१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जलवायु दिवस मनाउँदै भ्रमण वर्षको सुरुवात

गुफाडाँडामा जलवायु दिवस मनाएर भ्रमण वर्ष २०२० लाई स्वागत गरिँदै। तस्बिरः ध्रुव/नागरिक

(गुफाडाँडा) सिन्धुपाल्चोक– पर्यटकीयस्थल गुफाडाँडामा प्रथम जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिएको छ।

गत वर्षको पुसमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन गरिएको स्थलमा औपचारिक कार्यक्रम गरेर सिन्धुपाल्चोकमा भ्रमण वर्षको सुभारम्भ गरिएको हो। 

भ्रमण वर्षको स्वागत गर्न ७७ वटै जिल्लाका समन्वय समितिका प्रतिनिधि गुफाडाँडामा भेला भएका थिए। जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाले जलवायु दिवसको अवसरमा साढे दुई हजार मिटरको उचाईमा आयोजना गरेको भ्रमण वर्ष स्वागत कार्यक्रमको संघीय सरकार बन तथा बातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे।

गुफाडाँडा त्यही स्थान हो, जहाँ गत वर्ष पुसमा ७७ जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख भेला गराएर जलवायु सम्मेलन गरिएको थियो। 

कार्यक्रममा जलवायु परिवर्तन, यसले निम्त्याएका असर तथा भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल चलाइएको थियो। आयोजकले कार्यक्रमका सबै सहभागिलाई जिल्लाको पर्यटनबारे सूचना दिने एक÷एक हजार थान किरिङ र क्याप बितरण गर्‍यो। कार्यक्रमस्थलमा जिल्लाका १२ वटै स्थानीय तहका भ्रमण वर्षको विशेषता र पर्यटन सम्वन्धी सूचना झल्कने ब्यानर प्रदर्शन गरिएको थियो। साथै सन् २०२० भरि सञ्चालन गरिने गतिविधि समेटिएको क्यालेण्डरसमेत सार्वजनिक गरियो। 

जिल्लाका १२ वटै स्थानीय तहका विद्यार्थीबीच जलवायु परिवर्तन र यसका असरबारे सञ्चालन गरिएको बादबिवाद प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाकी प्रजिता पराजुली प्रथम भइन्। त्रिपुरासुन्दरी गाउँपालिकाकी उर्मिला तामाङ दोस्रो र लिसंखुपाखर गाउँपालिकाका निर्मल उप्रेती तेस्रो भए। उनीहरुले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए। आ–आफ्ना स्थानीय तहमा उत्कृष्ट ठहरिएर उनीहरु प्रतियोगिताका लागि छानिएका थिए। 

आयोजक जिसस प्रमुख कृष्णगोपाल तामाङले जलवायु परिवर्नन र यसका असरलाई सँगै जोडेर भ्रमण वर्ष सम्वन्धि विभिन्न कार्यक्रम गर्ने बताए। ‘पर्यटन र जलवायु परिवर्तन एकआपसमा जोडिएकाले दुबै विषयतलाइ सँगसँगै अघि बढाउँछौँ,’ उनले भने। कार्यक्रम स्थलमा ७७ जिल्लाका प्रतिनिधित्व गर्दै ७७ वटै राष्ट्रिय झण्डा फहराइएको छ।

 

प्रकाशित: १९ पुस २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App