१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकलाई रोक्दै रौतहट सेमिफाइनलमा

धनकुटा – आयोजक धनकुटालाई फराकिलो गोलअन्तरले पराजित गर्दै रौतहट फुटबल क्लब धनकुटामा जारी सहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक धनकुटालाई ८–० ले पराजित गर्दै रौतहट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

आजको खेलसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघिका खेलमा विजयी हुँदै विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेका छन्।

रौतहटको जितमा दिलकुमारी रानामगरले २, रजनी थोकरले २, मेनुका आलेमगर, मनीषा राउत, सविता रानामगर, निकिता थोकरले एक÷एक गोल गरेका थिए।

खेल सुरु भएको तेस्रो मिनेटमा रजनी थोकरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनैले ३९औं मिनेटमा पुनः गोल गर्दै अग्रता दोब्बर पारिन्। रौतहटकी मेनुका आलेमगरले ४०औं मिनेटमा गोल गर्दै अग्रता ३–० बनाइन्। एक मिनेट बित्न नपाउँदै मनीषा राउतले एक गोल थपिन्।

दिलकुमारी राना मगरले ५५औं मिनेटमा गोल गरिन्। लगातार विपक्षी टिमप्रति दबाब बढाइरहेको रौतहटकी सविता रानामगरले ५९औं मिनेटमा गोल गर्न सफल भइन्। निकिता थोकरले ७५औं मिनेटमा पुनः गोल गरिन् भने दिलकुमारी रानामगरले पनि ७८औं मिनेटमा गोल गर्दै रौतहटको नाममा फराकिलो जित दर्ता गरिन्।

मंगलबार सम्पन्न खेलको वुमन अफ दी म्याच रौतहटकी दिलकुमारी रानामगर भइन्। उनलाई धनकुटा–८ का वडाध्यक्ष सुमन राईले पुरस्कार प्रदान गरे।

भोलिको पहिलो सेमिफाइनल खेल बुधबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिसबीच हुनेछ।
किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद दुई लाख, ट्रफी र उपविजेताले नगद १ लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित: १६ पुस २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App