१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कलहले पूर्वराष्ट्रपतिलाई पीडा

काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्। ४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अहिले पनि राजनीतिक दलहरू मिलेर मुलुकको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राखे।

मुलुकमा हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसभित्रको विवाद र आन्तरिक कलहले आफूलाई पीडा भएको यादवले बताए। अहिले आफू कांग्रेस नभए पनि त्यही कुलबाट आएको बताउँदै उनले भने, ‘अहिले कांग्रेसको हालत देखेर चित्त दुख्छ, दर्द हुन्छ, कहाँ पोख्ने ?, तपार्इं कांग्रेसीलाई लाग्छ कि म फेरि फर्किएँँ। तर त्यसो होइन।’

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देश बचाउन भारतमा गएर तत्कालीन विद्रोही नेकपा माओवादीसँग १२बुँदे सम्झौता गरेको स्मरण गर्दै यादवले राजाले २०१७ र २०५९ सालमा संसद् भंग गरेर लोकतन्त्रको हत्या गरेको बताए। ‘देशमा २०५२ सालदेखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा हजारौैंले ज्यान गुमाइसकेका थिए। त्यस्तो बेलामा गिरिजाप्रसाद कोइरालाले भारत, अमेरिका तथा सम्पूर्ण मित्र राष्ट्रलाई साथ लिएर १२बुँदे सम्झौता गर्नुभयो र राष्ट्रलाई जोगाउनु भयो,’ उनले भने, ‘अहिले राष्ट्र, राष्ट्रियताका विषयमा राजनीतिक दलमा चिन्ता देखिएन।’

समाजका अध्यक्ष एबं केन्द्रीय सदस्य कुलबहादुर (केबी) गुरुङले बिपी कोइरालाले अवलम्बन गरेको विचार पार्टीले भुल्दै गएको गुनासो गरे। पार्टीमा बढ्दै गएको गुटउपगुटका कारण कांगे्रसमा निष्ठाको राजनीति गर्नेहरूलाई मुस्किल पर्न थालेको उनले बताए।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू’ नामक पुस्तक विमोचन गरे। पुस्तकमा तत्कालीन सरकारले हत्या गरेका रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दीवान सिंह राई, सरोज कोइराला, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिंह राना, दुर्गानन्द झाको सामग्री समेटिएको छ। पुस्तकमा नेता गुरुङका विषयमा पनि लेखिएको छ।

त्यस्तै, बुधबार नै जननायक बिपी कोइराला स्मृति ट्रष्टले आयोजना गरेको अर्को कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले बिपी, गणेशमान सिंह त्यतिबेला नेपाल फर्कनु भनेको राष्ट्रियता र प्रजातन्त्रका लागि ‘गेम चेन्जर’ र कोशेढुंगा भएको बताए। ‘उहाँहरू आफ्नो जीवनलाई हत्केलामा राखेर प्रजातन्त्र र राष्ट्रियताका लागि नेपाल आउनुभएको हो,’ सिंहले भने, ‘तर, अहिलेको सरकार बाहिर राष्ट्रवादी देखिए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भन्न सक्दैन, त्यसलाई फिर्ता ल्याउन ठोस पहल गर्न सक्दैन।’

राष्ट्रियता र प्रजातन्त्रलाई ठिक बाटोमा हिँडाउन कांग्रेस पनि सही ढंगबाट अघि बढ्नुपर्ने धारणा राख्दै सिंहले पार्टीले अहिले बाटो बिराएको तर्क गरे। ‘अगाडि ठूलो खाल्डो छ, हामी सबै त्यही खाल्डोमा पर्दैछौं,’ उनले भने। नेतृत्वले पार्टीलाई विधानसम्मत हिँडाउन नसकेको आरोप लगाउँदै उनले भने, ‘पार्टीको हितमा काम होस् भनेका हौं, त्यसो भन्दा कसरी झगडा हुन्छ ? कांग्रेस लोकतान्त्रिक प्रणालीअनुसार चल्नु प-यो, अनुशासन र विधिबाट चल्नु प-योभन्दा कहाँ झगडा हुन्छ ?’

केन्द्रीय सदस्य रामशरण महतले पार्टी महासमितिले पारित गरेको विधानलाई सभापति शेरबहादुर देउवाले एकलौटी निलम्बन गर्दा र विधानविपरीत अघि बढ्दा समस्या आएको बताए। महाधिवेशनमा प्रभाव पार्न जथाभावी निर्णय लिने अधिकार कसैलाई पनि नभएको तर्क गर्दै महतले भने, ‘सहमतिमा नचल्ने हो भने परिणाम राम्रो आउँदैन, व्यक्ति र गुटको स्वार्थले होइन कांग्रेस नेतृत्व देश र जनहितमा चल्नुपर्छ।’

भारतमा आठ वर्ष लामो प्रवासपछि कांग्रेसका शीर्ष नेताहरु बिपी, गणेशमान, रामबाबु प्रसाई, शैलजा आचार्य, नीलाम्बर पन्थी, खुमबहादुर खड्का २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। सोही दिनको स्मरणमा कांग्रेस र उससँग सम्बद्ध विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित: १७ पुस २०७६ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App