१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

म्याद गुज्रनै लाग्दा ६० प्रतिशत काम बाँकी

धादिङ - विकासको मुख्य पूर्वाधार मानिने सडक निर्माणलाई जिल्लाका सबै स्थानीय तहले पहिलो प्राथमिकतामा राखेका छन्। हिउँद लागेसँगै पुराना ट्र्याकको मर्मत तथा स्तरोन्नति र नयाँ ट्र्याक खन्ने काम तीव्र गतिमा भइरहेको छ। जिल्ला सदरमुकाम हुँदै ग्रामीण भेगमा जाने धादिङबेंसी–भ¥याङभुरुङ–सेमजोङ सडक पनि धमाधम निर्माण भइरहेको छ। उक्त सडकको सार्वजनिक सुनुवाइका क्रममा अहिलेसम्ममा ४० प्रतिशतमात्र काम भएको आयोजना प्रमुख जयराम श्रेष्ठले बताए। ‘बाँकी ६० प्रतिशत काम साढे चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको पहलमा सडक निर्माण थालिएको हो। २०७५ असार २३ गते १८ महिनाभित्र काम सक्नेगरी सिएबी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। सम्झौताअनुसार कन्स्ट्रक्सनले ८.२६ किलोमिटर कालोपत्रे र १३ किलोमिटर ग्राभेल गर्नुपर्नेछ। सम्झौताको म्याद सकिन अब केही दिनमात्र बाँकी रहँदा सडकको अझै ६० प्रतिशत काम बाँकी छ। यो अवधिमा काम सम्पन्न नहुने भएपछि आगामी २०७७ सालको वैशाख २७ गतेभित्र काम सम्पन्न गर्नेगरी साढे चार महिनाको समय थप गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीयले डेढ वर्षमा पनि नसकिएको सडक निर्माण साढे चार महिनामा सकिनेमा आशंका व्यक्त गरे। यस्तै सडक निर्माणका क्रममा आफूहरूको जग्गा अनावश्यक रूपमा अतिक्रमण गरिएको गुनासो स्थानीयले गरे। आयोजना प्रमुख जयराम श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपालले कार्यक्रममा सहभागीहरूको गुनासो सम्बोधन गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का प्रदेश सांसद रामकुमार अधिकारीको प्रमुख आतिथ्य थियो।

कार्यक्रममा सांसद अधिकारीले निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। ‘सडक हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले निर्माणमा ढिलाइ गर्नुहुँदैन,’ उनले भने, ‘निर्माणका क्रममा ठेकेदार र इन्जिनियरहरूले पनि मापदण्डअनुरूपको काम गर्नुपर्छ र ढिलाइ गरी जनतालाई दःख दिनुहुँदैन।’

प्रकाशित: १३ पुस २०७६ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App