ह्वाइट बोर्डको व्यवस्था गर्दै कार्पेटिङ गरिएको कक्षाको साजसज्जा चिटिक्क छ। कम्पाउण्ड घेरिएको विद्यालयमा खानेपानी र बिजुलीको पर्याप्त व्यवस्था छ। प्रत्येक कक्षामा फ्यान जडान गरिएको छ। 

विद्यालयका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले अत्याधुनिक भवनले शिक्षाको गुणस्तर थप सुधार्न सघाउने बताए । ‘विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको थियो,’ उनले भने, ‘भव्य संरचना पाएकाले अझ गुणस्तर वृद्धि गर्न सहज बनाउने छ ।’ उनका अनुसार विद्यार्थी संख्याका आधारमा समेत यो विद्यालय जिल्लाकै सबैभन्दा ठूलो हो। 

नेपाल सरकारले २०७३ मा मुलुकभरका १४ सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषित गरेको थियो। 
 

प्रकाशित: १९ पुस २०७६ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App