१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दादस्थित संयुक्त राज्य अमेरिकाको दूतावासका पर्खालमा आगो लगाउँदै इराकी मिलिसियाका समर्थक र लडाकु। तस्बिर : एजेन्सी

बग्दाद (बिबिसी) – इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा आक्रमण भएको छ। इरान समर्थित इराकी मिलिसियालाई लक्षित गर्दै अमेरिकी सेनाले गरेको हवाई हमलाका कारण आक्रोशित प्रदर्शनकारीले बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ।

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

दूतावासको सुरक्षार्थ बनाइएको एउटा सुरक्षा टावरमा समेत प्रदर्शनकारीले आगो लगाइदिएका छन्। इराक र सिरियामा रहेका काताइब हेजबुल्लाह नामक लडाकु समूहसँग सम्बन्धित शिविरहरुमा अमेरिकी सेनाले आइतबार गरेको हवाई हमलामा कम्तीमा २५ लडाकु मारिएका थिए। इराकमा सक्रिय मिलिसियाले किर्कुकस्थित इराकी सैन्य शिविरमा शुक्रबार गरेको रकेट आक्रमणमा आफ्ना एक ठेकेदार मारिएको भन्दै अमेरिकाले इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने अन्बर राज्यस्थित लडाकु समूहका शिविरमा हवाई हमला गरेको थियो।

अमेरिकी हवाई हमलाले आफ्नो देशको सार्वभौमसत्ताको उल्लंघन गरेको र यस्ता गतिविधिले वासिङ्टनसँगको सम्बन्ध पुनरावलोकन गर्न बाध्य हुने इराकी प्रधानमन्त्री अदेल अब्दुल म्हादीले बताएका छन्।

मिलिसियामाथि गरिएको हवाई हमलाले ‘इराकमा रहेका अमेरिकी फौजमाथि कडा अप्ठेरो हुने’ चेतावनी काताइब हेज्बुल्लाहका कमान्डर अबु म्हादी अल–मुहान्दिसले चेतावनी दिएका छन्।

राजधानी बग्दादमै सबैभन्दा धेरै सुरक्षा दिइएको दूतावास परिसर लक्षित आक्रमण हुन थालेपछि सुरक्षामा खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

इरानले पनि अमेरिकी हवाई हमलाको निन्दा गरेको छ। अमेरिकी आक्रमणलाई ‘आतंकवादको प्रष्ट उदाहरण’ को संज्ञा तेहरानले दिएको छ।

मिलिसिया  लडाकुको राजधानीमा अमेरिकी हमलामा मारिएका लडाकुको सामूहिक दाहसंस्कार सकिएलगत्तै मंगलबार राजधानी बग्दादमा प्रदर्शन सुरु भएको थियो।

इरान समर्थित अर्धसैनिक फौज र मिलिसिया नेतासहित हजारौं शोकाकुलले राजधानी बग्दादस्थित ‘ग्रिन जोन’ तर्फ -यालीको आयोजना गरेका थिए। ‘ग्रिन जोन’ अर्थात् अत्याधिक सुरक्षा दिइएको क्षेत्रमा कैयौं इराकी सरकारी कार्यालय र विदेशी दूतावास रहेका छन्।

इराकी सुरक्षा फौजले हजारौंको संख्यामा रहेका प्रदर्शनकारीलाई ‘ग्रिन जोन’ मा प्रवेश गर्न र अमेरिकी दूतावासको कम्पाउन्डबाहिर रहेको सडकमा भेला हुन दिएका थिए।

प्रदर्शनकारीले काताइब हेज्बुल्लाह र अन्य मिलिसिया समूहका झन्डा बोक्दै र अमेरिकाविरोधी नारा लगाउँदै अमेरिकी कम्पाउन्डको मुख्य प्रवेशद्वारमा ढुंगा प्रहार गरेका थिए भने केहीले दूतावासबाहिर राखिएका सुरक्षा क्यामेरामा क्षति पु-याएका थिए। साथै, उनीहरुले खाली सुरक्षा पोस्टमा आक्रमण गरेर आगजनीसमेत गरेका थिए।

त्यत्ति बेलासम्म परिस्थिति नियन्त्रणमै थियो। तर जब प्रदर्शनकारीले कम्पाउन्ड पर्खालमा क्षति पु-याउन थाले अवस्था तनावग्रस्त हुन पुग्यो। समाचार एजेन्सी एपीका अनुसार दूतावास प्रवेश गर्ने सहायकद्वारमा प्रदर्शनकारीले क्षति पु¥याएलगत्तै मुख्य प्रवेशद्वारतर्फ उनीहरु अघि बढेका थिए। उनीहरुले १६ फिट लामो मुख्य प्रवेशद्वारलाई धकेल्न थालेपछि दूतावास सुरक्षार्थ खटिएका अमेरिकी फौजले अश्रुग्यास प्रहार गरेका थिए।

प्रदर्शनकारीको आक्रमणका बेला दूतावासभित्र कर्मचारी थिए वा थिएनन् भन्नेबारे भने प्रष्ट पारिएको छैन। यद्यपि प्रदर्शनकारीले मुख्य प्रवेशद्वारमै आएर आक्रमण गर्न थालेपछि इराकका लागि अमेरिकी राजदूतलाई सुरक्षित तरिकाले बाहिर निकालिएको अपुष्ट समाचार प्रकाशित भएका छन्।

प्रकाशित: १६ पुस २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App