१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पढाइ छोडेर छोरा चालक, छोरीको 'कन्यादान'

शिखरपुर माझीगाउँ (सिन्धुपाल्चोक) - मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माझा मार्न जानुअघि उनीहरुकी आमा कुमारी हरि र दीपकलाई बिहानीको खाना बनाउँदै थिइन्। हरि र दीपक दाजुभाइ हुन्। ‘दुबैले पढ्दा पढ्दै बीचमै स्कुल छोडे,’ ४५ वर्षीया कुमारीले कराइमा तिउन ओइरिँदै भनिन्, ‘आर्थिक अभावले घर व्यवहार धान्न मुस्किल भएपछि पढाइ नछोड भन्न सकिन।’

स्थानीय हिरादेवी आधारभूत विद्यालयको कक्षा सातमा पढ्दा पढ्दै दाजु हरि र आठबाट भाइ दीपकले पढाइ छोडेका थिए। पढाइ छोडेपछि उनीहरुको दिनचर्या इन्द्रावतीमा माछा मारेर बित्छ। सिजनमा खेतिपातीको काम गर्छन्। ‘माछा नमारेर के गर्नु ?’ केही पश्चतापको भाव दर्शाउँदै दाजुभाइले एकै स्वरमा भने, ‘साथीभाइको लहलहैमा पढाइ छोडिहालियो।’

ठूलीकान्छी माझीका दुई छोराले पनि नौ कक्षा पढ्दा पढ्दै विद्यालय छोडे। एक वर्षअघि पढाइ छोडेर खलाँसी काम गर्न गाडीमा हिँडेका उनका जेठा छोरा राजकुमार र कान्छा कमल अहिले ड्राइभर बनेका छन्। ‘सँधै पढ्न गए कसले कमाएर ल्याउँछ ?’ ४५ वर्षीया ठूलीले अड्डी कसिन्, ‘दुई–चार सावाअक्षर चिने पुगिहाल्यो नि !’

घरको पिँढीमा बसेर बिहानीको पारिलो घाममा शरीर तताउँदै सहपाठीको जुम्रा हेर्दै गर्दा भेटिइन् १७ वर्षीया सीता माझी पनि। हिरादेवीमै कक्षा सात पढ्दै गर्दा तीन वर्षअघि उनले पढाइ छोडेकी रहछिन्। राम्रो परिवारको केटा पाए यो वर्ष आफ्नो बिहे गराइदिने चर्चा घरमा सुरु भएको उनले सुनाइन्। ‘पढाइ छोडिहालियो,’ उनी निर्धक्क भन्छिन्, ‘अब परिवारले भनेको नमानेर के गर्नु !’ विद्यालय छोडेयताका उनको समय खेतीपातिको काममा बित्दै आएको छ।

ठूलीकान्छी माझीका दुई छोराले पनि नौ कक्षा पढ्दा पढ्दै विद्यालय छोडे। एक वर्षअघि पढाइ छोडेर खलाँसी काम गर्न गाडीमा हिँडेका उनका जेठा छोरा राजकुमार र कान्छा कमल अहिले ड्राइभर बनेका छन्। ‘सँधै पढ्न गए कसले कमाएर ल्याउँछ ?’ ४५ वर्षीया ठूलीले अड्डी कसिन्, ‘दुई–चार सावाअक्षर चिने पुगिहाल्यो नि !’

२०७२ वैशाख १२ गतेको भूकम्पपछि थाइ नेपालीले बनाएको ४६ घरधुरीको माझी बस्ती सुन्दर र चिटिक्क देखिन्छ। सहरकै छनक दिने सुन्दर माझी बस्तीका बालबालिकाको शैक्षिक अवस्था निकै कारुणिक छ। बस्तीमा बीचमै पढाइ छोडेका १४–१७ वर्ष उमेर समूहका बालबालिका प्रशस्तै भेटिन्छन्। पढाइ छोडेर छोराहरु ड्राइभर बन्न निस्कन्छन् भने छोरीहरुको उमेरै नपुगी बिहे हुने गरेको छ। पढाइ छोडेका केही इन्द्रावतीमा माछा मारेर बरालिन्छन्। कतिपय खेतीपातिमा समय बिताउँछन्। गाउँमा अझै बालबिबाहको प्रचलन छ।

‘गाउँमा यस्तै चलन छ,’ ६० वर्षीय धनबहादुर माझीले बस्तीका बालबालिको अवस्था चित्रण गरे, ‘पाँच–आठ कक्षा पढ्दा पढ्दै बालबालिकाले पढाइ छोडिदिन्छन्।’ उनका अनुसार पढाइ छोडेर छोराहरु कमाउन निस्कन्छन्। छोरीहरुको भने परिवारले बिबाह गराइ दिन्छ। गाउँमा हुर्केका छोरा ड्राइभर बन्ने लहड छ। ‘छोरीको सानैमा कन्यादान गर्नु माझी समुदायको पूरानै चलन हो,’ बाबुआमाले बिहे नगरे पनि छोरीहरु प्रेम बिवाह गरेर हिँड्ने गरेको उनले बताए।

हिरादेवीकै कक्षा आठमा पढ्ने छात्रा सावित्री माझीको महिना अघि बिहे भयो। १५ वर्षीया उनी बिहेपछि विद्यालय आउन छोडेको प्रधानाध्यापक गणेश दाहालले बताए। उनका अनुसार चालु शैक्षिक सत्रको एक तिहाइ समय बाँकी रहँदै सावित्रीसहित ६ जनाले विद्यालय छोडिसकेका छन्। कक्षा पाँचका पुकार, ६ मा पढ्ने भूपेन्द्र, गोपाल, रामकुमार र सञ्जयले पढाइ छोडेका छन्। ‘खलाँसीबाट काम थालेका उनीहरु गाडी चलाउन जान्ने भइसके,’ पढाइ छाडेका आफ्ना विद्यार्थीबारे बताउँदै उनले भने।

शैक्षिक सत्र सकिन तीन महिना समय बाँकी रहेकाले बीचमै पढाइ छोड्नेको संख्या अझै बढ्न सक्ने प्रअ दाहाल औँल्याउँछन्। गाउँमा छोरीको मात्र होइन छोराको पनि सानै उमेर बिहे हुन्छ। बिहेपछि उनीहरु पढ्न जाँदैनन्। गतवर्ष कक्षा सात पढ्दै गर्दा बिहे भएपछि सुधिर माझीले विद्यालय छोडे। उनी अहिले बाबु बनिसकेका छन्। सात कक्षामै पढ्दा गत वर्ष प्रमिला माझीको पनि बिहे भयो। त्यसयता उनी विद्यालय फर्केर आइनन्।

माझी बस्तीबाट सबैभन्दा नजिकको हिरादेवी १५ मिनेटको दुरीमा छ। यो शैक्षिक सत्रको सुरुमा ३८ माझी बालबालिका हिरादेवीमा पढ्थे। बर्सेनी १० जनाजति माझी बालबालिकाले विद्यालय छोड्ने गरेको तथ्यांक प्रअ दाहालले पेश गरे। उनका अनुसार तल्लो कक्षामा अधिकांश बालबालिका भर्ना हुन आउँछन्। कक्षा चढ्दै जाँदा पाँचपछि उनीहरु अनियमित हुन थाल्छन्। पाँच–सात कक्षा पढ्दै गर्दा धेरैले विद्यालय छोडिसक्छन्।

‘आठ उत्तीर्ण गरेर नौ कक्षा पढ्न जाने मुश्किलले एक–दुई हुन्छन्,’ उनले भने। हिरादेवीमा आठ कक्षासम्म पढाइ हुन्छ। नौ कक्षादेखि माथि पढ्न गाउँकै शितलादेवी र ४५ मिनेट पैदल दुरीको मेलम्चीको इन्द्रेश्वरी मावि जानु पर्छ। शितलामा पढ्ने यो बस्तीका माझी बालबालिका एउटै छैनन्। पढ्ने बालबालिका पनि नियमित विद्यालय जाँदैनन्। उनीहरु आलोपालो गरेर मात्र विद्यालय पुग्छन्। एउटा शैक्षिक सत्रमा एक सय ८० दिन विद्यालय खुल्दा अधिकांश माझी बालबालिकाको हाजिर ६० दिन पनि नपुग्ने प्रअ दाहालले जानकारी दिए।

माझी गाउँमा पढ्ने उमेरका बालबालिकाको संख्या झण्डै ७० छ। हिरादेवीमा यो वर्ष भर्ना भएका ३८ मध्ये ६ जनाले पढाइ छोडिसकेका छन्। अरुले अघिल्ला वर्षमा विद्यालय छोडेका हुन्। १० जनाजति साना उमेरका बालबालिका बोर्डिङ पढ्न मेलम्ची पुग्छन्। इन्द्रावतीमा माछा मार्ने र दुवाली थुन्ने सल्लाह हुँदा होस् या गाउँमा बिहे, ब्रतबन्ध पर्दा विद्यालय माझी बालबालिकाबिहिन हुन्छ।

‘माझी बालबालिकालाई विद्यालय टिकाउन केही सीप लागेन,’ प्रअ दाहालको गुनासो छ। उनीहरुलाई टिकाउन हिरादेवीले केही वर्षदेखि नर्सरीदेखि एकसम्म चारवटा कक्षामा अँग्रेजी माध्यममा पढाउँदै आएको छ। कक्षा आठसम्म माझी बालबालिकाका लागि मात्र विद्यालयले दिवा खाजा कार्यक्रम लागू गरेको छ। उनीहरुको पढाइलाई नियमितता दिनकै लागि विद्यालयले पाँचबाट बढाएर आठ कक्षासम्म दिवा खाजा बिस्तार गरेको हो। वर्सेनी झोला, पोशाक र कापीकलमको व्यवस्था गर्दै आए पनि माझी बालबालिकाको बीचमै विद्यालय छोड्ने दरमा सुधार ल्याउन नसकिएको दाहाल बताउँछन्।

भूकम्पपछि माझी परिवार बढेर ५२ घरधुरीमा बिस्तार भएको छ। अल्पसंख्यक, सीमान्तकृत माझी समुदाय सामाजिक, आर्थिक र शैक्षिक रुपमा निकै पिछडिएका छन्। उनीहरुलाई खेतीपातिको उब्जनीले तीन महिनाभन्दा बढी खान पुग्दैन। बाँकी समयका लागि रसद्पानी जुटाउन इन्द्रावतीमा माछा मार्नु र मजदुरी गर्नु उनीहरुको बाध्यता हो। त्यसैले उनीहरु हुर्केका छोरा कमाउन निस्किउन भन्ने चाहन्छन्। छोरीको बिहे गरे घर व्यवहार छारितो बन्दै जाने सोच्छन्।

नजिकैको इन्द्रावतीमा गिटी, बालुवा उत्खनन् हुने भएकाले बस्तीका छोराहरुको रोजाइमा ट्रिपर पर्ने गरेको छ। खलाँसी हुँदै उनीहरु ड्राइभर बन्छन्। गाउँमा ट्रिपर ड्राइभर बन्ने होडबाजी रहेको ४० वर्षीया पदमकुमारी माझी बताउँछिन्। उनका अनुसार ड्राइभर बनेकाले रामै्र कमाइ गरिरहेका छन्। ‘एक किलो माछा मारेर बिक्री गरे मात्रै एक हजार रुपैयाँ कमाइ हुन्छ,’ कमाइकै लोभले हुर्केका छोराछोरीले पढाइ छाड्ने सुनाउँछिन् उनी।

माझी समुदायमा उमेरै नपुगी छोरा र छोरीको बराबरी संख्यामै बिहे हुने गरेको छ। त्यसैले बस्तीमा कलिलै उमेरका बुहारी धेरै भेटिन्छन्। कतिपय सानैमा आमा बनिसकेका छन्। कलिलैमा आमा बन्ने मध्येकी हुन् १९ वर्षीया अप्सरा माझी। बस्तीमा भेटिँदा उनी आफ्नो पाँच महिने शिुशुलाई तेल घस्दै थिइन्। छिमेकी ज्यामिरे रामपुर गाउँकी उनको आठ कक्षा पढ्दा पढ्दै दुई वर्षअघि बस्तीका लक्ष्मण माझीसँग बिहे भएको थियो। बिहेपछि लक्ष्मण पनि पढाइ छाडेर खलाँसी काम गर्न निस्किए। बिहेअघि उनी आठ कक्षा पढ्दै थिए।

आफ्ना पति लक्ष्मण अहिले ड्राइभर बनिसकेको अप्सराले बताइन्। उनका अनुसार आफू जस्तै सानैमा बिहे गरेर कलिलैमा आमा बन्ने बस्तीमा धेरै छन्। ‘पढाइ छुटाएर छोरीकै बिहे गर्दिने गाउँमा बुहारीलाई विद्यालय पठाउने कुरा सपना जस्तै हो,’ निदाउँनै लागेका काखे शिशु थुमथुम्याउँदै उनले भनिन्।

प्रकाशित: १२ पुस २०७६ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App