१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिन्स र कविता उत्कृष्ट

अवार्ड विजेताहरुका साथ सुदूरपश्चिमका समाजिक विकासमन्त्री। तस्बिरः नागरिक

धनगढी – पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूर पश्चिम स्पोर्ट्स अवार्डबाट ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सम्मानित भएका छन्।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रिन्सले क्रिकेटका खड्ग वोहोरा र भारात्तोलनका सागर भण्डारीलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन्। प्रिन्स दुबई जुनियर इन्टरनेसनल सिरिजको यु–१५ उमेरसमूहमा स्वर्ण पदक विजेता हुन्। यस्तै उनी उमेरसमूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी हुन्। प्रेसिडेन्ट्स कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यु–१५ र यु–१९ मा पनि दाहालले स्वर्ण जितेका थिए। साउथ एसियन रिजनल च्याम्पियनसिपमा यु–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यु–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। जेष्ठ ओपन राष्ट्रिय ब्याडमिन्टनमा यु–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यु–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कांस्य पदक जितेका थिए।

वर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्यान्डमा भएको ट्वान्टी–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिइन्। उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ९ विकेट लिन सफल भएकी छिन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु-याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप  प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिइन्।

वर्षको उत्कृष्ट युवा खेलाडी भने भारोत्तोलनका सागर भण्डारी भएका छन्। सुदूरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ वर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भए।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक भने भारात्तोलनका जीवन गौतम भएका छन्। कोरियामा भएको एसियन सिनियर कप भारोत्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कांस्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो। यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरियो।

लाइफ टाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिम खेलजगत्का हस्ती श्यामसुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटबलमा लामो समयसम्म योगदान दिएबापत लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।

विजयी चार विधाका खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम तथा स्पेसल अवार्ड विजेतालाई १० हजार नगद हजार रुपैयाँ हात पारे।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोटर््स अवार्डमा सह–प्रायोजकमा शौभाग्येश्वर फार्मेसी विशेष अटोमोबाइल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए। त्यसै गरी अवार्डमा वर्ष पुरुष खेलाडीलाई शारदा राइस मिल, वर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, वर्ष प्रशिक्षकलाई दिनेश सोप, वर्ष युवा खेलाडीलाई केटिएम बाइक, स्पेसल अवार्डलाई माया मेट्रो हस्पिटल र लाइफटाइम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए।

प्रकाशित: १६ पुस २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App