१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हाकाहाकी लुट्दै लघुवित्त

जाजरकोट - भेरी नगरपालिका–३, पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त संस्थाकी समूह सदस्य छिन्। उनी लघुवित्तको समूहमा बस्न चाहन्नन्। उनले समूहको बैठकमा आफूले समूह छाड्न चाहेको भन्दै अहिलेसम्मका बचत फिर्ता माग्न थालेको दुई महिनाभन्दा बढी भइसक्यो। तर संस्थाका कर्मचारीले उनलाई हाकाकाकी तपाईंको पैसा दिँदैनौं भनिरहेका छन्।

आफूले व्यक्तिगत रुपमा गरेको बचत रकम दर्जनौंपटक फिर्ता माग्न गए पनि संस्थाका कर्मचारीले हप्काएर फर्काउने गरेको सुन्तलीले बताइन्। ‘मलाई समूह आवश्यक छैन, मैले मासिक रुपमा जम्मा गरेको २१ हजार पाँच सय रुपैयाँ नियमानुसार पाउँ भन्दा दिँदै दिँदैनन्,’ थापाले भनिन्, ‘कर्मचारीले उल्टै तपाईं जहाँसुकै गएर उजुरी गर्नुस् पैसा दिन्नौं भन्छन्।’

संस्थामा जाँदा सधैं आफूलाई थर्काउने र अपमान गर्ने गरेको उनले बताइन्। सुन्तली मात्रै होइन, सोही वडाको न्युरोडकी अमृता बुढाको गुनासो पनि उस्तै छ। संस्थाबाट ऋण लिएर बेइमानी गर्ने व्यक्तिलाई देखाउँदै आफूलाई समूह छाड्न र बचत रकम दिन संस्थाका कर्मचारीले अस्वीकार गरेको उनले बताइन्। ‘मान्छेले चाहेमा कस्ता कुरा छाड्न सक्छ, यो समूहमा बस्दिन भन्न नपाउने कस्तो नियम हो ?’ अमृताले प्रश्न गरिन्, ‘हाम्रो पैसा लिएर फाइदा लिने अनि हामीलाई आफ्नै रकम माग्दा थर्काउने, धम्की दिने ! कहाँ गएर न्याय माग्ने ?’

सुरुमा बस्दा एउटा सर्त गरेका कारण महिलालाई सजिलै समूह छोड्न दिन नसकिएको लघुवित्त कम्पनीको भनाइ

सुन्तली र अमृता मात्र होइन जिल्लाका सयौं महिलाको पीडा एकै प्रकारको छ। यहाँका लघुवित्तहरुले स्थानीयको रकममा लुट मच्चाउन थाले पनि स्थानीय सरकार र प्रशासनले कुनै मतलब नराखेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

उनले लघुवित्तका नाममा सर्वसाधारण र विपन्न महिलालाई लुट्ने र ठग्ने काम मात्र भएको बताए। विपन्न जनतालाई चर्काे ब्याज असुल्ने गरी ऋण दिनु, अनि त्यही बहानामा जनताले बचत गरेको रकम सजिलै फिर्ता नगर्नु र समूह छाड्न पनि नदिनु निकै आपत्तिजनक भएको अगुवा शाहले बताए। समूहमा बसेर ऋण लिएका र व्यक्तिगत बचत गरेका महिलाले ऋण चुक्ता गरेर समूह छोड्छु भन्दा नमान्ने र आयस्रोतको अवस्था नबुझी ऋण दिने लघुवित्तका कारण धेरै घरपरिवार बिचल्लीमा परेको स्थानीय धनसरा शाहीले बताइन्।

उनले भेरी नगरपालिका–४, को बोहरा गाउँमा मात्र ऋण लिएर चार–पाँच परिवारले गाउँ नै छोडेको बताइन्। ऋणको किस्ता तिर्न १५ मिनेट ढिलो गरे पनि हर्जना तिराउने लघुवित्तले आफूले बचत गरेको रकम माग्दा विभिन्न बहाना गर्दै ६–७ महिनासम्म झुलाउने गरेको उनले बताइन्।

अहिले जिल्ला सदरमुकामस्थित लघुवित्तका कार्यालयमा समूह छाड्ने भन्दै आएका दर्जनौं महिला आफूहरुलाई ठगेको र बचत रकम नदिएको भन्दै गाली गरिरहेका हुन्छन्। लघुवित्तका कार्यालयमा गएर दिनदिनै आक्रोश पोखे पनि स्थानीय प्रशासन, स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको उनीहरुको गुनासो छ। नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हेमन्त केसीले जिल्लामा रहेका लघुवित्तले निरक्षर र सोझा महिलालाई विभिन्न बहानामा ठग्ने, दुःख दिने र आपतमा पार्ने काम गरेको बताए।

आफूले भेरी नगरपालिका र नगलागाड नगरपालिकाभित्रका धेरै महिला लघुवित्तका कारण अप्ठेरोमा परेको र लघुवित्तका कारण महिलामा एक प्रकारको त्रास पैदा भएको देखेको उनले बताए। महिला र स्थानीय समुदायको आर्थिक समृद्धिमा सहयोग पु-याउने उद्देश्यले स्थापना भएका लघुवित्तका कारण धेरै परिवारको उठिबास भएको स्थानीय सरोकारवाला बताउँछन्।

जिल्लामा अहिले विभिन्न १० वटा लघुवित्तले काम गरिरहेको र ती संस्थामा २–३ सयभन्दा बढी महिला समूह आवद्ध रहेको पाइएको छ। जिल्लाभरका पाँच हजारभन्दा बढी महिला आवद्ध ती संस्थाले ऋणमा १८ प्रतिशत ब्याज लिने र महिलाले गरेको व्यक्तिगत बचतमा आठ प्रतिशतमात्र ब्याज दिने गरेका छन्।

कसैले ऋण लिएर नतिरे या भागेमा हामी तिर्छाैं भन्ने वाचा गराएर लघुवित्तले सहीछाप गर्न लगाउने गरेको महिलाको गुनासो छ। कोही बेइमान भए संस्थाले आफैं कानुनी प्रक्रिया अनुसार रकम असुल्न कानुनी कारवाही गराउन छोडेर थोरै रकम बचत गरेका विपन्न महिलाको बचतबाट कटाइदिँदा उनीहरु ठूलो मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ। ‘हामी अप्ठेरोमा परेकाका लागि त बोलिदिने पनि कोही हुने रहेन्छ,’ एक महिलाले रुँदै भनिन्।

आयस्रोत नभएका महिलालाई समूहमा राखेर ऋण लिएर बेइमानी गर्नेको अपराधको सजाय दिने लघुवित्तको दादागिरीप्रति स्थानीय प्रशासन र सरकारले केही नबोल्नु निकै दुःखको कुरा भएको पीडित महिलाको भनाइ छ। उता, किसान माइक्रोफाइनान्स लघुवित्त संस्था जाजरकोटका शाखाप्रमुख रामचन्द्र नेपालीले प्रक्रिया पु¥याउन लागेका कारण महिला सदस्यको बचत दिन ढिलो भएको बताए।

उनले सुरुमा बस्दा एउटा सर्त गरेका कारण महिलालाई सजिलै समूह छोड्न दिन नसकिएको पनि बताए। उनले लघुवित्तको सहयोगका कारण धेरै महिलाको जीवनस्तर परिवर्तन भएको बताए। यस्तै डिप्रोक्स लघुवित्तको जाजरकोट शाखा प्रबन्धक सुदीप पोख्रेलले आफूहरुले महिलालाई अन्याय हुने गरी कुनै काम नगरेको बताए। उनले आफूहरुले समूह छाड्न र बचत फिर्ता लिन चाहनेलाई नरोकेको पनि उनले बताए। उनले आफ्नो संस्थालाई अरुसँग तुलना गर्न नहुने बताए। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले लघुवित्तका कारण महिला र विपन्न परिवारले दुःख पाएको बारे आफूकहाँ गुनासो आए पनि यो राष्ट्र बैंकको क्षेत्राधिकार भएकोले बोल्न नसकिएको बताए।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाले लघुवित्तका सदस्यले ऋण नलिएको अवस्थामा प्रक्रिया पु¥याएर समूह त्याग्न सक्ने प्रावधान रहेको बताए। उनले भने, ‘व्यक्तिगत वा संस्थागत फाइदाका लागि कुनै पनि संस्थाले समूहबाट बाहिरिने सदस्यलाई बिनाकारण रोके कानुन बमोजिम कारबाही हुन्छ।’

यस्तै, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले लघुवित्तबारे स्थानीयका धेरै गुनासा आएको सत्य भएको भन्दै यस विषयमा सरोकारवाला बोलाएर छलफल गर्ने तयारी गरेको बताए। उनले वित्तीय संस्थाको चेन अफ कमान्ड राष्ट्र बैंकसँग हुने भएकोले आफूले त्यता पनि समन्वय गरेर पीडित महिलाको समस्या समाधानको लागि पहल गरिरहेको बताए। अरुलाई अन्याय र पीडा हुने गरी कसैले पनि गलत काम गर्न नहुने प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

प्रकाशित: ११ पुस २०७६ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App