१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बुटवलमा सडक खाना महोत्सव गरिदैं

बुटवल- नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा बुटवलमा सडक खाना महोत्सव गरीने भएको छ। नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले पुस १४ देखि १६ गतेसम्म सडक खाना महोत्सव गरीने भएको हो।

अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको कालिकानगरमा महोत्सव गर्ने भएको हो। शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी सघंले महोत्सवका तयारी पूरा भएको जनाएको हो। सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिने आयोजक संस्था होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए।

अध्यक्ष जिसीले यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुले प्रदान गरेका सेवासुविधा, अतिथि सत्कारकासाथै विभिन्न जातजातिका खानाका परिकारको स्वाद चखाउने र कला संस्कृतिको संरक्षण र संवद्र्धनमा गर्ने गरि तयारी गरिएको बताए। आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै मौलिक खानका परिकार बारे अवगत गराउनु नै खाना महोत्सवको मुख्य लक्ष्य रहेको प्रचारप्रसार समितिका संयोजक बावुराम गौतमले बताए।

सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोकसम्मको सडकमा सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन्। संघले आयोजना गर्न लागेको यो दोस्रो महोत्सव हो। सडक खाना महोत्सवमा १ सय वटा स्टल राखिनेछन्। यो सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले करिब ३० लाख बढी रुपैयाँ खर्च हुने लागत अनुमान आयोजकले गरेका छन्।

तिन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

खाना महोत्सवमा क्षेत्रमा सिसि टिभि क्यामरा जडान, फ्रि वाइफाई , प्राथमिक उपचार कक्षकोसमेत व्यवस्था मिलाइएको छ। महोत्सव आयोजना हुने दिन पुस १४ गते सोमबार दिउँसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातिको संस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्‍याली निकालिने र र्‍यालीको समापनसँगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ बजे खाना महोत्सवको समुद्घाटन गर्ने कार्यक्रम छ।
महोत्सवमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने भएको  छ।

सडक खाना महोत्सवको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रलाय प्रदेश नं.५ संरक्षक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेका छन्। जिल्लाका अन्य नगरपालिका सहयोगी संस्थाका रुपमा छन्।

 

 

 

 

 

 

 

प्रकाशित: १३ पुस २०७६ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App