१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लगानी गर्न व्यापारिक घरानालाई आग्रह, वातावरण तयार गरे लगानी गर्ने प्रतिबद्धता

जिल्लामा लगानी भित्र्याउन आयोजना गरिएको ‘बागलुङ इन्भेस्टमेन्ट टक’ कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङसहित व्यापारिक घरानाका प्रमुख। तस्बिर: नागरिक

दिलीप पौडेल/संगम घर्तीमगर
बागलुङ - संघीय सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि लगानी सम्मेलन आयोजना गर्दै आएको बेला स्थानीय स्तरमा पनि लगानी भित्र्याउन बहस सुरु भएको छ। विभिन्न जिल्लाका स्थानीय तहले लगानी ल्याउन छुटका स्किम घोषणा गरिरहेको अवस्थामा बागलुङका उद्योगी, व्यवसायीले ठूला लगानीका मेघा परियोजना सञ्चालन गर्न व्यापारिक घरानालाई आग्रह गरेका छन्।

बागलुङ महोत्सवको अवसरमा उद्योग वाणिज्य संघले प्रभु बैंकको साझेदारीमा आयोजना गरेको ‘बागलुङ इन्भेस्टमेन्ट टक’मा जनप्रतिनिधिदेखि उद्योगी, व्यवसायीले व्यापारिक घरानाका प्रमुखलाई ठूला परियोजनामा सञ्चालन गर्न अनुरोध गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा, महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ, प्रभु ग्रुप अन्तर्गतको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पर्यटन, कृषि, उद्योग, जलविद्युत्, केबलकार, सुपरमार्केटलगायत क्षेत्रमा लगानी ल्याउन आग्रह गरे। आइएमई समूह र प्रभु ग्रुपका प्रमुख लगानीकर्ता बागलुङका स्थानीय हुन्। कार्यक्रम मुरारका अर्गनाइजेसनका प्रमुख तथा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीव कोइरालालगायत दर्जन बढी निजी क्षेत्रका अगुवा उपस्थित थिए।

उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले लगानीका अवसर रहेकाले स्थानीय स्तरका व्यवसायीसँग साझेदारी गरेर लगानी गर्न आग्रह गरे। ‘ठूलो पुँजीका परियोजना यहाँ आउन सकेका छैनन्,’ राजभण्डारीले भने, ‘व्यापारिक घरानालाई यहाँ लगानी गर्न आग्रह छ।’ उनले साझेदारी गर्न स्थानीय उद्योगी, व्यवसायी तयार रहेको बताए।
प्रधिनिधि सभाका सांसद देवेन्द्र पौडेलले गोल्छा अर्गनाइनजेसनलाई कृषि क्षेत्रमा, आइएमई ग्रुपलाई केबलकार तथा होटल र प्रभु ग्रुपलाई ढोरपाटनमा स्तरीय होटलमा लगानी गर्न आग्रह गरे। ‘खाद्यान्नमा काम गरिरहेको गोल्छा अर्गनाइजेसनले आलूको चिप्स बनाउन उद्योगमा लगानी गर्न सक्छ,’ उनले भने, ‘व्यापारिक समूह लगानी गर्न आए आवश्यक सहयोग गर्न तयार छौं।’

व्यापारिक घरानाका गोल्छा, ढकाल र गुरुङले लगानी ल्याउनका लागि स्थानीय तथा प्रदेश सरकारले वातावरण तयार गर्नुपर्नेमा जोड दिए। हासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले लगानीको प्रतिफल र वातावरण तयार भए व्यवसायीले लगानी गर्ने बताए। ‘जलविद्युत्, पर्यटन र कृषिको सम्भावना छ,’ उनले भने, ‘लगानीको प्रतिफल आउने निश्चित हुनुपर्छ।’ गोल्छाले बागलुङको अर्गानिक कृषि उत्पादन र यसको ब्रान्डिङका लागि लगानी गर्न तयार रहेको बताए।

ग्लोबल आइएमई समूहका ढकालले पर्यटन क्षेत्रमा लगानी गर्न अध्ययन गरिरहेको बताए। ‘लगानी ल्याउनका लागि प्रदेश तथा स्थानीय सरकारले सुविधा दिने घोषणा गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।’ उनले लगानी भिœयाउन आफू तत्पर रहेको बताए। ‘यहाँको पर्यटन, होटल तथा अन्य सम्भावना खोजी गरिरहेका छौं,’ ढकालले भने, ‘केही समयमा नयाँ परियोजना सुरु गर्छौं।’ ढकालले आफू तीन हजार पाँच सय रुपैयाँ लिएर काठमाडौं प्रवेश गरेर व्यावसायिक क्षेत्रमा हात हालेको बताए। वातावरण तयार गरे स्वेदेशी तथा विदेशी लगानीकर्ता आउन सक्ने बताए। प्रत्येक प्रदेशमा केबलकार योजना अघि बढाएको ढकालको दाबी थियो।

भाटभटेनीका गुरुङले जग्गा उपलब्ध गराए बागलुङमा भाटभटेनी सञ्चालन गर्ने प्रतिबद्धता जनाए। ‘जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै बागलुङमा भाटभटेनीको शाखा  सञ्चालनमा ल्याउन सक्छौं,’ उनले भने। आफूले ३५ हजारबाट व्यवसाय सुरु गरेको बताउँदै व्यवसायमा सफलताका लागि कडा परिश्रम गर्नुपर्ने बताए। ‘व्यवसाय गर्न पैसा भएन भन्नु हुँदैन,’ उनले भने, ‘पारदर्शी रुपमा लगानी गर्नुपर्छ।’

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले लगानी बहसले बागलुङको सम्भावना उजागर गर्न सघाउ पुगेको दाबी गरे। बागलुङका स्थानीय रहेका शेरचनले व्यवसायीसँग साझेदारी गरेर लगानी गर्न बैंक तयार रहेको बताए। ‘राम्रो परियोजना भए पुँजी अभाव छैन,’ उनले भने, ‘पर्यटन र कृषिसँग सम्बन्धी उद्योगको स्कोप छ।’

बागलुङसहित गण्डकी प्रदेशमा लगानीको सम्भावना रहेको प्रदेशका अर्थमन्त्री किरण गुरुङले बताए। ‘लगानीमा परेका अप्ठ्यारा सुल्झाउन हामी तयार छौं,’ गुरुङले भने, ‘लगानीको सुरक्षा गर्न प्रदेश सरकार तयार छ।’ उद्योगी व्यवसायीको हितमा हुने गरी कानुन निर्माण गर्न तत्पर रहेको गुरुङले बताए। ‘मुलुकको समृद्धिका लागि लगानी बढाउन आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं।’

सरकार लगानीको वातावरण बनाउन प्रयत्नशील देखिए पनि परम्परागत संयन्त्रले झन्झट रहेको उद्योगी व्यवसायीको गुनासो थियो। आफूहरु जनतालाई फाइदा पुग्ने परियोजनामा लगानी गर्न तत्पर रहेको धारणा राखे। सफल उद्योगीहरुले आफ्नो सफलताका सुत्रबारे पनि जानकारी गराएका थिए। उनीहरुले लगानीकर्ताले प्रतिफलको अपेक्षा गर्ने बताए।

प्रकाशित: १४ पुस २०७६ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App