१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सात सय कर्मचारीको दरबन्दी रिक्त

काठमाडौँ- शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ। दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताए।    
    दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन्। उनका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन्। सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ। तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो। उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन्। प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन्। नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।    
     गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन्। प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराए। आयोगले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ। “आयोगबाट सिफारिस गर्न अझै दुई/तीन महिना लाग्छ’’, उनले भने,‘‘ त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ।’’ रासस   

प्रकाशित: १० पुस २०७६ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App