१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एउटै योजनामा नेकपा र कांग्रेसको छुट्टाछुट्टै उपभोक्ता समिति

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एउटै योजनाका लागि दुई वटा उपभोक्ता समिति गठन भएको छ। राजनीतिक आस्थाको आधारमा उपभोक्ता समिति गठन गर्दा आयोजना नै अन्योलमा परेको छ।

आफ्नो अनूकुलको व्यक्तीलाई उपभोक्ता समितिमा राख्ने गलत मनसायले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन गर्न एकीकृत वस्ती विकास तथा पुर्वाधार निर्माण योजनाको दुई वटा उपभोक्ता समिति गठन गरिएको हो।

संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगरबाट प्राप्त ३० लाखको सो योजनाका लागि पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति तथा मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा ५ सदस्यीय अर्को उपभोक्ता समिति गठन भएको छ। योजनाको उपभोक्ता समिति गठन, सम्झौता लगायतका प्रकृयाका लागि संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगरले मंसिर २३ गते नगरपालिकालाई पत्राचार गरेको थियो। 

वडाध्यक्ष टंकप्रसाद आचार्य र वडासचिव पवित्रा तिम्सिनाको उपस्थितिमा भएको भेलाले भवप्रसादको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको हो। यस्तै, नगरकार्यपालिका सदस्य रमेश परियार, नगरपालिकाका प्रतिनिधि सिताराम खतिवडाको उपस्थितिमा भएको भेलाले युवराजको अध्यक्षमा अर्को उपभोक्ता समिति गठन गरेको हो।

नगरपालिकाको पत्र अनुसार उपभोक्ता समिति गठन गरेर सम्झौताका लागि नगरपालिकामा पुग्दा अर्को उपभोक्ता समिति गठन भइसकेको थाहा भएको वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए।

‘उपभोक्ता समिति गठन गर्नका लागि मंसिर ३० गते नगरपालिकाबाट पत्र प्राप्त भयो। सोही अनुसार हप्ता दिनको अवधि राखेर उपभोक्ता समिति गठनका लागि सोही दिन सूचना आह्वान गर्‍यौँ र पुस ९ गते भेला गरेर उपभोक्ता समिति गठन गर्‍यौँ,’ वडाध्यक्ष आचार्यले भने, ‘योजना सम्झौताका लागि भवप्रसाद आचार्य अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ११ गते वडाबाट सिफारिस लिएर नगरपालिका पठायौँ तर नगरपालिकाले युवराज आचार्य अध्यक्ष रहेको उपभोक्ता समितिलाई सिफारिस दिइसकेको रहेछ।’ 

नगरपालिकाले युवराज अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगर समक्ष सिफारिस दिइसकेको पाइएको छ। सम्झौताका लागि नगरपालिका पुग्दा अर्कै उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिइसकेको पाइएपछि भवप्रसादको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाउने धम्की दिएपछि वडाध्यक्ष आचार्यले बुधबार साँझ पत्रकार सम्मेलन गरेका थिए।

आयोजनाका बारेमा संघीय आयोजना कार्यान्वयन ईकाईले नगरपालिकालाई पत्राचार गर्नु अगावै कीर्ते उपभोक्ता समिति गठन गर्ने र योजना दिलाउने खेल भएको वडा सदस्य प्रकाश श्रेष्ठले बताए।

‘युवराजको अध्यक्षतामा मंसिर ६ गते उपभोक्ता समिति गठन भएको देखिन्छ, जबकी योजनाको उपभोक्ता समिति गठन गर्न र सम्झौता गर्नका लागि मंसिर २३ गते नगरपालिकालाई पत्र प्राप्त भएको थियो,’ श्रेष्ठले भने, ‘योजना सञ्चालन कार्यक्रममा नगरपालिकाबाट वडालाई पूर्णरुपमा बेवास्ता गर्ने काम भएको छ। यो राम्रो नियतले भित्रभित्रै अर्को उपभोक्ता समिति गठन गरिएको होईन।’

अर्कातर्फ युवराजको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिमा रहेकी कोषाध्यक्ष हीरा आचार्यले आफ्नो कीर्ते हस्ताक्षर गरेर समितिमा राखेको भन्दै बुधबार वडा कार्यालयमा उजुरी दिएकी छन्।

भवप्रसाद कांग्रेस निकट र युवराज नेकपाका कार्यकर्ता हुन्।

प्रकाशित: १७ पुस २०७६ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App