१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनका लागि व्यापार मेला

पोखरा - मेला र महोत्सव व्यावसायिक प्रवर्द्धन मात्रै नभई संस्कृति संरक्षण र प्रवद्र्धनको रुपमा समेत आयोजना हुन थालेका छन्। नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा व्यावसायिक उत्पादनलाई बढावा दिई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत मेला र महोत्सवको छ। मेलामार्फत होमस्टे प्रवद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्यको प्रचार गरिने ध्येयसमेत लिइएको छ।

यही पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा समृद्धि स्टिल राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदै छ। व्यापार मेलामा व्यावसायिकता मात्रै नभई होमस्टे प्रचार गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गरिने छ। बजार क्षेत्रमा हराउँदै गएका लोकभाकालाई समेत उजागार गर्ने उद्देश्य पनि व्यापार मेलाको छ। मेलामा लोकदोहोरी र पञ्चेबाजा प्रतियोगिता गर्दै संस्कृति संरक्षणको अभियानलाई मूर्तता दिइने आयोजक पोखरा उद्योग वाणिज्य संघको योजना छ। मेलामा होमस्टे प्रवद्र्धनसँगै पर्यटकीय नयाँ गन्तव्यको प्रचार गरिने छ।

औद्योगिक, हस्तकला, कृषिजन्य सामग्री, पुष्प, अटो, सूचना तथा प्रविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामग्रीको बिक्री वितरण गरिने छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीसँगको समन्वयमा गण्डकी प्रदेशका महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि निःशुल्क स्टल उपलब्ध गराइने संघका अध्यक्ष दामु अधिकारीले सुनाए।

लगानीको प्रवर्द्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप यो मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित छ। ‘आयातमा निर्भर छौं। आयात विस्थापन हाम्रो प्रमुख चुनौती हो। उत्पादन बढाएर मात्रै हामीले त्यो लक्ष्य हासिल गर्न सक्छौं,’ उनले भने, ‘लगानीका सन्दर्भमा सेवासँग जोडिएको पर्यटन उद्योगबाट हामीले अपेक्षाकृत बढी लाभ लिन सकिन्छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेकाले निजी क्षेत्र यो अभियानसँग जोडिन चाहन्छ।’ सरकारले भनेजस्तै समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यथार्थतामा बदल्न निजी क्षेत्रलाई सक्रिय बनाउनुपर्ने उनेको भनाइ छ। लोकदोहोरी र पञ्चेबाजा प्रतियोगीलाई क्रमशः ५०, ३० र २० हजार र सान्त्वना पुरस्कारतर्फ १० हजारका साथै उत्कृष्टलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। एकल नृत्य प्रतियोगितातर्फ क्रमशः २०, १५, १० हजार, सान्त्वनालाई पाँच हजारसहित उत्कृष्ट नृत्य प्रशिक्षकलाई दुई हजार रुपैयाँ प्रदान गरिनेछ।

मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ। सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्रान्ड जोडिएको छ। त्यस्तै मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबि बैंक, अर्घाखाँची सिमेन्ट, गोल्छा अर्गनाइजेसन, एनआइसी एसिया बैंक, बरुण वेभरेज, हाइलाइफ फुड प्रोडक्ट, विजय डिस्टिलरी, सगरमाथा इन्स्योरेन्स, बंगलामुखी एम्युजमेन्ट प्रालि, अजोड इन्स्योरेन्सले पनि मेलालाई सघाएको उनले बताए। उद्यमशीलता वृद्धि, उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन तथा  पर्यटन प्रर्वद्धन गर्न मेला आयोजना गरिएको उनको भनाइ छ।

संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले मेलाबाट बचेको रकम उद्यमशीलता प्रवद्र्धनमा लगाउने बताए। मेलाबाट एक करोड आम्दानी र ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ३० लाख बचत हुने अनुमान गरिएको छ। मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबि बैंक, अर्घाखाँची सिमेन्ट, गोल्छा अगनाइजेसन, एनआइसी एसिया बैंक, बरुण वेभरेज, हाइलाइफ फुड प्रोडक्ट, विजय डिस्टिलरी, सगरमाथा इन्स्योरेन्स, बंगलामुखी एम्युजमेन्ट प्रालि, अजोड इन्स्योरेन्स पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन्।

प्रकाशित: १७ पुस २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App