१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढीपहिरो, २३ को मृत्यु

बाढीले ध्वस्त बनाएको कारनजिकैबाट हिँड्दै पश्चिम जाभाका स्थानीय। तस्बिर ः एजेन्सी

जाकार्ता – इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ। अत्याधिक वर्षासँगै राजधानी जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीले बुधबार जानकारी दिएका छन्। बाढीपहिरोका कारण दशौं हजार स्थानीय बासिन्दा विस्थापित भएका छन् भने उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ। हजारौं घर भत्किएका छन्। साथै, कैयौं संरचनासमेत बाढीपहिरोको चपेटमा परेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्री पानी र माटोको  लेदोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। बाढीपहिरोमा परी मृत्यु भएकामध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताले जनाएका छन्।

पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए।

‘अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,’ इन्डोनेसियाका सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारसँग बताए। उनले मृत्यु हुनेको संख्या अब नबढ्ने अपेक्षा पनि व्यक्त गरेका छन्। लेबाकका स्थानीय उद्धारकर्ताले पनि दुई जनाको मृत्यु भएको बताएका छन्। उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन्। जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय बृद्धसम्मको मृत्यु भएको बाढीपहिरो पीडितले बताएका छन्।

‘वर्षा अत्यन्त छिटो भएको थियो। पानीको सतह चाँडो चाँडो बढेर गएको थियो। हामी के गर्ने, कसो गर्ने भन्ने निर्णय नै गर्न नसक्ने अवस्थामा प¥यौं,’ एक महिलाले भनिन्। बाढी पहिरोपछि जाकार्ताका केही क्षेत्रमा विद्युत् तथा यातायात सेवा अवरुद्ध भएको छ। त्यसैगरी रेलसेवा र विमान सेवा पनि केही समय रद्द गरिएको अधिकारीहरुले जनाएका छन्।
जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढीपहिरो आएको थियो। त्यतिबेला पनि दर्जनौंको मृत्यु भएको थियो। यस क्षेत्रमा बेलाबेलामा बाढी पहिरो आइरहने गरेको अधिकारीले बताएका छन्।

हालैको वर्षा २४ वर्षपछिकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन्। एकैदिन जाकार्तामा तीन सय ७७ मिमिमिटर वर्षा भएको इन्डोनेसियाको जल तथा मौसम विभागले जनाएको छ। देशमा जल तथा मौसम विभागले रेकर्ड राख्न थालेदेखि एकै दिन यति धेरै वर्षा भएको यो सन् १९९६ पछिकै धेरै भएको बताइएको छ।

नववर्षको अघिल्लो रातदेखि परेको पानी सामान्य अवस्थाको वर्षाजस्तो नभएको मौसम विभागले जनाएको छ। पानी पर्नुका कैयौं कारण रहेको सो विभागले जनाएको छ। उसका अनुसार मनसुन ऋतुका साथै हावामा पानीको मात्रा बढी हुनु पनि पानी पर्नुको कारणमध्येको हो।

बाढीपहिरो प्रभावित ६२ हजार स्थानीयलाई जाकार्ता सहरबाहिर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए। यो साताको अन्त्यसम्मै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

प्रकाशित: १८ पुस २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App