१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्याको विरोधमा प्रदर्शन, लुम्बिनी बन्दकाे अाह्वान

बुटवल-युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् ।

विरोध कार्यक्रमअन्तर्गत आजदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ । तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पार्नुका साथै आजदेखि बन्द आह्वान गरिएको युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए।

उनले प्रहरी प्रशासनको लापर्बाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी रहने बताए। आफूहरुको आन्दोलन रुपन्देही जिल्लामा मात्र नभएर सिङ्गो लुम्बिनी अञ्चलका जिल्लामा भएको बताए।

बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी चलेका छैनन् भने उद्योग, व्यापार, शिक्षण संस्थालगायत बिहानैदेखि बन्द रहेका छन् ।

जिल्लाको देवदह नगरपालिका–६ खैरेनी निवासी ३६ वर्षीय तिवारीको सोमबार अपराह्न मोटरसाइकलमा देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा देवदह–८ ढेकावरमा रातो रङको पल्सर मोटरसाइकलमा आएको समूहले छातीमा गोली प्रहार गरेको थियो । आक्रमणमा घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यता प्रहरीले भने घटनामा संलग्नलाई पक्राउ गर्न यस क्षेत्रको सुरक्षा अवस्थामा कडाइ गरेको छ । प्रहरीले आक्रमणकारी भाग्न सक्ने मुख्य नाकामा कडा चेकजाँच गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आक्रमणकारी मनोज पुनको खोजीका लागि उनको फोटो समेत सार्वजनिक गरेको छ ।

प्रहरीले निज पुन यसभन्दा अगाडि सङ्गठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको र सोमबार देवदहमा तिवारीलाई गोली प्रहार गर्ने घटनामा प्रत्यक्ष समेत संलग्न रहेको बुझिएको भन्दै उनलाई पक्राउ गर्न फोटो सार्वजनिक गरेको जनाएको छ ।

तिवारीलाई आक्रमण गरी मृत्यु भएपछि निज पुनले सोमबार नै विभिन्न व्यक्तिलाई फोनमार्फत आफूले गोली हानेको भन्दै धम्क्याउने गरेका थिए । घटनापछि तिवारीको परिवार शोकमा डुबेको छ । उनकी पत्नी र वृद्ध आम बेहोस भएका छन् । रासस

प्रकाशित: ५ पुस २०७३ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App