१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

युट्युब सिरिजमा फर्किए जस्टिन

न्युयोर्क – गायक जस्टिन बिबरले सामाजिक सञ्जाल युट्युबमा डकुमेन्ट्री सिरिज सार्वजनिक गर्ने भएका छन्। सो युट्युब डकुमेन्ट्री सिरिजमा उनको नयाँ एल्मबको तयारी र व्यक्तिगत जीवनका विभिन्न पाटो समावेश हुनेछन्। करिअरको सुरूवातमा युट्युबबाट चर्चा कमाएका उनी फेरि सोही प्लेटफर्ममा फर्किएका हुन्।

युट्युबका अनुसार जनवरी २७ देखि ‘जस्टिन बिबर ः सिजन्स’ प्रसारण हुनेछन्। १० एपिसोडको सो डकुमेन्ट्री सिरिजमा गायक बिबरसँग उनको नयाँ एल्बमको विभिन्न गतिविधिलाई पछ्याइनेछ। सन् २०१५ मा गायक बिबरको पहिलो एल्बमका गीतहरू रेकर्ड गर्नेक्रममा युट्युबले उनलाई पछ्याएको थियो। सन् २००९ मा उनले पहिलो गीत रेकर्ड गर्नुअघि युट्युबमार्फत विभिन्न कभर गीतहरू तयार गर्दै पोस्ट गरेका थिए। ‘सांगीतिक करिअरको सुरूवाती दिनमा युट्युबको प्लेटफर्ममार्फत मैले आफ्नो संगीत र विभिन्न अनुभव साट्ने मौका पाएको थिएँ,’उनले भने,‘युट्युबको डकुमेन्ट्री सिरिजसँग साझेदारी गर्नु पाउँदा खुसी लागेको छ। मेरा फ्यानहरू यस यात्रामा सहभागी भएको हेर्न चाहन्छु।’

उनको पछिल्लो एल्बम ‘पर्पस’ मा ‘सरी’, ‘लभ योर्ससेल्फ’, ‘ह्वाट डु यु मिन ?’ र ‘ह्वेर आर यु नाउ’ जस्ता गीतहरूमा डिजे डिप्लोसँग सहकार्य गरेका थिए। जसबाट उनले पहिलो ग्रामी अवार्ड जित्न सफल भएका थिए। युट्युबका अनुसार सो सिरिजमा गायक बिबरको व्यत्तिगत जीवनका विभिन्न फुटेजपनि प्रसारण हुनेछन्। जसमा उनी र उनकी पत्नी मोडल हेली बाल्डविनको विवाहको फुटेज र उनी निकट साथीहरूको दिनचर्या समावेश हुनेछन्। सो सिरिजमा गायक बिबरका बारे दर्शकले दिएका विभिन्न खालका प्रतिक्रिया र उनको फ्यानहरूलाई एल्बममार्फत जोड्ने गतिविधिलाई प्रसारण गरिनेछ। उनले यसै वर्षभित्र नयाँ एल्बम सार्वजनिक गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरिसकेका छन्। यसअघि उनले नयाँ म्युजिक भिडियो, एल्बम र सांगीतिक टुरबारे जानकारी गराउँदै ट्रिजर सार्वजनिक गरेका थिए। उनले सन् २०१७ पछि कुनैपनि सांगीतिक टुर गरेका छैनन्।

यसअघि सन् २०१६ मा ‘पर्पस वल्र्ड टूर’, सन् २०१२ मा ‘बिलिभ्स टूर’, सन् २०१० मा ‘माइ वल्र्ड टूर’ र २००९ मा ‘अर्बान टूर’ गरेका थिए। उनका ‘बेबी, बेबी’, ‘आम द वान’, ‘लभ योर्ससेल्फ’, ‘सरी’ र ‘ह्वाट डु यु मिन’ जस्ता गीत चर्चामा छन्। उनका अधिकांश गीतहरू टप चार्टको सूचीमा पर्ने गरेका छन्।

२५ वर्षीय उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका थिए। संगीतिक करिअरको दौरान उनले डिजे खालिद, डिजे स्नेक, डेभिड गुएटा र सेलेना गोमेज, लगायतसँग सहकार्य गरिसकेका छन्। पप र आर एन्ड बी विधामा स्थापित उनका ‘माई वल्र्ड’, ‘अन्डर द मिसल्टो’, ‘बिलिभ’ र ‘पर्पस’ एल्बम सार्वजनिक भइसकेका छन्।

प्रकाशित: १७ पुस २०७६ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App