१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवागढीको म्याद थपेको थप्यै

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने म्याद फेरि धकेलिने भएको छ। सन् २०१४ मा निर्माण सुरु भएको यो आयोजनाको म्याद तेस्रोपटक थप्न लागिएको हो।

आयोजना निर्माण सुरु गर्दा सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। २०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले काम प्रभावित भएपछि सन् २०२० को फ्रेब्रुअरीसम्म सक्ने गरी म्याद थप गरिएको थियो। गत असारमा आएको सुक्खा पहिरोका कारण आयोजनाको काम रोकिँदा फेरि तेस्रोपटक म्याद थप गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

आयोजनाका अनुसार गत जुन २० र जुलाई १ मा आएको सुक्खा पहिरोले आयोजनाको प्रवेशद्वार थुनिएर असर परेको थियो। त्यसयता आयोजनाको कामले गति लिन सकेन। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख छविलाल गैरेले गत असारको सुक्खा पहिरोले आयोजनाको काम प्रभावित हुँदा समय सीमाभित्रै निर्माण सम्पन्न गर्न नसकिएको बताए।

‘गत असारको सुक्खा पहिरोले ६ महिनाभन्दा धेरै असर पा¥यो,’ उनले भने, ‘पहिरो गएको ठाउँमा डिसेम्बर १८ (पुस २) देखि मात्रै ठेकेदार कम्पनीले काम सुरु गरेको छ। त्यसैले पूर्वनिर्धारत समयमा सम्पन्न गर्न सक्ने अवस्था छैन।’ गैरेले हालसम्म आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न भएको बताए। ‘आयोजनाको सर्ज साफ्टको साढे ६१ मिटर काम गर्न बाँकी छ,’ उनले भने, ‘अर्काेतर्फ आयोजनाको टेलरेलमा कमजोर चट्टानले पनि निर्माण कार्यले गति सकेन।’

आयोजनाका अनुसार सात सय १३ मिटरको टेलरेलमध्ये अझै ७० मिटर सुरुङको काम बाँकी छ। आयोजना प्रमुख गैरेले नदी डाइभर्सन लगायत महत्वपूर्ण काम अझै बाँकी भएको बताए। ‘सुक्खा पहिरोले आयोजनाको काम अवरुद्ध बनायो,’ उनले भने, ‘अहिले निर्माण कार्यले गति लिएको छ।’

आयोजनाका अनुसार अहिले दैनिक ६ सयदेखि आठ सयजना मजदुर काममा खटिएका छन्। ‘अहिले पर्याप्त जनशक्ति खटाएर काम अघि बढाएका छौंं,’ उनले भने, ‘सकभर आठ महिनाभित्रै निर्माण सम्पन्न लक्ष्य राखेर काम भइरहेको छ।’ यो आयोजना रनअफ द रिभरमा आधारित छ। चिनियाँ कम्पनीले सिडब्लुईले १३ अर्ब ६४ करोड ८४ लाखमा निर्माण गर्ने गरी आयोजनाको ठेक्का लिएको हो। यसबाट वार्षिक ६१३ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। आयोजनाका अनुसार बर्खामा समयमा ५२९.५५ गिगावाट आवर र हिँउदमा ८४.३१ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। यो आयोजानको भूमिगत विद्युत्गृह, बालुवा थिग्राउने पोखरी लगायत संरचना निर्माण भइरहेको छ।

आयोजनाको हेडरेल (मुख्य सुरुङ) चार हजार एक सय ८५ मिटरको निर्माण सम्पन्न भइसकेको छ। आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १३२ केभीको डबल सर्किट प्रसारण लाइनमार्फत चिलिमे हबमा जडान गरिनेछ। यो आयोजना तातोपानीनजिकै गोसाइकुण्ड गाउँपालिकामा पर्छ। यस कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३३ र नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत सेयर छ। त्यसैगरी, सर्वसाधारणको १५, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको १०, इपिएफको १९.५, इपिएफका कर्मचारीको एक र इपिएफका संस्थापककको ३.५ प्रतिशत सेयर छ।

प्रकाशित: १० पुस २०७६ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App