१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

पदयात्रामा निस्किएको नेपाली सेनाको टोली। तस्बिरः नरहरि/नागरिक

गोरखा- राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलमाला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरवारस्थित हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौँसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुने गरी एकीकरण पदमार्गमा पदयात्रा थालेको हो।

गोरखाबाट हिँडेको सेना गोरखा दरवार–जोर–चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म पुग्नेछ। ३० जना सेनाको पोशाकमा, १० जना पृथ्वीनारायण शाहकालिन पोशाकमा, ६ जना झण्डा बोकेर, एक जना टर्च लाईटसहित ब्याड र नौमती बाजासहित टोली यात्रामा छ। शुक्रवार बिहान गोरखबाट हिँडेको टोलीले धादीङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ। धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौँ पुग्ने तय भएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए।

नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डा यात्रामा रहेका सेनाले बोकेका छन्। टोलीलाई शुक्रबार बिहान गोरखा दरवारस्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रमका बिच पश्चिम पृतनापति उपरथी गोकुल भण्डारी र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले माला लगाएर बिदाई गरेका थिए। कार्यक्रममा पृतनापति भण्डारीले इतिहासको संरक्षण र प्रर्वद्धन गर्ने नेपाली सेनाको योजना अनुसार तत्कालिन सेनाले प्रयोग गरेका मार्गहरुको पहिचान गर्न पदयात्रा गरिएको बताए।

कोट, किल्ला, गढीहरुको इतिहास सेनासँग जोडिएकाले प्रधानसेनापतिको मार्गनिर्देशन अनुसार कार्यक्रम तय भएको उनले बताए। सेनासँग जोडिएका इतिहासको संरक्षण गर्ने दायित्व पनि सेनाको भएको उनको भनाई थियो। नगरप्रमुख राजनराज पन्तले इतिहास जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले अहिले सेनाले पदयात्रा गरेको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सहयोग गर्ने बताए।

भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले पदमार्ग पर्ने गाउँपालिका भएकाले नेपाली सेनालाई पदमार्गको संरक्षण र प्रर्वद्धनको काममा सघाउने बताए। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पृथ्वीनारायण शाहको स्मरणमा पदयात्रा गर्नु प्रचारप्रसार र सम्झनाको राम्रो माध्याम भएको बताए। रणसिंह दल गण गोरखाका सहसेनानी इन्द्रबहादुर खत्रीको नेतृत्वको टोली पदयात्रामा सरिक भएको हो।
 

 

प्रकाशित: १८ पुस २०७६ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App