१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चायापोतो हटाउने घरेलु उपचार

छबु कार्की, सौन्दर्यविद्
अनुहारको विशेष ख्याल गर्दागर्दै चाया, पोतो, डन्डीफोर, दाद, छाला डढ्ने जस्ता समस्याले सताइरहन्छ। उपचारका लागि धेरै ठाउँमा भाैतारिँदा पनि चायापोतोको समस्याबाट छुट्कारा पाउन गाह्रो हुन्छ। चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि नै प्रभावकारी हुन्छ। यसका लागि भान्सामै उपलब्ध सामग्री प्रयोग गर्न सकिन्छ। यसबाट शरीरमा कुनै साइड इफेक्ट हुँदैन। ती विधि यस्ता छन् ः

पहिलो विधि
० सबैभन्दा पहिले मनतातो पानीमा नरम कपडा भिजाउनुहोस्। त्यसलाई निचोरेर अनुहार पुछ्नुहोस् वा मनतातो पानीको बाफ लिनुहोस्। यसो गर्दा छालाको पोर्समा भएको फोहोर हट्छ।
० मनतातो पानीले अनुहारमा स्टिम गरेपछि एउटा टमाटरलाई दुई टुक्रा पार्नुहोस्। एउटा कचौरामा दुई चम्चा चिनी राख्नुहोस्। टमाटरको एउटा टुक्रा चिनीमा चोपेर आफ्नो स्किनमा हलुकासँग १० मिनेटसम्म मसाज गर्नुहोस्। यसले स्क्रबको पनि काम गर्छ। चिनीमा स्किनलाई आवश्यक पोषकतत्व हुन्छ। चिनीले मरेको छालालाई जगाउँछ, यसले चायापोतो हटाई अनुहारमा ग्लो ल्याउन मद्दत गर्छ। मसाज गरेपछि अनुहार फेरि सफा गर्नुपर्दैन।

चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि नै प्रभावकारी हुन्छ। घरमै बनाइएको फेस प्याक, मनतातो पानीको बाफको प्रयोग गर्न सकिन्छ।

० घरमै बनाइएको फेस प्याकले पनि चायापोतो हटाउन सकिन्छ। फेस प्याक बनाउन एउटामा कचौरामा एक चम्चा बेसन र मह राख्नुहोस्। यसमा आवश्यक अनुसार काँचो दूध राखी एउटा टमाटर निचोरेर घोल्नुहोस्। तयार भएको पेस्ट अनुहारमा बिस्तारै लगाउँदै पाँच मिनेटसम्म मसाज गर्नुहोस्। अनुहारमा पेस्ट ३० मिनेटसम्म राख्नुपर्छ। यसपछि कपडा चिसो पानीमा भिजाएर हल्का मसाज गर्नुहोस्। पाँच मिनेटपछि फेरि काँचो दूधमा कपास वा नरम कपडा भिजाएर पुछ्नुहोस्। यसो गर्दा चायापोतो हटेर घामले डढेको जस्तोसुकै छालामा गोरोपन ल्याउँछ।

दोस्रो विधि
० एउटा प्लेटमा दुई चम्चा टमाटरको पेस्ट र एक चम्चा काँचो दूध राखेर राम्ररी घोल्नुहोस्। पेस्ट पाँच मिनेटसम्म अनुहारमा लगाउँदै हलुकासँग मसाज गर्नुहोस्। यसपछि चिसो पानीले अनुहार धुनुहोस्। फेस प्याक तयार गर्न एउटा कचौरामा एक चम्चा चामलको पिठो, एक चम्चा टमाटरको पेस्ट, आधा चम्चा बेसार र एक चम्चा मह मिसाएर राम्ररी घोल्नुहोस्। ओइली स्किनका लागि अलिकति कागतीको रस मिसाउँदा राम्रो हुन्छ। पोतोका लागि तुलसीको बीज पनि मिसाउन सकिन्छ। यसरी तयार भएको पेस्टलाई बिस्तारै हलुकासँग अनुहारमा लगाएर २० मिनेटसम्म राख्नुहोस्। यसपछि चिसो पानीमा भिजाइएको कपडाले बिस्तारै पुछ्नुहोस्। यसपछि अनुहारमा ताजापन ल्याउँछ। हल्का स्किनमा ड्याब गरेर अन्त्यमा मोस्चराइजर क्रिम अथवा सन्सक्रिम लगाउनुहोस्। यसरी लगातार सात दिनसम्म फेस वास गर्नुहोस्।

० बजारिया सामग्रीले छोटो समयमै चायापातो हटाए पनि केही समयपछि उस्तै समस्या देखिन्छ। घरेलु सामग्रीबाट बनाइएको फेसियल नै धेरै प्रभावकारी हुन्छ।

चायापोतोमा मेकअप
अनुहारमा चायापोतो भएकाले निम्न तरिका अपनाउनुहोस् ः
 ० सबैभन्दा पहिले अनुहारमा क्रमशः टोनर, मोचराइजर र सनब्लक क्रिम प्रयोग गर्नुहोस्।
० चायापोतोको दाग भएको भागमा छालाको सेडभन्दा एक सेड डार्क अथवा सुन्तला रंगको कन्सिलर हलुकासँग थपथपाउँदै लगाउनुहोस्।

० छाला रंगअनुसार अनुहारमा फाउन्डेसन लगाउनुहोस्। यो अगाडि लगाइएको कन्सिलर नबिग्रिने गरी लगाउनुपर्छ।
० अनुहारमा थप गोरोपन ल्याउन आफ्नो स्किन टोनभन्दा एक सेड लाइट कलरको फÞाउन्डेसन बिस्तारै लगाउनुहोस्।
 ० अनुहारलाई ओभल सेप (अन्डाआकार ) दिन थोरै डार्क सेड कन्सिलर गाला, ज लाइन, निधार र नाकमा सेप दिनुहोस्। यसमाथि हल्कासँग ब्रसको सहयोगले पाउडर टचअप गर्नुहोस्।

० अनुहारको मेकअपसँगै आँखाको मेकअप मिलाउनु महत्वपूर्ण कुरा हो। मेकअप बेस तयार गरिसकेपछि आफ्नो इच्छाअनुसार आइस्यडो प्रयोग गर्न सक्नुहुनेछ। तर गालामा प्रयोग गर्ने ब्लसर र आँखामा प्रयोग गर्ने आइस्यडो म्याटमा भए राम्रो हुन्छ। अन्त्यमा मिलाएर हाइलाइटरको प्रयोग गरी आफ्नो अनुहारको मेकअप अनुसारको मिल्ने लिपिस्टिक लगाउनुहोस्। यसरी आफ्नो महत्वपूर्ण दिनलाई विशेष बनाउन सक्नुहुनेछ।
(नागरिककर्मी ज्योति श्रेष्ठसँगको कुराकानीमा आधारित।)

प्रकाशित: १९ पुस २०७६ ०४:५३ शनिबार

सौन्दर्य चायापोतो घरेलु_उपचार