१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शैक्षिक सुधार वर्ष बनाउन अभियान

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्य पूरा गर्न क्रियाशीलता बढाएको छ। गत वैशाखमा ‘शैक्षिक सुधारमा हाम्रो प्रतिबद्धता’सम्बन्धी एकदिने अन्तरक्रियात्मक सेमिनार गरी चालू आवलाई शैक्षिक सुधार वर्षका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जुटाएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उपायबारे असारमा सुझाव संकलन गर्न हप्ता दिनसम्म घुम्ती शिविर सञ्चालन गरेको नगरपालिकाले पुनः प्रअको नेतृत्व विकास तथा क्षमता विकास कार्यशाला सञ्चालन गरेको छ।

शैक्षिक सुधार वर्ष बनाउने लक्ष्यका साथ गरिएको प्रतिबद्धता पूरा गर्न ११ नगरपालिकाका ८७ विद्यालयमा कार्यरत प्रअलाई भेला गरी नेतृत्व विकास तथा क्षमता विकास कार्यशाला सञ्चालन गरिएको नगरप्रमुख इवन राईले बताए। विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बालमैत्री कक्षा सञ्चालन, कक्षा व्यवस्थापन, प्रविधिमैत्री शिक्षण सिकाइलगायत दक्षता विकास गर्दै कार्यान्वयनका लागि प्रअलाई नेतृत्व विकास तथा क्षमता विकास कार्यशालामा सहभागी गराइएको हो। उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय ‘भिœयाउने, सिकाउने, टिकाउने’ र कम्तीमा ५ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि गर्ने महत्वाकांक्षी प्रतिबद्धता पूरा गर्न आवश्यक क्रियाकलापलाई तीव्रता दिइएको नगरप्रमुख राईले बताए। ‘शिक्षालाई सुधार गरे मात्र अन्य क्षेत्रको सुधार गर्न सकिन्छ’ भन्ने मान्यताका साथ नगरपालिकाले चालू आवलाई शैक्षिक सुधार वर्षका रूपमा रूपान्तरण गर्ने अभियान थालेको हो।

शैक्षिक सिकाइलाई सुधार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाका जनप्रतिनिधि, विव्यस अध्यक्ष, प्रअ, शिक्षक महासंघ, शिक्षकका पेसागत संगठनका प्रमुख तथा प्रतिनिधिले २३ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
यस्ता छन् शैक्षिक सुधार वर्षका योजना

हलेसी तुवाचुङ नगरपालिकाको नगरशिक्षा समितिले तयार पारेको प्रतिबद्धतापत्रमा हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालय उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गर्न ल्याउने, विद्यार्थीलाई अनिवार्य उत्तीर्ण वा ४० अंक ल्याउन सक्ने बनाउने, हरेक शिक्षक अध्ययनशील, प्रविधिमैत्री, बालमैत्री बन्ने र विद्यार्थीको भविष्यप्रति चिन्तित बनेर ‘आफ्नै छोराछोरीजस्तो गरेर’ शिक्षण गर्ने, शैक्षिक सामग्रीविना शिक्षण नगर्ने, पाठ्यक्रमको अध्ययन गरी शैक्षणिक योजना र पाठ योजना बनाउने र सोहीबमोजिम समयमा कोर्स पूरा गर्ने र विद्यार्थीलाई प्रशस्त लिखित अभ्यास गराउने उल्लेख छ।

यस्तै, नगरपालिकाका ८७ विद्यालयमा क्रमशः अंग्रेजी माध्यम लागू गर्ने, विषयगत शिक्षकले शैक्षिक वर्षको सुरुमा सिकाइ उपलब्धि कार्ययोजना निर्माण गर्ने र प्रअसमक्ष स्वीकृत गराएर ५ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि गर्ने, हरेक शुक्रबार कक्षागत, तहगत र विधागत रूपमा अतिरिक्त क्रियाकलाप गर्ने, शिक्षक दरबन्दीबिनाको कक्षा सञ्चालन नगर्ने, दरबन्दी संख्या र कक्षा कोठा बराबर मिलान गर्ने, गैरजिम्मेवार, अनियमित र अनुशासनहीन शिक्षकको तलबभत्ता रोक्का गरी नियमानुसार कारबाही गर्ने, असल शिक्षकलाई पुरस्कारको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।

प्रकाशित: ११ पुस २०७६ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App