१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृत्रिम तालको डिपिआर तयार

खोटाङ – पर्यटन प्रवद्र्धनका लागि खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको डिपिआर तयार पारिएको छ। खोटाङको चर्चित तावा खोलाको शिरमा रहेको तावाभञ्ज्याङमा बाँध हालेर निर्माण गरिने कृत्रिम तालको डिपिआर तयार पारिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए।

ड्रोन क्यामेरा उाँएर २०७५ माघ २ गतेदेखि सर्भे सुरु गरेको परामर्शदाता कम्पनी पाथ वे थापाथलीले कृत्रिम तालको डिपिआर तयार पारेको हो। खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा बनाइने कृत्रिम तालको डिपिआर तयार भएसँगै वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए। उपत्यकाजस्तो हरियाली फाँटको एकातिरको साँघुरो गल्छीमा बाँध हाल्दा करिब पाँच सय मिटर लम्बाइ र अढाइ सय मिटर चौडाइ भएको ताल निर्माण गर्न सकिने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ।

खोटाङ र भोजपुरको सिमानामा रहेको ट्याम्केडाँडासँग पर्यटकीय सम्बन्ध स्थापित गर्नेगरी तावा ताल निर्माणको प्रकृया अघि बढाइएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट जुटाइने करिब ५६ करोड ५७ लाखमा कृत्रिम ताल निर्माणको काम सम्पन्न हुने जनाइएको छ। चारैतिर हरियाली जंगलले घेरिएको तावा भञ्ज्याङ फाँटको साँघुरो छिँडीमा बाँध हालेर ताल निर्माणका लागि डिपिआर लगायत काम गर्न गाउँपालिकाले १३ लाख विनियोजन गरेको थियो। डुंगा सयर, दृश्यावलोकन, होमस्टे लगायत संरचना निर्माण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्न कृत्रिम ताल निर्माणको अवधारणा अघि सारिएको हो।

कृत्रिम ताल निर्माणको काम थाल्नुअघि स्थानीयलाई स्थानान्तरण लगायत काम गर्न चालु आवमा गाउँपालिकाले ७० लाख विनियोजन गरेको छ। पर्यटकीय स्थलकारुपमा चर्चित तावा भञ्ज्याङको पर्यटन प्रवद्र्धनका लागि सोभन्दा तल्लो स्थानमा रहेका झरनालाई समेत प्रवद्र्धनका काम गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए। नेपाल सरकारले निर्धारण गरेको एक सय मुन्धुम ट्रेलमा पर्ने टेम्के, मैंयू, पाँनधारे लगायत पर्यटकीयस्थल नजिकै रहेकाले कृत्रिम तालको सम्भावना प्रचूर रहेको स्थानीयको भनाइ छ।

तावा भञ्ज्याङ मुहान भएको तावा खोला आसपासमा रेन्बोट्राउटको स्रोतकेन्द्र स्थापनाका लागि परिक्षण समेत गरिएको जनाइएको छ। गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन प्रतिबेदनका आधारमा तावा भञ्ज्याङमा कृत्रिम ताल निर्माणको काम अघि बढाइएको अध्यक्ष खड्काले बताए। ‘तावा भञ्ज्याङ उपत्यकाजस्तो अवस्थामा छ, एकतिरको छिँडीमा ड्याम हाल्दा ताल बनाउन सकिन्छ,’ खड्काले भने, ‘तावाभञ्ज्याङमा ताल बनाएर पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्न सकिने प्रचुर सम्भावना भएकाले काम अघि बढाइएको हो।’ ताल निर्माणकाक्रममा सो स्थानका केही घर स्थानीयलाई अन्यत्र सार्नुपर्ने देखिएको छ।

प्रकाशित: १० पुस २०७६ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App