१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य

पोखरामा हुने सडक महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिर: नागरिक

पोखरा - सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। मुलुक अहिले नेपाल भ्रमण वर्षको मुखैमा छ। सन् २०२० को पहिलो दिन पारेर सबै प्रदेशमा भ्रमण वर्ष लक्षित कार्यक्रम पनि हुँदैछन्। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रादेशिक शुभारम्भ कार्यक्रम हुँदैछ।

सरकारी बाहेक यसै बेला पोखरामा बर्सेनि हुँदै आएको सडक महोत्सवको तयारी पनि तीव्र छ। आगामी शनिबारदेखि २१औं संस्करणको पोखरा सडक महोत्सव मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गरेको यो महोत्सव बर्सेनि एकै समय र अवधिका लागि हुन्छ। विशेषगरी आन्तरिक पर्यटक लक्षित सडक महोत्सवलाई यसपटक भने पर्यटन व्यवसायीले भ्रमण वर्षसँगै जोडेर प्रवद्र्धन तयारी गरेका छन्।

‘भ्रमण वर्षको तयारीमा मुलुक छ। हामी पनि यो संस्करणको सडक महोत्सवलाई नेपाल भ्रमण वर्षसँगै जोडेर प्रवद्र्धन गर्ने योजनामा छौ,’ पाँचदिने महोत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाटमा रेबान अध्यक्ष भीमसेन भुजेलले भने, ‘महोत्सवमार्फत हामीले भ्रमण वर्षको प्रचारप्रसार गर्ने हो। यो हाम्रा लागि गतिलो अवसर हो। पोखरा घुम्न आएका आन्तरिक पाहुनामार्फत अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन हुन्छ। त्यसैले यसपटक हामी भ्रमण वर्ष लक्षित प्रवद्र्धनमा लाग्नेछौं।’

अफसिजनका कारण यतिबेला पोखरामा निकै कम संख्यामा विदेशी पर्यटक रहेकाले पनि उनै पर्यटकमार्फत नेपाल भ्रमण वर्षको सन्देश फैलाउन चाहेको उनले बताए। त्यसबाहेक महोत्सवमा पोखरामा कम्तीमा चार लाख आन्तरिक पर्यटक भिœयाएर नेपाल भ्रमण वर्षबारे विशेष जानकारी दिने योजना रहेको उनले बताए।

क्रिसमस र नयाँ वर्ष मनाउन अधिकांश विदेशी पाहुना स्वदेश फर्कने भएकाले यतिबेला पोखरामा विदेशी निकै कम हुने उनले बताए। ‘पोखरा सडक महोत्सवमा यहाँ रहेका सीमित विदेशीलाई सहभागी गराउँदै भ्रमण वर्षको प्रचार गर्ने हो,’ उनले भने, ‘नेपालबारे अन्तर्राष्ट्रिय जगतमा सन्देश फैलाउन महोत्सव गतिलो अवसर हुने ठानेका छौं।’

दुई दशकदेखि एकै समय र अवधिका लागि हुँदै आएको महोत्सव अंग्रेजी पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ पोखरामा हरेक वर्ष आयोजना हुने गरेको छ। २० लाख विदेशी पर्यटक भिœयाउने गरी सरकारले मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने २१ औं संस्करणले यो पटक झनै महŒव राख्ने पर्यटन व्यवसायीले बताए।

महोत्सवका सहसंयोजक वसन्त गौतमले पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटकको आगमन बढाउन सडक महोत्सव सफल भएको बताए। ‘पाहुना दोहोरिए पनि महोत्सव अवधिमा हामीले झन्डै चार लाख आन्तरिक पाहुना आउने अनुमान गरेका छौं,’ उनले भने, ‘पोखरा आसपासबाट मात्र नभई समग्र नेपालभरका सहर र गाउँका पाहुना त्यो बेला पोखरा आउँछन्। पोखरा आसपासका आन्तरिक पाहुनाका लागि त झनै सहज हुने गरेको छ।’

‘सडकमै खाऔं, सडकमै नाँचौ, सडकमै रमाऔं,’ भन्ने मूल नाराका साथ सञ्चालित हुने महोत्सवले विदेशी पाहुनालाई पोखरामै रोक्न सघाउने अर्का सहसंयोजक नरेश भट्टराईले बताए। ‘नेपाल आइसकेका अधिक विदेशी क्रिसमस र नयाँ वर्ष पारेर स्वदेश फर्किन्थे। तर, पोखरामा सडक महोत्सव हुन थालेपछि ती विदेशी पर्यटक रोकिन थालेका छन्। अरु पाहुना पनि त्यही अवसर पारेर पोखरा आउने गरेका छन्,’ उनले भने। सडकमै रेस्टुरेन्ट राखेर गरिने महोत्सवमा लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रभित्र कार्यक्रम हुनेछ।

भट्टराईका अनुसार योपटक महोत्सवमा सडकमा रहने रेस्टुरेन्टले पाँच दिनका लागि एकैखाले मेनू प्रयोग गर्नेछन्। लेकसाइडमा सञ्चालित बाहेक बाहिरी रेस्टुरेन्टले स्टल राख्न पाउने छैनन्। अघिल्लो वर्ष रेस्टुरेन्टले बढी मूल्य लिएको गुनासो आएपछि त्यसलाई चिर्न मेनुको मूल्यमा कडाइ गर्ने उनले बताए। ‘लेकसाइडमा जथाभावी मूल्य लिइन्छ भन्ने सन्देश अघिल्लो वर्ष फैलिएको छ।

यसपटक अघिल्ला वर्षका गल्ती नदोहो¥याउने गरी योजना बनाएका छौं,’ उनले भने, ‘पोखराको बदनाम हुन नदिन हामीले कडाइ गर्ने हो। कसैले जथाभावी मूल्य लिएको पाइए कारबाही समेत गर्छौं।’ महोत्सव प्रचारप्रसार संयोजक विश्व पौडेलले पोखराले यतिबेला विदेशी पाहुना कम पाउने गरेकामा महोत्सवमार्फत केही आकर्षण थप्न चाहेको बताए। ‘यतिबेला विदेशी पाहुना अभाव खेपेका हुन्छौं।

नेपाल आउनेभन्दा फर्किने पाहुना बढी हुन्छन्,’ उनले भने, ‘फर्किन चाहेका तिनै पर्यटकलाई मिलेसम्म बसाइँ अवधि लम्ब्याउन यो महोत्सवले सघाएको छ। कम्तीमा काठमाडांैमा बसाइँ लम्ब्याउने पर्यटकलाई पोखरामै रोक्न हामी सफल भएका छौं।’ उनका अनुसार अग्रज व्यवसायीले विदेशी पर्यटकलाई पोखरामै रोक्नका लागि महोत्सव सुरु गरेका थिए।

प्रकाशित: ११ पुस २०७६ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App