१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुस्ताङको घमीमा हटेन बाढीको त्रास

पोखरा–वर्षाबिनै भीषण बाढी आएपछि मुस्ताङको घमीका बासिन्दा रातभर निदाउन सकेका छैनन् । खोलामा अझै पनि लेदो पानी बगिरहेकाले थप बाढी आउन सक्ने भन्दै गाउँले त्रसित छन् । बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन् ।

गाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषण रूप लिँदा आइतबार घमी– ८ र ९ वडाको ढाकमर गाउँमा क्षति पुगेको छ । आइतबार बिहान बाढी आएको ढाकमर खोलामा अझै पनि लेदो पानी बगिरहेको स्थानीयले बताएका छन् । खोलामा लेदो पानी बगिरहेकाले थप बाढी आउन सक्ने डरले रातभर निदाउन नसकेको उनीहरूले बताए ।

‘बाढी आउँदा भागेर ज्यान जोगायौँ । अझै पनि खोलामा लेदो बगिरहेको छ,’ स्थानीय छिरिङ पाल्जोङ गुरुङले भनिन्, ‘बाढीले खोला नजिकका घरमा हिलो पसेको छ । अझै बाढी आउने हो कि भन्ने डर छ ।’ बाढी आउँदा भागेर ज्यान बचाएको बताउने उनले आइतबार रातभर गाउँको अग्लो ठाउँका घरमा बास बसेको बताइन् ।

यसअघि वर्षायाममा पानी परेका बेला खोला केही बढ्ने गरे पनि अहिले बेमौसमी बाढीले त्रसित बनाएको गुरुङले बताइन् । ‘हेलिकोप्टरमा माथि गएर हेरिदिए हुन्थ्यो । बाढी आउने सम्भावना छ वा छैन भनेर थाहा पाउन पाए हुन्थ्यो,’ उनले भनिन्, ‘बाढी आउँदैन भन्ने ढुक्क हुन पाए घरमा बस्न सकिन्थ्यो ।’ सोमबार पनि रात काट्न गाउँलेको घरमा जाने उनले बताइन् ।

उनका अनुसार गाउँका बलिया युवा जाडो छल्न पोखरा र व्यापारका लागि भारततिर गएका छन् । वृद्धवृद्धाले घर कुरेका छन् । बाढीले ढाकमर खोलाका आठ काठेपुल बगेका छन् । त्यस्तै, गाउँमा खानेपानी ल्याएको पाइप बाढीले बगाएको छ । खोलामा सञ्चालित पानीघट्ट बगेका छन् । केही घरमा बाढीले बगाएको लेदो पसेको छ ।

गाउँमा बडेमानका ढुंगा खसेका छन् । उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बाँनियाले सोमबार बेलुकीसम्म खोलामा लेदो बगिरहेको बताए ।
‘खोलामा अझै पनि लेदो बगिरहेको छ । त्यसले गर्दा थप बाढी आउन सक्ने भन्दै गाउँले त्रसित छन्,’ बाँनियाले भने, ‘आइतबार बिहान बाढी आए पनि सोमबार बेलुकी अबेरसम्म सफा पानी बग्नुपर्नेमा कालो लेदो बगिरहेको छ ।’

बाँनियाका अनुसार घमी– ८, ९ वडामा करिब ६० घर छन् । त्रसित गाउँलेले बाढी आएको ठाउँ र कारण पहिल्याइदिन स्थानीय प्रशासनसँग आग्रह गरेको उनले बताए ।
‘हेलिकोप्टरबिना माथि उक्लिन सक्ने अवस्था छैन । यसै त उच्च हिमाली क्षेत्र, त्यसमा पनि हाई अल्टिच्युडको डर हुन्छ,’ उनले भने, ‘यो बेला अधिक हिउँ छ । त्यही भएर हेलिकोप्टरको विकल्प छैन । हिमाली क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा जाने बाटो पनि छैन ।’

गाउँलेले बाढी आउने त्रासका कारण उद्धारमा खटिएको प्रहरीलाई समेत गाउँमै बास बस्न अनुरोध गरेका छन् । ‘प्रहरी गाउँमै बस्ने हो भने त्रास केही कम हुन्थ्यो भन्ने गाउँलेको भनाइ छ । तर, हामी पनि यहाँ बस्न सक्ने अवस्था छैन । किनकि खानेपानी छैन, अधिक चिसोका कारण रात कटाउन कठिन छ,’ बाँनियाले भने ।

क्षतिको विवरण संकलन र सहयोगका लागि स्थानीय प्रशासनले जिविस, स्वास्थ्य, खानेपानी लगायत कार्यालयबाट कर्मचारी पठाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले तत्काल हेलिकोप्टर पठाएर अवस्था हेर्नेबारे यकिन नभए पनि आवश्यक परेको खण्डमा परिचालन गर्न सकिने बताए । ‘त्यस्तो आवश्यकता परेको खण्डमा हामीले पहल गर्न सक्छौँ,’ पोखरेलले भने, ‘गएको टोलीले अवस्था पत्ता लगाउँछ । त्यही टोलीले सिफारिस गरेमा हेलिकोप्टरबाट अवलोकन गर्न सकिन्छ ।’

‘ढिस्को तालमा खसेर छल्केको हुन सक्छ’
भूगर्भविद् श्रीकमल द्विवेदीका अनुसार ढाकमरमाथि करिब ५५ सय मिटर उचाइमा दुई हिमताल छन् । तीमध्ये एउटा पाँच सय मिटर लम्बाई र एक सय ५० मिटर चौडाइको छ । दोस्रो ताल चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाईको छ । दुवै तालको पानी बगेर ढाकमर गाउँमा आउँछ । उनले पानीको लेदो बग्दैमा डराउन नहुने बताए ।

‘पानीको लेदो बग्दैमा डराउनुपर्दैन, तर बहाव बढ्नु भएन,’ उनले भने, ‘पानीको बहाव बढ्यो भने सतर्क हुनुपर्छ ।’ ठूलो बरफको ढिस्को तालमा खस्दा छचल्केर बाढीको रूपमा पानी बगेको हुन सक्ने उनले बताए । ‘एकपटक हेलिकोप्टरबाट हेरेर गाउँलेलाई ढुक्क पार्न सकिन्छ,’ द्विवेदीले भने, ‘कहाँबाट बाढी आयो भन्ने पत्ता लगाउनु आवश्यक छ ।’

प्रकाशित: ५ पुस २०७३ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App