१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीय तहमा छैन ठोस कार्यक्रम

ऐतिहासिक सिन्धुलीगढीमा बनाइएको स्तम्भ तथा पर्यटकीय क्षेत्र। फाइल तस्बिर : नागरिक

सिन्धुली – देशभर भ्रमण–२०२० लक्षित विभिन्न तयारीका कार्यक्रम सुरु भइरहँदा सिन्धुलीका स्थानीय तह भने के–कस्ता कार्यक्रम राख्ने भन्ने विषयमा अझै अन्योलमा छन्। संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न पुरातात्विक महत्वले भरिएका ठाउँ भए पनि स्थानीय तहले भ्रमण वर्ष लक्षित ठोस कार्यक्रम तय गरेका छैनन्।

सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा रहेको ऐतिहासिक सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्छ। सिन्धुलीगढीमा भ्रमण वर्षलक्षित कार्यक्रम भए पनि अन्य स्थानीय तहमा कुनै कार्यक्रम तय भएका छैनन्। त्यस्तै गोलन्जोर गाउँपालिकाले पनि भ्रमण वर्षका लागि छुट्टै कुनै कार्यक्रम राखेको छैन। बिपी राजमार्गको नागबेलीसँगै जुनार क्षेत्र यही गाउँपालिकामा पर्ने भए पनि भ्रमण वर्ष लक्षित कार्यक्रम तय नभएको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्की बताउँछन्। ‘हाम्रो गाउँपालिकामा छुट्टै कुनै कार्यक्रम छैन,’ उनले भने, ‘आउने पाहुनालाई जुनार क्षेत्र घुमाउने हो। गोलन्जोर डाँडामा भ्यु टावर निर्माणाधीन छ।’

दुधौली नगरपालिकामा दनुवारी संस्कृतिदेखि विभिन्न मठमन्दिर छन्। मधुगंगा महादेव मन्दिर यस क्षेत्रको चर्चित धार्मिक स्थल हो। तर दुधौली नगरपालिकाले पनि ठोस कार्यक्रम केही राखेको छैन। ‘भ्रमण वर्षमा हाम्रा केही कार्यक्रम हुनेछन् तर कुन दिन के कार्यक्रम गर्ने तय गरिसकेका छैनौं,’ नगरप्रमुख घनश्याम राउतले भने, ‘मधुगंगा महादेवको दर्शन गराउने तथा दनुवारी संस्कृतिको विशेषता बताउनुका साथै दनुवारी भोजन गराउने कार्यक्रम राख्ने तयारीमा छौं।’ भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई स्थानीय तहमा पूर्वाधारसमेत अभाव देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिले भ्रमण वर्षलाई बेवास्ता गर्दा पर्यटकीय क्षेत्रमा जाने पूर्वधारसमेत जोखिमयुक्त रहेका छन्। सरकारले घोषणा गरेको भ्रमण वर्ष पूर्वसन्ध्यामा आइसक्दासमेत स्थानीय तहले कार्यक्रमको तय नगर्दा भ्रमण वर्ष अन्योल हुने देखिएको हो।

फिक्कल गाउँपालिकाले भने भ्रमण वर्षलाई लक्षित -याफ्टिङ महोत्सव गर्ने जनाएको छ। सो गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाउँपालिकामा मुख्य रूपमा खेती गरिने किबीलाई समेत प्रोत्साहन गरिने भएको छ। गाउँपालिकाका गतिविधिलाई फोटोमार्फत प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले जनाइन्। राजमार्ग आसपास रहेका गाउँपालिका तथा नगरपालिकाले नै भ्रमण वर्षलाई लक्षित गरी पर्यटकलाई कुन ठाउँ घुमाउने भन्ने ठोस कार्यक्रम तय नगर्दा स्थानीय तहका लागि भ्रमण वर्ष अन्योल नै हुने देखिएको छ।

सिन्धुलीगढीबाट भ्रमण वर्ष सुरु हुने
यहाँको कमलामाई नगरपालिकाले सिन्धुलीगढीबाट भ्रमण वर्ष उद्घाटन गर्ने जनाएको छ। नेपालकै अस्तित्व जोगाउन सफल सिन्धुलीगढी कमलामाई नगरपालिकामै पर्ने भएकाले अन्य स्थानीय तहको तुलनामा भ्रमण वर्ष लक्षित गरी नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने भएको छ। यही पुस १६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुलीगढी आउने कार्यक्रम तय भएको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार भ्रमण वर्षलाई लक्षित गरी सिन्धुलीगढीमा पृश्वीनारायण शाहको सालिकसमेत अनावरण गरिने भएको छ।

प्रकाशित: १४ पुस २०७६ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App