१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चुमबासीको अहिंसा सन्देश

मनास्लु हिमालको उज्यालोमा मुस्कुराइरहेको उत्तरी गोरखामा दुइटा भ्याली छन्–चुम र नुब्री। दुवै भ्याली हिमाली सौन्दर्य र भोटे संस्कृतिको जिवन्त संग्रहालय हुन्। अझ चुम त अहिंसाक्षेत्रका रुपमा संसारभर प्रख्यात छ।

चुममा जीवजन्तुको काटमार गरिँदैन। माथिल्लो चुमको छेकम्पार क्षेत्रलाई विसं १९७७ देखि अहिंसा क्षेत्र बनाइएको। त्यसैगरि तल्लो चुम अर्थात् चुमचेतलाई भने विसं २०६९ देखि अहिंसा क्षेत्र घोषणा गरिएको थियो। 

बौद्ध गुरु डुक्पा लामाको अगुवाइमा चुमबासीले अहिंसा मार्ग अपनाएका। चुमबासी कुनै पनि जीवजन्तुको काटमार गर्दैनन्, शिकार खेल्दैनन्, मह काढ्दैनन्, डडेलो लगाउँदैनन्, मासु व्यापारीलाई गाउँ पस्न दिँदैनन। यसरी उनीहरूले शान्तिको सन्देश बाँड्दै पर्यावरण संरक्षण गरिरहेका छन्।

चुम अहिंसा क्षेत्र घोषणा भएको आउँदो वैशाखमा सय वर्षमा प्रवेश गर्दैछ। त्यस अबसरमा ‘चुम शाग्या शताब्दी महोत्सव’ मनाइँदैछ। यसबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा महोत्सवका संयोजक निमा लामा, महासचिव, सोनाम लामा, एमक्यापका प्रमुख नरेन्द्र लामा, चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि पासाङ फिन्जो लामा र युवा व्यवसायी दाबा ग्याल्जेन लामा लगायतले मनास्लु घुम्न सबैलाई निम्तो दिएका छन्। 

शान्ति भूमिका रुपमा उत्तरी गोरखाको चुम भ्याली संसारभर प्रख्यात छ। त्यहाँ अहिंसा क्षेत्र घोषणा भएको ९९ सय वर्ष पुरा हुँदैछ।  

ग्रामीण हिमाली जीवनशैलीका हिसाबले मनास्लु क्षेत्र अर्गानिक भूगोल हो। त्यहाँको जैविक विविधता र संस्कृति संरक्षण गर्दै पर्यापर्यटन विकास गर्न सरकारले विसं २०५५ मा मनास्लु संरक्षण क्षेत्र (एमक्याप) बनाएको थियो। एमक्यापमा चुम र नुब्री दुवै भ्याली पर्दछन्।

हिमाली शृङ्खला, प्राचीन गुम्बा, चैत्य र भोटे संस्कृति यहाँका आकर्षण। त्यति मात्र होइन, हिमाली भेकमा बौद्ध धर्म फैलाउने तान्त्रिक गुरु पदमसंभवले ध्यान, योग र साधना गरेको पवित्र भूमि समेत हो। त्यसैले मनास्लुलाई बेयुल किमोलुङ भनिन्छ।

विशेषतः विदेशी पदयात्री गोरखाको आरुघाटबाट चुम हुँदै नुब्री घुमेर लार्केपास गरी  मनाङ निस्कन्छन्। मनास्लु घुम्नेमध्ये ३५ प्रतिशत चुम भ्याली पुग्छन्। चुम घुम्नेहरू पनि करिब ८० प्रतिशत नुब्री हुँदै लार्के पास गर्छन्। बाँकीचाहिँ गएकै बाटो चुमबाट फर्कन्छन्। 

वास्तवमा चुम भ्याली संसारकै लागि एउटा सुन्दर उपहार हो। त्यहाँको बौद्ध दर्शन, प्रकृति, संस्कृति र जैविक विविधताले लठ्ठै बनाउँछ। विदेशीका लागि मात्र होइन, हामी नेपालीका लागि समेत महोत्सव चुम घुम्ने राम्रो अवसर हो।

 

मनास्लु हिमाल

महोत्सवमा प्राकृतिक पूजा, शान्ति दिप प्रज्वलन, स्थानीयद्वारा संरक्षित क्षेत्रको चार किल्ला घोषणा, वृक्षारोपण, अहिंसाप्रति सामूहिक प्रतिबद्धता, विश्व शान्ति पदयात्रा, गुरु रिम्पोछेबाट आशीर्वाद, स्थानीय सांस्कृतिक कार्यक्रम, प्रमुख लामाहरूबाट छयाम् लाखे नाच, परम्परागत खेलकुद, घोडेजात्रा लगायतका कार्यक्रम गरिने जनाइएको छ। 

महोत्सवमा झन्डै एक करोड रुपैयाँ खर्च हुने छ। स्थानीय गाउँपालिका, एमक्याप, प्रदेश सरकार, केन्द्रीय सरकार लगायत सरोकारवालासँग हातेमालो गरेर रकम जुटाउन आयोजक समिति सक्रिय छ।   
चुम भ्याली घुम्न पदयात्रा गर्नुपर्छ। अचेल काठमाडौंबाट निस्केको चार दिनमा पुग्न सकिन्छ। पहिलो दिन आरुघाट हुँदै माछाखोलासम्म गाडीमा। त्यहाँबाट तीन दिन हिँडेपछि चुम भ्याली। भ्यालीमा होटल तथा होमस्टे सुविधा छ। १५ सय रुपैयाँले ब्रेकफास्ट, डिनर र बेडलाई तिर्न पुग्छ।

स्वागतम्
निमा लामा,संयोजक, अहिंसा शताब्दी महोत्सव

 
अहिंसा मार्गबाट हामीले विश्व शान्तिको सन्देश दिइरहेका छौं। बुद्धको दर्शन र पञ्चशीललाई हामीले अनुशरण गरेका छौं। त्यसैले ‘अहिंसाको अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ आउँदौ वैशाख ५ देखि ८ गतेसम्म चुम भ्यालीमा हामी ‘चुम शाग्या शताब्दी महोत्सव’ मनाउँदैछौं। महोत्सवमा स्वदेशी तथा विदेशीलाई स्वागत गर्न हामी आतुर छौं।  
सम्पर्क : ९८४१२०५३८७

प्रकाशित: १९ पुस २०७६ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App