१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ टोली भेटघाटमा व्यस्त

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छी पाओले सोमबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको नेपालले आतुरतापूर्वक प्रतीक्षारत रहेको बताए। 'सो अवसरमा प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको भन्दै त्यसको जानकारी राष्ट्रपति सीलाई गराउनुहुन पनि लिउसँग अनुरोध गर्नुभएको थियो', प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

चिनियाँ कम्युनिस्ट पार्टीको नीति निर्माणमा प्रमुख भूमिका खेल्ने पोलिटब्युरो सदस्य लिउको भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारीका रूपको अर्थ्याउने काम भएको छ ।

उता एमाले अध्यक्ष केपी शर्मासँगको भेटमा भ्रमण टोलीका सदस्य विदेश विभागका उपमन्त्री गुओ येझाओेले राष्ट्रपति सी ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) समूहको अध्यक्ष पनि भएकाले आगमी वर्ष निकै व्यस्त कार्यतालिका रहेको जानकारी गराएका थिए। 'ब्रिक्सको पनि अध्यक्ष भएको नाताले आगामी वर्ष पनि राष्ट्रपति सीको अझै व्यस्त कार्यतालिका रहेको बताउनुभएको छ', भेटमा सहभागी एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले भने। ओलीसँगको भेटमा पारवहन तथा यातायात सम्झौतालगायत अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन विषयमा छलफल भएको पाण्डेले बताए।

पोलिटब्युरो सदस्य लिउ अस्वस्थ भएका कारण अध्यक्ष ओलीलाई भेट्न असमर्थ भएको उपविदेशमन्त्री गुओले जानकारी गराएका थिए।

यसैगरी उपविदेशमन्त्री गुओले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेट्दै चीन भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्री प्रकाशशरण महतले जानकारी दिए। 'नेपालका पछिल्लो राजनीतिक घटनाक्रमबारेमा उहाँको चासो रहेको थियो,' महतले भने।

'सभापतिले नेपाल सधैं एक चीन नीतिका पक्षमा रहेको बताउनुभयो,' महतले भने।

यसैबीच साताव्यापी चिनियाँ महोत्सव सोमबार काठमाडौंमा सुरु भएको छ। महोत्सवको उपप्रधानमन्त्री कृष्णबहादुर महरा र चिनियाँ कम्युनिस्ट पार्टी प्रचार विभाग प्रमुख लिउ छी पाओले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा चीन सरकारको सहयोगमा वसन्तपुरको नौतल्ले दरबार र नुवाकोटको सात तल्ले दरबार पुनर्निर्माण सुरु भएको जानकारी दिइएको थियो।

त्यस्तै उपप्रधानमन्त्री महरा र चिनियाँ नेता लिउको उपस्थितिमा सांस्कृतिक आदानप्रदान, प्रचार तथा प्रसारणसम्बन्धी चार सम्झौतामा हस्ताक्षर भएको छ।

प्रकाशित: ५ पुस २०७३ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App