१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्ष भन्छन्ः पढ्न जानु, खर्च नपुगे हामी दिन्छौ

कक्षा १० का विद्यार्थीले गर्न नसकेको गुणान। कक्षा १० का विद्यार्थी। तस्बिर: दिनेश/नागरिक

रोल्पा- विद्यालय अनुगमनमा पुगेका रोल्पा सुनिलस्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले कक्षा १० का २८ विद्यार्थीको जाच लिए। तिन अंकको गुणान गर्न दिएको करिब आधा घण्टापछि उनीहरुले उत्तर लेखे तर सबैको गलत आयो। ९ सय ७८ लाई ७ सय ८९ ले गुणान गर्नुपर्ने थियो तर कसैले उत्तर मिलाउन सकेनन्। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेवाङका कक्षा १० का विद्यार्थीले जस्तै कक्षा ७ का विद्यार्थीले पनि उक्त प्रश्नको उत्तर लेख्न सकेनन्।

विद्यार्थीसँगै बसेर शिक्षकको कक्षामा सहभागी भएपछि अध्यक्ष घर्तीले विद्यार्थी र शिक्षकहरुसँग अलगअलग अन्र्तकृया गरे। शिक्षकहरुले विद्यार्थीको पढाई कमजोर हुनुमा आफ्नो दोष नभएको दावी गरे।‘यहाँका मान्छेहरुमा पढ्नु पर्छ भन्ने चरित्र र मानसिकता नै छैन।’ शिक्षक बुद्धिराम केसीले विद्यार्थी कमजोर हुनुको कारण आफूहरुले गतिलो नपढाएको स्विकार गरेनन्।

‘यहाँका बच्चा अभिभावकसँग बस्दैनन्। अनुशासित वातावरण पटक्कै छैन। यहाँका स्थानीयहरुमा नाचगान र मोज मस्तीमा मात्रै चासो छ। जति विद्यार्थी कक्षा कोठामा छन् त्यो भन्दा बढि विद्यालय बाहिर छन्।’ गणित शिक्षक मेघराज रिजालले भने ‘सुधारको प्रयास गरिरहेका छौ तर चाहे जस्तो भईरहेको छैन। विद्यार्थी आफैले अलि प्रयास र अभ्यास नगर्दासम्म शिक्षा सुधार हुदैन।’

केहि समय यता विद्यार्थीसँग अध्यक्ष कार्यक्रम लिएर बिभिन्न विद्यालयहरुको अनुगमनमा पुग्ने गरेका अध्यक्ष शैक्षिक अवस्था देखेर दिक्क छन्। ‘हाम्रो क्षेत्रको शिक्षा साह्रै कमजोर भयो। अबको लगानी शिक्षामा गर्छौ।’ अध्यक्ष घर्तीले भने ‘शिक्षकको लापरवाही, अभिभावकको चासो नहुनु र विद्यार्थीमा पढ्नु पर्छ भन्ने भावना नआएका कारण शैक्षिक स्तर उठ्न सकेको छैन।’

विद्यालय बाहिर विद्यार्थी
विद्यालयका प्रअ बिष्णुभक्त आचार्यका अनुसार यहाँका धेरै विद्यार्थी विद्यालय बाहिर छन्। ‘चार वर्ष अगाडि कक्षा ६ मा १ सय विद्यार्थी थिए तर अहिले कक्षा १० मा २८ जना मात्र छन्। बाँकि सबैले स्कुल छोडे।’ आचार्यले भने ‘७ कक्षामाथि गए भने स्कुल छोड्न सुरु गर्छन्। कतिपयले बैसाखमा भर्ना गर्छन् अनि एकै पटक अर्को बैसाखमा आएर माथिल्लो कक्षामा फेरी भर्ना गर्न दबाव दिन्छन्।’ उनका अनुसार प्राय विद्यार्थी विद्यालय छोडेर मजदुरी गर्न जान्छन भने केहिले बालविवाह गर्छन्।

एक जना पनि मावि दरबन्दी नभएको यहाँ प्राविका ३ स्थायी, १ अस्थायी र निमाविको २ राहत शिक्षकको भरमा विद्यालय चलिरहेको छ। ५ सय ८५ विद्यार्थीले पढिरहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेवाङमा मात्रै यो वर्ष ५ महिनामै करिब ४० विद्यार्थीले स्कुल छोडेका छन्। वडा अध्यक्ष मानसिंह पुनका अनुसार यहाँका बालबालिकाहरु चरम आर्थिक संकटमा परे पछि ईट्टाभट्टा वा पर्बत, गुल्मी, पोखरा तिर मजदुरी गर्न जाने गर्दछन्।

अध्यक्ष भन्छन्–पढ्न जानु खर्च नपुगे हामी दिन्छौ
कक्षा १२ सम्म ‘अनिवार्य शिक्षाको तयारी गरिरहेका सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुर्णेन्द्र घर्तीले हरेक कार्यक्रममा बालबालिकालाई स्कुल पठाउन अनुरोध गरिरहेका हुन्छन्। ‘सबैले पढ्नु पर्छ। पढाईको बिकल्प पढाई मात्र हो। सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नै पर्छ।’ घर्ती भन्छन् ‘कसैको घरमा आर्थिक समस्या छ भने गाउँपालिकाले आर्थिक सहयोग गर्छ तर छोरा छोरीलाई पढाउनु पर्‍यो।’ उनका अनुसार आर्थिक समस्याले कोहि विद्यालय आउन नसक्ने वातावरणको अन्त्य हुनेछ।

गाउँगाउँमा पढ्नु पर्छ भन्ने चेतना स्तरको कमिका कारण विद्यार्थीहरु विद्यालय बाहिर रहने गरेका हुन्। गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बिपन्नलाई आर्थिक सहयोग गरेरै भए पनि पढाउने बताउदै भन्छन् ‘यदि अब पनि कसैले आफ्ना छोरा छोरीलाई बिद्यालय पठाएनन् भने सरकारी सेवा सुबिधा रोकिदिने छौ।’ उनी भन्छन् ‘रोल्पामा राजनितिक हिसाबले देश हाक्ने नेता जन्मिए तर जिल्लामा खरिदार, सुब्बा बन्न नसक्ने अवस्था आएको छ। अब दक्ष जनशक्ति हामीले उत्पादन गर्नुपर्छ।’
 

 


 

प्रकाशित: ११ पुस २०७६ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App