१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लवका नेता अदालतभित्रबाटै पक्राउ

दाङ – धरौटी बुझाएर रिहा भएका सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ नेतालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ। बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन थालेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनःनियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा भएको प्रहरी धरपकडका कारण केही बेर अदालत परिसरमा सर्वसाधारण त्रस्त बनेका थिए। गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियनत्रणमा आएका २१ जनामध्ये चार नेताहरू बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए। जिल्ला अदालतले ७ पुसमा पक्राउ परेका २१ जनालाई नै १५÷१५ हजार धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर प्रहरीले पुनः अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरू पुस ७ गते धरौटी नबुझाएर कारागार चलान भएका थिए।

जिल्ला अदालतको उक्त आदेशअनुसार चारैजनाका आफन्त धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए। धरौटी बुझाएपछि रिहा हुन थालेका चार नेताले अदालतको दर्ता चलानीकक्षमा सही छाप गर्दै रहेका बेला प्रहरीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएको थियो। त्यस क्रममा उनीहरूका परिवारमाथि प्रहरीले अदालतभित्रै हातपातसमेत गरेको थियो। ‘अदालतले धरौटीमा छोड्न भनेपछि म मेरो श्रीमान्को रिहाइका लागि अदालतमा धरौटी बुझाउन आएकी थिएँ,’ तिलक पुनकी श्रीमती छिमाले भनिन्, ‘तर पुलिसले अदालतको गेटबाहिर पनि जान दिएन, अदालतभित्रैबाट जबरजस्ती समातेर लग्यो।’

प्रहरीले जबरजस्ती गर्न थालेपछि अदालतमा पुगेका आफन्तले छुटाउन खोेजेका थिए। तर प्रहरीले उनीहरूलाई समेत हातपात गरेको पीडितको भनाइ छ।

आफ्नो श्रीमानको रिहाइका लागिअदालतमा धरौटी बुझाउन गएकी सीता ओलीले आफूहरूमाथि लछारपछार भएको भन्दै अदालत परिसरमै फूटेका चुराहरू देखाइन्। ‘अदालतबाट एक पाइला पनि प्रहरीले हिँड्न दिएन, गेटबाहिर गएर समातेको भए सुहाउँथ्यो होला,’ उनले भनिन्, ‘तर अदालतभित्रै हामीलाई लछारपछार पारेर प्रहरीले नियन्त्रणमा लिएको छ।’ उनी बुधबार अदालत परिसरबाट नियन्त्रणमा लिइएका कुलबहादुर ओलीकी पत्नी हुन्।

प्रत्यक्षदर्शी कानुन व्यवसायी निर्मल गौतमले बुधबार अदालतमा प्रहरीबाट भएको कार्य कानुनको बर्खिलापमा भएको बताए। प्रहरीबाट धरपकड गरेर अदालत परिसरबाटै नियन्त्रणमा लिइएको भन्दै उनले प्रहरीले अदालतभित्रै यस्तो व्यवहार गर्नु अत्यधिक ज्यादती भएको बताए। ‘अदालत परिसरभित्रबाटै कसैलाई पनि नियन्त्रणमा लिन पाइँदैन, तर प्रहरीले बुधबार जुन हर्कत देखायो यो ज्यादती भएको हो,’ उनले भने। ‘अझ अदालत परिसरमै महिलामाथि गरिएको धरपकड त झनै निन्दनीय हो।’

यता जिल्ला प्रशासन कार्यालयले पनि अदालत परिसरबाट कोही कसैलाई पनि नियन्त्रणमा लिन नपाइने जनाएको छ। तर प्रहरीले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई अदालतको गेट बाहिरबाट नियन्त्रणमा लिएको भनेर रिपोर्टिङ गरेको छ। ‘अदालत परिसरभित्रबाट कसैलाई पनि नियन्त्रणमा लिन पाइँदैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘तर उनीहरूलाई अदालत परिसरबाहिरबाट नियन्त्रणमा लिएको भनेर मलाई जानकारी गराइएको छ।’

प्रकाशित: १७ पुस २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App