१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

पदयात्रामा निस्किएको नेपाली सेनाको टोली। तस्बिर : नरहरि/नागरिक

गोरखा – राष्ट्रिय झन्डा, सैनिक झन्डा र टर्च बोकेर, फूलको माला लगाएको नेपाली सेनाको एक टोली गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट काठमाडौं हिँडेको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वीजयन्तीको दिन काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुने गरी एकीकरण पदयात्रा थालेको हो।

गोरखाबाट हिँडेको सेना एकीकरण पदमार्गअन्तर्गत गोरखा दरबार–जोरचौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म पुग्नेछ। ३० जना वर्तमान सेनाको पोशाकमा, १० जना पृथ्वीनारायण शाहकालीन पोशाकमा, ६ जना झन्डा बोकेर, एकजना टर्चलाइट बोकेर सैनिक ब्यान्ड र नौमती बाजासहित टोली एकीकरण यात्रामा सहभागी छ।

शुक्रबार बिहान गोरखाबाट हिँडेको टोलीले धादिङको सल्यान्टारमा देवीदत्त गणको टोलीलाई झन्डा, टर्च हस्तान्तरण गर्नेछ। धादिङको टोलीले नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ गते काठमाडौं पुग्ने कार्यक्रम तय भएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए।

नेपाली सेनाका पाँच प्रारम्भिक कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुज गणको झन्डा यात्रामा रहेका सेनाले बोकेका छन्। टोलीलाई शुक्रबार बिहान गोरखादरबारस्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रममा पश्चिम पृतनापति उपरथी गोकुल भण्डारी र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले माला लगाएर बिदाइ गरेका थिए। कार्यक्रममा पृतनापति भण्डारीले इतिहासको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजनाअनुसार तत्कालीन सेनाले प्रयोग गरेका मार्गहरूको पहिचान गर्न पदयात्रा गरिएको बताए। कोट, किल्ला, गढीहरूको इतिहास सेनासँग जोडिएकाले प्रधानसेनापतिको निर्देशनअनुसार कार्यक्रम तय भएको उनले बताए। सेनासँग जोडिएका इतिहासको संरक्षण गर्ने दायित्व पनि सेनाको भएको उनको भनाइ छ। नगरप्रमुख राजनराज पन्तले इतिहास जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाइदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले अहिले सेनाले पदयात्रा गरेको ‘रुट’लाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्न सहयोग गर्ने बताए।

भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले पदमार्गमा पर्ने गाउँपालिका भएकाले नेपाली सेनालाई पदमार्गको संरक्षण र प्रर्वद्धनको काममा सघाउने बताए। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पृथ्वीनारायण शाहको स्मरणमा पदयात्रा गर्नु प्रचारप्रसार र सम्झनाको राम्रो माध्याम भएको बताए। रणसिंह दल गण गोरखाका सहसेनानी इन्द्रबहादुर खत्रीको नेतृत्वको टोली पदयात्रामा सहभागी भएको हो।

प्रकाशित: १९ पुस २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App