१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय भवन निर्माण १० वर्षपछि सकिँदै

ओखलढुंगा – ओखलढुंगाका दुईवटा विद्यालय भवनको निर्माण १० वर्षपछि पूरा हुने भएको छ। जिल्लाको चण्डेश्वरी मावि, रगनि र हिमालय मावि, निशंखे ठूलाछापको भवन बन्न १० वर्ष लागेको हो। यी दुवै विद्यालय भवन भारतीय राजदूतावासको आर्थिक सहयोगमा बनेका हुन्।

ती विद्यालय भवनको ठेक्का २०६६ सालमा तत्कालीन जिल्ला विकास समिति ओखलढुंगाले लगाएको थियो। चण्डेश्वरी माविको ढुकुचा–सिएम जेभी जोरपाटी–२ काठमाडौं र हिमालय माविको भवन निर्माणको ठेक्का बिरुवा–पुष्पाञ्जली जेभी, काठमाडौंले पाएका थिए। चण्डेश्वरी माविको भवन एकछत्र बनाउने गरी ढुकुचाले २ करोड २५ लाख १३ हजार ४ सय १३ रुपैयाँ १९ पैसामा सम्झौता गरेको थियो। सम्पन्न गर्नुपर्ने मितीमा सो कम्पनीले काम नसकेपछि २०७१ असार ३० मा म्याद थप भई काम ठप्प भएको थियो।

उता बिरुवा–पुष्पाञ्जली जेभीले निर्माणको जिम्मा लिएको हिमालय मावि निशंखे भवनको अवस्था पनि उस्तै छ। सो विद्यालय भवन निर्माणको काम एक वर्षमा सक्ने गरी ठेकेदार कम्पनीले २०६६ फागुन ३ गते तत्कालीन जिल्ला विकास समितिमा सम्झौता गरेको थियो। १ करोड ४२ लाख ५३ हजार ७ सय ५५ रुपैयाँ ३४ पैसाको लागतमा भवन निर्माण गर्नेगरी निर्माण व्यवसायीले जिम्मा लिएको थियो।

तोकिएको मितिमा भवन नसकिएपछि २०७२ चैत ३० गते बिरुवा–पुष्पाञ्जली जेभीले म्याद थप गराएको थियो। चण्डेश्वरी माविको भवनको ९० प्रतिशत भौतिक प्रगति भएको भन्दै निर्माण व्यवसायीले ३ वर्षअघि पाँचौं रनिङ बिलसम्म १ करोड ८० लाख ८५ हजार ५ सय ४० रुपैयाँ ७५ पैसा भ्याटसहित भुक्तानी लिइसकेको छ।

यस्तै हिमालय मावि निशंखेको ८० प्रतिशत काम सम्पन्न भन्दै बिरुवा–पुष्पाञ्जली जेभीले करिब ४ वर्षअघि भ्याटसहित १ करोड ९९ हजार २ सय १० रुपौयाँ ५९ पैसा भुक्तानी पाइसकेको छ। निर्माण व्यवसायी ढुकुचाले ४४ लाख २७ हजार ८ सय ७२ रुपैयाँ ७५ पैसा र बिरुवा–पुष्पाञ्जलीले ४१ लाख ५४ हजार ५ सय ४४ रुपैयाँ ८१ पैसा रकम मात्र भुक्तानी लिन बाँकी छ। लागत इस्टिमेटभन्दा ढुकुचाले ९ लाख ३३ हजार २ सय २० रुपैयाँ ३३ पैसा र बिरुवा–पुष्पाञ्जलीले ८८ हजार ९० रुपैयाँ ७१ पैसा कममा सो भवन निर्माणको ठेक्का पारेका थिए।

चण्डेश्वरी माविको भवन निर्माणको जिम्मा लिएको ठेकेदारसँग सम्पर्क नभए पनि हिमालय माविको ठेक्का पाएको बिरुवा–पुष्पाञ्जलीका प्रतिनिधि बबि श्रेष्ठले एक साताभित्र भवनको बाँकी काम सकिने बताएका छन्। सेफ्टी ट्यांकीको ढकन, कम्पाउन्डमा माटो फिलिङ र कम्पाउन्ड वालको टपमा पिसिसी गर्न मात्र बाँकी रहेकाले एक सातामा सक्ने श्रेष्ठको भनाइ छ। ‘कामदारहरू जिल्लाबाहिरका भएकाले घर गएका छन्,’ उनले भने, ‘आएपछि काम सक्न लगाइहाल्छु।’

दुवै ठेकेदारसँग सम्पर्क गरी विद्यालय भवनको काम सक्न पहल गरिरहेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन्। प्रजिअ आचार्यका अनुसार दुवै विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। ‘लामो समयदेखि नबनेका दुईवटै विद्यालय पुगी मैले अनुगमन गरेको छु,’ उनले भने, ‘भ-याङ, कम्पाउन्ड, सेफ्टी ट्यांकीलगायतको मात्र काम बाँकी छ।’ धेरै काम सकिएकाले चाँडै बाँकी काम सक्न ठेकेदारलाई अनुरोध गरेको प्रजिअ आचार्यले बताएका छन्।

प्रकाशित: १० पुस २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App