१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चारदेशीय पर्यटन विकास गर्ने प्रतिबद्धता

पश्चिम बंगालको सिलिगुडीमा सम्पन्न नर्थ बंगाल कन्क्लेभमा सहभागी नेपाल, भारत, भुटान र बंगलादेशी प्रतिनिधि। तस्बिर:नागरिक

दमक - नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए। भारतको सिलिगुडीमा सम्पन्न नर्थ बंगाल कन्क्लेभमा सहभागी चारै देशका प्रतिनिधिले पर्यटकीय पूर्वाधार विकास, गन्तव्य पहिचानमा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका हुन्।

पश्चिम बंगालका पर्यटन मन्त्री गौतम देवले पर्यटकीय गन्तव्य पहिचान, प्रचार र विकासका लागि सबैको साझा प्रतिबद्धता आउनुपर्ने उल्लेख गरे। ‘धेरै पर्यटकीय सम्भावना भए पनि हामीबीच आपसी समन्वय नहुँदा चारै देशका पर्यटकीय गन्तव्यको उचित प्रवद्र्धन हुनसकेको छैन,’ देवले भने, ‘त्यसैले पनि हामी एउटा लक्ष्यमा पुग्नै पर्छ। देवले पर्यटकीय विकासमा सबैले एउटै दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले प्रसस्त सम्भावना बोकेका नेपाली पर्यटकीय गन्तव्यको प्रचारमा सहयोग पु¥याउन अपिल गरे। उनले भिसा प्रकृया र पूर्वाधार विकासका लागि समेत सरकारले यथेष्ट काम गर्दै आएको उल्लेख गरे। ‘हामीले कोलकाताबाट नेपाल आउने पर्यटकका लागि भिसा दिन्छौं,’ उनले सुनाए, ‘तेस्रो मुलुकबाट आउने पर्यटकको सहजताका लागि हामी काम गरिरहेका छौं।’ अर्यालले भारत, भुटान र बंगलादेशसहितको सहयोगमा नेपालको प्रचार उपयोगी हुने धारणा राखे। जैविक विविधता, उच्च शिखर सगरमाथा, ट्रेकिड टुरिजम, दिगो पर्यटनका लागि रणनीतिक साझेदारी आवश्यक भएको धारणा राखे। उनले भारतको दार्जिलिङ, सिक्किमसम्म आएका पर्यटकका लागि सहज बनाउनका लागि इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको समेत जनाए।

पश्चिम बंगालका पर्यटन अभियन्ता राज बासुले प्रशसस्त सम्भावना भए पनि नेपालले पर्यटकीय गन्तव्यको विकासमा ध्यान नदिएको उल्लेख गरे। ‘होमस्टे भनिएको छ, प्याकेजिड गरेका वस्तु बिक्री गरिएको छ,’ उनले सुनाए, ‘नेपाली अर्गानिक उत्पादनको बजारीकरण हुन सकेको छैन।’ उनले होमस्टेको अवधारणा उचित भए पनि व्यवस्थापनमा भने चुकेको उल्लेख गरे। उनले भुटान, बंगलादेश, भारत र नेपालसहितको होमस्टे सर्किट निर्माण गरिनुपर्नेमा जोड दिए। ‘नेपालीको सत्कार, पर्यटनप्रतिको चाहना पनि प्रकट छ, तर त्यसको प्रवद्र्धनमा काम भएको छैन,’ बासुले जोडे, ‘सबै देशको क्षेत्रीय पर्यटनका लागि साझा संस्थाको आवश्यकता देखिएको छ।’

बंगलादेशको महावाणिज्य कार्यालयका प्रथम सचिव मोहम्मद अरिफले मेडिकल पर्यटन, शिक्षा पर्यटनका लागि अन्य मुलुकको सहयोगको आवश्यकता औल्याए। उनले व्यापार र वाणिज्यका क्षेत्रमा आपसी समन्वयको आवश्यकतामा जोड दिए। भारतीय उद्योग महासंघका नर्थ बंगालका संस्थापक अध्यक्ष कमलकान्त मित्तलले चारदेशीय साझेदारीले पर्यटन, उद्योग, वाणिज्यको विकासमा सहयोगी बन्नसक्ने उल्लेख गरे।

पर्यटन वर्ष २०२० को प्रदेश १ का अन्तरदेशीय संयोजक कृष्ण शाहले पर्यटकीय पूर्वाधार भए पनि सबै पक्षबीच आपसी हितका विषयमा साझा दृष्टिकोण चाहिने बताए। ‘हामीले पर्यटन वर्ष सुरु गर्दैछौं, सबैलाई नेपाल घुम्न निम्तो गरेका छौं,’ उनले सुनाए, ‘पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीले यो अवधिमा विशेष प्याकेजको समेत व्यवस्था गरेका छौं।’

प्रकाशित: १५ पुस २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App