१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीनवटा साहसिक पदमार्ग प्रवर्द्धन गरिँदै

पोखरा - वर्षभरिमा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यका साथ बुधबार राष्ट्रव्यापीरूपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ भइसकेको छ। यही मौका पारेर नेपाल भ्रमण वर्षको गण्डकी प्रदेश सचिवालयले नयाँ र साहसिक तीनवटा नयाँ ट्रेकिङ रुट प्रवर्द्धन तयारी गरेको छ। प्रवद्र्धनको योजनामा रहेका ती पदमार्गले साहसिक पर्यटक आकर्षण गर्ने व्यावसायीको भनाइ छ।

कतिपय चल्तीका र पुराना पर्यटकीय पदमार्ग मोटरबाटोले विस्थापित र छोटिएसँगै नयाँ र तत्काल मोटरबाटोको पहुँच नपुग्ने पदमार्गलाई यो वर्ष सञ्चालनमा ल्याउन थालेको प्रदेशको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्ष गण्डकी सह संयोजक अग्नि कँडेलले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आकर्षण गर्न तीनवटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए।

प्रवर्द्धनसहित सञ्चालनमा ल्याउन थालिएका ती पदमार्गमा अहिलेसम्म मोटर पुगेको छैन भने तत्काल मोटरबाटो लैजाने योजना पनि बनिसकेको छैन। निकै नै साहसिक र आकर्षक ती पदमार्गमा अहिले फाट्टफुट्ट विदेशी जाने गरेको भए पनि नियमितरूपमा पदयात्री पुगेका छैनन्। पर्यटकलाई २०२० मा आकर्षण गर्न पनि नयाँ गन्तव्य आवश्यक परेको भन्दै कँडेलले आवश्यक पूर्वाधारसहित पदमार्ग प्रवर्द्धन गर्ने र पर्यटकका लागि सञ्चालनमा ल्याउने योजना बनाएको बताए।

उनका अनुसार पोखराबाट सिक्लेस हुँदै कपुचे ताल भएर मनाङ निस्कने पदमार्ग यही वर्ष प्रवद्र्धनसहित सञ्चालनको तयारी छ। अहिले पनि केही पर्यटक कपुचे तालसम्म पुग्ने गरे पनि त्यही पदमार्ग भएर मनाङ उक्लिनेको संख्या न्यून हुने गरेको छ। त्यस्तै, मनाङबाट मुस्ताङको मुक्तिनाथसम्म निस्किने गरी अर्काे पदमार्ग सञ्चालनको योजना छ। अहिले मनाङको चामे हुँदै माथिल्लो मनाङ भएर थोराङला भञ्ज्याङ (५४१६ मि) पार गरेर मुस्ताङको मुक्तिनाथ निस्किने बहुचर्चित अन्नपूर्ण फेरोको पदमार्ग सञ्चालनमा छ। तर, अब त्यसलाई पनि विकल्प दिँदै नयाँ पदमार्ग सञ्चालनको तयारी भइरहेको कँडेलले बताए।

अहिले माथिल्लो मनाङसम्म मोटरबाटो सञ्चालन हुँदा फेरो हुँदै पदयात्रामा जाने पर्यटकको संख्या खस्किरहेकाले विकल्प आवश्यक रहेको उनले बताए। त्यस्तै, तेस्रो पदमार्गअन्तर्गत धौलागिरि क्षेत्रलाई आधार मानेर नयाँ रुट प्रवद्र्धन गरिने उनले बताए। पदमार्गबाहेक २०२० कै अवसर पारेर मुक्तिनाथ भ्याली, गोरखा दरबार र मनाङ भ्यालीलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए। ‘२०२० मा नेपाल आउने पदयात्रीलाई नयाँ त केही दिनैपर्छ। पुराना कार्यक्रमले अब पर्यटक तान्न सकिन्न,’ कँडेलले भने, ‘त्यही भएर आकर्षक र साहसिक मानिएका पदमार्ग सञ्चालनमा ल्याउने योजना बनाएका हाैं।’

नयाँ र आकर्षक गन्तव्य र पदमार्गमा पदयात्रा गर्न पाउँदा विदेशी नेपालमा आकर्षित हुने उनको अनुमान छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग मिलेर प्रवद्र्धनात्मक गतिविधि गरेर ती नयाँ रुटलाई विदेशी पदयात्रीसामु ‘कोसेली’को रूपमा पस्किने तयारी भइरहेको उनले बताए। यसअघिका चल्तीमा पदमार्ग मोटरबाटोको कारण खुम्चिँदै गएकाले पनि तत्काल नयाँ, आकर्षक र साहसिक पदमार्ग आवश्यक रहेको उनले बताए। ‘प्रवद्र्धनका लागि एउटा अध्ययन टोली पठाउने र त्यस क्षेत्रको अवस्था बुझ्ने, आवश्यक बसोबासस्थल पहिल्याउने, पदमार्गको सुरक्षाबारे अध्ययन गर्ने र आकर्षक क्षेत्र पहिल्याएर पर्यटकसामु पस्किने हो,’ कँडेलले भने, ‘सरकारसँग बजेट मागेर तत्काल यी रुट प्रवद्र्धनमा हामी जुट्नेछौं।’

टानका निवर्तमान अध्यक्ष दीपक अधिकारीका अनुसार प्रवद्र्धन गर्न थालिएका तीनवटै रुट निकै नै आकर्षक छन्। अधिकारीका अनुसार पोखराबाट सिक्लेस हुँदै कपुचे ताल भएर मनाङ निस्किने पदमार्गले मनाङको तिमाङ जोड्छ। तिमाङ पुग्दा १२ दिनसम्मको पदयात्रा हुन्छ। त्यसपछि पर्यटकले रुट बदलेर अन्नपूर्ण फेरो हुँदै अघि बढ्ने वा पोखरा फर्किने निर्णय गर्न सक्छन्। पदमार्गमा पर्ने कास्कीको सिक्लेसको बस्ती टुटेपछि तिमाङ नपुग्दासम्म कतै बस्ती देख्न पाइँदैन।

‘बस्तीविहीन पदमार्ग हो। पदमार्गका बीचबीचमा खर्क छन्। गोठालाले बास बस्ने ठाउँ र हिँड्ने बाटो पहिल्याउने हो। वनस्तपति, चराचुरुङगी, जंगली जनावर देख्न पाइने रुट भएकाले यसले पर्यटकलाई आकर्षण बढाउँछ,’ उनले भने, ‘यसले गुणस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउँछ।’ उनका अनुसार यो पदयात्रामा जाँदा पर्यटकले नमुना भञ्ज्याङको ५५५० मिटर उचाइ पार गर्नुपर्छ।

मनाङबाट मुस्ताङको मुक्तिनाथ जोड्ने प्रस्तावित पदमार्ग झनै साहसिक पदमार्गमा पर्छ। मनाङको कोतोबाट धरमशाला, फू गाउँ, नार, लप्सेखोला हुँदै याकखर्क, वडार, लोक्याम्प र हाइक्याम्प भएर तेरिल्ला पास गरेर मुस्ताङको मुक्तिनाथ ओर्लिन सकिने उनले बताए। यो पदयात्रामा गएका विदेशीले ५६०० मिटर उचाइ पार गर्नुपर्छ। वनस्पतिसमेत नभएको यो पदमार्गमा झारपातको मात्र हरियाली देख्न सकिन्छ। तीन सातासम्मको यो पदमार्ग कालापत्थर हुँदै र हिउँको खोँच हुँदै पार गर्नुपर्ने भएकाले निकै नै आकर्षक रहेको अधिकारीले बताए। ‘पुरै सुक्खा क्षेत्रमा पदयात्रा गर्ने हो। फुस्रा डाँडाकाँडा, सेताम्म हिउँका डाँडा, कालापत्थरबाहेक केही देख्न पाइन्न, बस्ती भेट्न पनि मुस्किल छ,’ अधिकारीले भने। अहिले अन्नपूर्ण फेरोको पदयात्रा अवधि मोटरबाटोले खुम्चिरहेका बेला प्रस्तावित नयाँ पदमार्ग सञ्चालनमा ल्याउन सकिए त्यसले गुणस्तरीय पाहुना भिœयाउन सघाउँछ,’ उनले भने।

धौलागिरि क्षेत्रमा भने अहिले पनि विदेशी पर्यटकको आउजाउ भइरहन्छ। अधिकारीका अनुसार एक सातासम्मको क्याम्पिङ ट्रेक धौलागिरि क्षेत्रमा गर्न सकिन्छ। हिउँमा गरिने क्रियाकलाप त्यस पदमार्गमा हुने भएकाले पनि आकर्षक भएको उनले बताए। धौलागिरि क्षेत्रको हिडन लेक पुगेपछिको मज्जा पर्यटकले फरक तरिकाले अनुभव गर्न पाउने उनले बताए। म्याग्दीको दरवाङ हुँदै धौलागिरि राउन्ड पार गरेर मार्फा निस्किने यो पदयात्रा दुई साताको हो।

‘५३ सय मिटरको हिडन लेक पुगेपछि बल्ल पर्यटकले साहस अनुभूत गर्न पाउँछन्,’ अधिकारीले भने, ‘निकै नै रोमाञ्चक गतिविधिको अनुभव यो रुटमा गर्न सकिन्छ।’ अधिकारीका अनुसार प्रस्तावित तीनवटै रुटमा तत्काल गाडी पुग्दैनन्। ‘नेपाल आउने विदेशी पाहुनामध्ये धेरैले पदयात्रा रुचाउँछन्। त्यसैले एकदिने हाइकिङदेखि हप्तौंसम्मको पदयात्रा ती विदेशी लक्षित हुनुपर्छ। अनि मात्र आकर्षण बढाउन सकिन्छ,’ उनले भने, ‘पुरानै गतिविधिले पाहुना आउने अवस्था रहन्न।’


मनाङको तेरिल्ला पासमा रहेका विदेशी पाहुना। फाइल तस्बिर ः नागरिक

 

प्रकाशित: १८ पुस २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App