१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

बुटवल- रुपन्देहीमा बिगत चार दिनदेखि चिसो ह्वात्तै बढेको छ। घाम देखिएको छैन। बाक्लो हुस्सु र शीतलहर परेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन्।

मेला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई समस्या भएको छ। स्कुले बालबालिकाहरु पनि चिसोको मारमा परेका छन्। भैरहवास्थित गौतमबुद्ध बिमानस्थलमा रहेको मौसम शाखाका अनुसार शुक्रबार यहाँको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५.० डिग्री सेल्सियस मापन भएको छ। बिहिबारको तापक्रम न्यूनतम १०.६ डिग्री सेल्सियस  र अधिकतम १२.७ डिग्री सेल्सीयस थियो।

लगातार चिसो बढेपछि जिल्लाका अधिकांश स्थानीय तहले स्कुल बिदा दिएका छन्। बुटवल उपमहानगरपालिकाले ११ गतेदेखि १३ गते सम्मका लागि जाडो बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले स्थानीय बिदामा कट्टी हुने गरी तीन दिन बिदा दिन नगरका सबै स्कुलहरुलाई निर्देशन दिएको हो। तिलोत्तमा नगरपालिकाले पनि १० र ११ गते नगरका स्कुलहरुमा बिदा दिने निर्णय गरेको थियो।

चिसो बढेपछि अस्पतालहरुमा श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या लिएर आउनेहरु बढेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीहरु मध्ये आधा भन्दा धेरै दम, निमोनीया, रुघाखोकी, ज्वरो, बाथ तथा पखालाका रहेको सूचना शाखाले जनाएको छ। भैरहवाको भिम अस्पलतालमा पनि तुलनात्मक रुपमा  चिसोबाट हुने बिभिन्न स्वास्थ्य समस्या लिएर आउनेहरु बढेका छन्। अस्पतालको सूचना शाखाका अनुसार विशेषगरी बालबालिकामा कोल्ड डायरीया, निमुनीया, ज्वरो, रुघाखोकी, हाइपोथर्मीया जस्ता समस्या देखिएको छ।

चिसो बढेपछि जिल्लाका मुख्य बजारका साथै सहायक बजारहरुको चहलपहल पनि  घटेको छ। बुटवल, भैरहवाकासाथै सहायक बजार तथा सडक पेटीहरुमा मानिसहरु कमै देखिन्छन्। होटल तथा चिया पसलमा फाट्टफुट्ट मानिसहरुको जमघट देखिए पनि अन्य क्षेत्रको व्यापार व्यवसाय घटेको सम्बन्धित व्यापारीहरु बताउँछन्।

सडकमा सवारीसाधनको चाप कम छ। सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीहरुको चहलपहल घटेको छ। जाडो छल्न मानिसहरु चोक चौराहामा दाउरा तथा घुर्यान बालेर आगो तापेका भेटिन्छन्।

 

प्रकाशित: ११ पुस २०७६ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App