१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

फेसन गर्न फिल्मको बजेट अपुग

‘नाइँ नभन्नु ल २’बाट नेपाली रजतपटमा डेब्यु गरेकी वर्षा सिवाकोटी फिल्म ‘पशुपतिप्रसाद’बाट नोटिसमा परेकी हिरोइन हुन् । पछिल्लो समय उनले पल शाहको जोडी बनेर फिल्म ‘वीर विक्रम २’मा अभिनय गरेकी थिइन् । छोटो समयमै आफूलाई दर्शकमा चिनाउन सफल भइन् वर्षा । ‘लप्पन छप्पन’, ‘कारखाना’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’, ‘भैरे’लगायतको फिल्म गरेकी उनी म्युजिक भिडियो गर्न पनि उत्तिकै व्यस्त छिन् । वर्षासँग परिवारकर्मी रीना मोक्तानले गरेको फेसनटकसः

आराम हुनुहुन्छ ?
हजुर आरामै (मुसुक्क मुस्कुराउँदै) ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म फिल्मतिरै व्यस्त छु ।

तपाईंको विचारमा फेसन भनेको के हो ?
फेसन भनेको आफूलाई आत्मविश्वासको साथ अरुको अगाडि प्रस्तुत गर्न सक्नु हो जस्तो लाग्छ ।

तपाईं कत्तिको फेसननेबल हुनुहुन्छ ?
हाम्रो त फिल्ड नै यही हो । फेसन रिलेटेड फिल्ड हो नि इन्डस्ट्री त । अब समयअनुसार चल्नैपर्छ । फेसनेबल छु कि छैन त्यो त अरुलाई कस्तो लाग्दो हो । तर म भने फेसनअनुसार नै चलिरहेकी हुन्छु ।

फेसन कन्सस कत्तिको हुनुहुन्छ ?
छु । हामी त कन्सस नै हुनुपर्छ ।  

फेसनमा जोडिँदाको अनुभव ?
फेसनेबल त अहिलेको समयमा जो पनि हुन खोज्छ । सबैजना फेसन कन्सस हुन्छन् नै । युवा अवस्थामा झनै कन्सस हुने नै भयो । म पनि सानैदेखि फेसन कन्सस थिएँ । त्यही माथि मेरो क्षेत्र नै फिल्म इन्डस्ट्री भयो । यसरी हेर्दा सानैदेखि नै फेसनमा जोडिएँ ।

तपाईंको फेसनलाई तपाईंका फ्यानले कत्तिको फलो गरेको महसुस गर्नु भएको छ ?
अलिअलि (मुसुक्क हाँस्दै) गरेको छ जस्तो लाग्छ । जे होस् मेरो फेसनलाई दर्शकले रुचाइदिनु भएको छ । फलो पनि गर्नुहुँदो रहेछ ।

नेपालको फेसनको ट्रेन्ड कस्तो छ ?
नेपालको फेसन नेपालका लागि ठिक छ । तर हामी फेसनमा धेरै पछाडि छौँ होइन । आफैं फेसन सुरु गर्ने सिस्टम कम छ यहाँ । किनकि हामीसँग त्यो लेबलको जनशक्ति पनि छ जस्तो लाग्दैन मलाई । तर जति फेसन छ, नेपालका लागि ठिक छ भनौं न ।

तपाईंको फेसन के छ । कस्तो खालको फेसन रुचाउनुहुन्छ ?
अलिकति फरक गर्ने कोसिस गरौं भन्ने लाग्छ । पहिलाको भन्दा केही फरक होस्, न दोहोरियोस् भनेर फरक गर्ने प्रयास गरिरहन्छु ।

फेसन मेन्टेन गर्न कत्तिको गाह्रो हुँदो रहेछ ?
हामी हिरोइनहरुलाई त फेसन मेन्टेन गर्न गाह्रो हुन्छ । यो प्लेटफर्ममा काम गरेर फेसन गर्न गाह्रो हुँदो रहेछ । जुन बजेटमा हामीले काम गर्नुपर्छ नि, त्यसअनुसार फेसन फलो गर्न गाह्रो हुन्छ । थोरै बजेट । त्यो भनेर फेरि केही नगर्ने भन्ने पनि हुँदैन । हामीले त्यसैमा एडजस्ट गर्नुपर्छ ।

फेसन भन्ने बित्तिकै के कुरा नछुटाइ लगानुहुन्छ ?
नछुयाइ लगाउने भनेको (सोच्दै) ड्रेस र जुत्ता त भइहाल्यो । मलाई सकेसम्म ब्याग छुटाउन मन लाग्दैन ।

तपाईंको दराजमा केको कलेक्सन भेट्न सकिन्छ ?
पर्फ्युमको ।

मनपर्ने कलर कुन हो ?
यही, त्यही भन्ने छैन । तर मलाई चम्किलो रङ्गको ड्रेस ट्राइ गर्न मन लाग्छ । कतिको त एउटै रङ्गको ड्रेस कलेक्सन गर्ने बानी हुन्छ नि त । मेरो भने फरक फरक रङ्गको लुगा किन्ने बानी छ । त्यसले फरकपन पनि ल्याउँछ अनि मुड पनि चेन्ज हुन्छ जस्तो लाग्छ । सधैँभरि उस्तै ड्रेस लगाएर मोनोटोनोस हुन्छ । तर फरक कलरले त मुडमा पनि धेरै फरक ल्याउँछ जस्तो लाग्छ । त्यसैले मलाई त धेरै रङ्गको ड्रेस संकलन गर्न मन लाग्छ ।

फेसन भन्ने बित्तिकै हामी लगाउने पहिरनलाई बुझ्छौं । तपाईंलाई के लाग्छ ?
आफूले आफ्नो अगाडि भएको कुरालाई कसरी अरुको अगाडि प्रस्तुत गर्छ त्यही नै फेसन हो । कसरी खाइरहेका छाैं, त्यो पनि एउटा फेसन नै हो । कसरी हिँडिरहेका छौं भन्ने पनि फेसन नै हो । त्यसैले मलाई त सबै कुरामा फेसन नै हो जस्तो लाग्छ ।

विशेष र आम मानिसको फेसनमा फरक हुन्छ कि हुँदैन ?
विशेष व्यक्ति त यसै पनि विशेष नै भइहाल्यो । सबैको नजर उसमाथि परिरहेको हुन्छ । उसले दैनिक के गरिरहेको हुन्छ भन्ने कुरामा सबैको चासो भइरहेको हुन्छ । त्यसैले उसले गरेको हरेक चिजलाई मानिसहरुले देखिरहेको हुन्छ । आम मानिसलाई त सबैले देखेको हुँदैन । उनीहरु त सीमित समूहमा मात्र देखिइरहेका हुन्छन् । तर, विशेष मानिसलाई त उसले नचिनेको मानिसले पनि उसलाई चिनिरहेको हुन्छ । त्यसैले उसले जे गरे पनि फेसन भइदिन्छ।

अहिले नेपालमा कस्तो खालको फेसन चलेको छ ?
मलाई खासै थाहा हुँदैन, अहिले के चलिरहेको छ भनेर । किनकि म जे कुरामा कन्फिडेन्ट छु त्यो गरिरहेकी हुन्छ । मैले अघि भनिहालेँ, हरेक कुरामा फेसन जोडिएको छ भनेर । तर, हामीले हाम्रो पेशाअनुसार देखाउने भनेको पहिरन नै हो । अरुको फेसनसँग नमिलोस् अनि सहज हुने पहिरनतर्फ मेरो ध्यान गइरहेको हुन्छ । अरुले के गरिरहेको छ मैले त्यसलाई फलो गर्नुपर्छ भन्नेमा म लाग्दिन । त्यसैले मलाई अहिले फेसनको ट्रेन्ड के चलिरहेको छ भन्ने नै थाहा हुँदैन ।

तपाईंले आवश्यक सामान कता किन्नुहुन्छ ?
धेरै सामान बाहिर (विदेश) गएको बेलामै सपिङ गरिरहेकी हुन्छु । नेपालमा भने आफूलाई चाहिएको सामान भन्ने बित्तिकै पाउँछु जस्तो लाग्दैन । त्यसैले बाहिरबाटै धेरै सामान ल्याउँछु ।

शरीरको स्याहार सुसारमा कत्तिको ध्यान दिनहुन्छ ?
अब मेन्टेन त गर्नुपर्छ । अहिले त सेलिब्रेटीले मात्र होइन सामान्य व्यक्तिले पनि आफ्नो स्वास्थ्यमा कन्सस हुनुहुन्छ । त्यसैले म पनि हेल्थ कन्सस नै छु भन्नु पर्‍यो ।

फेसनमा कसरी अपडेट हुनुहुन्छ ?
अपडेट हुनका लागि त अहिले धेरै माध्यम छन् । इन्स्टाग्राममा हामी सेलिब्रेटीहरु फलो गरिरहेका हुन्छौँ । अहिले त युट्युबतिरबाट पनि थाहा हुन्छ ।

किनमेलमा कत्तिको रुचि छ ?
म त आफूलाई ताजा बनाउनका लागि पनि सपिङ गरिरहेकी हुन्छु । कहिले मुड खराब भइरहेको हुन्छ । आफूलाई त्यो कुराबाट बाहिर ल्याउन म सपिङको सहारा लिन्छु ।

किनमेल गर्न मनपर्ने कुरा ?
मनपर्ने कुरा भनेको ड्रेस नै हो । मलाई नयाँ–नयाँ बडी लोसनहरु किन्न मन लाग्छ । त्यस्तै पर्फ्युम पनि ।

सपिङमा के कुरामा अल्छी लाग्छ ?
मलाई केटा मान्छेको सपिङ गर्नुपर्‍यो भने झ्याउ लाग्छ । कहिलेकाहीँ दाइहरु भाइहरुलाई सपिङ गर्नुपर्‍यो भने एकदमै झ्याउ लाग्छ ।  

सपिङ गर्न एक्लै मनपर्छ कि साथीसँग ?
म त एक्लै नै सपिङ गरिरहेकी हुन्छ । मलाई एउटा कुरा खोज्नलाई नै कति समय लागिरहेको हुन्छ । अब साथीहरु भयो भने साथीको समय खेर फालिरहेको अनुभव हुन्छ । त्यसैले म एक्लै सपिङ गरिरहेकी हुन्छु ।

कुन ब्रान्डको सामान किन्नुहुन्छ ?
म ब्रान्ड कन्सस छैन । आफूलाई जे मनपर्‍यो त्यही किनिरहेकी हुन्छु ।

 

प्रकाशित: १७ पुस २०७६ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App