१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महानगरभित्रका सबै पाइपलाइन फेर्ने तयारी

विराटनगर – पाँच अर्ब बढी लागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिने चरणमा पुगेसँगै विराटनगर महानगरपालिकाले अर्को ठूलो परियोजना सञ्चालनको तयारी थालेको छ। जापानी सहयोग नियोग(जाइका)को सहयोगमा महानगरपालिकाले विराटनगरको खानेपानी समस्याको दीर्घकालीन सामाधान गर्ने उद्देश्यले नयाँ परियोजना सञ्चालनको तयारी थालेको हो।

१० अर्ब बढी लागत लाग्ने अनुमान गरिएको खानेपानी सुधार परियोजनाबारे दातृ निकाय जाइकाले अध्ययनसमेत थालिसकेको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा अभियान’ सञ्चालनमा ल्याउने नीतिगत व्यवस्था गरेको थियो। सोही नीति कार्यान्वयनका लागि जाइकासँग सहयोग मागिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार विराटनगर महानगरपालिकाले आफ्नै स्रोतबाटसमेत खानेपानी सुधार अभियान थालिसकेको छ। तर, महानगरको आन्तरिक स्रोतले मात्रै महानगरको खानेपानी समस्याको समाधान गर्न सम्भव नभएका कारण दातृ निकायसँसमेत सहयोग मागिएको पराजुलीले बताए। पराजुलीले भने, ‘विराटनगरको खानेपानी समस्याको समाधानका लागि जाइकाले चासो देखाएर अध्ययनसमेत थालिसकेको छ।’ विराटनगरको १९ वटै वाडामा शुद्ध खानेपानी उपलब्ध गराउन खानेपानी सुधारको नयाँ परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख पराजुलीले जानकारी दिए। जाईकासँग विराटनगरको प्रथमिकताका आधारमा पहिलो चरणमा ५ अर्बको आयोजना निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख पराजुलीले बताए। उनका अनुसार महानगरपालिकाले थप ओभर हेड ट्यांकी निर्माणका लागिसमेत जग्गा उपलब्ध गराइसकेको छ।

विराटनगरमा सञ्चालन भएका मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजना, सहरी विकास परियोजना, छ लेन सडक विस्तार आयोजना, सघन सहरी विकास आयोजनालगायतमा विराटनगरको ढल, नाला तथा सडक निर्माणको काम गरिरहेका छन्। यी आयोजनाले काम गरेका स्थानमा खानेपानीको पाइललाईन छोपिएको, बिग्रिएको र कतिपय स्थानमा ढल तथा फोहोर पानीसमेत मिसिएका कारण विराटनगरमा वितरण गरिएको धाराको पानी प्रदुषित भएको छ। विराटनगरमा ५० वर्ष पुराना पाइपलाइनबाटसमेत खानेपानी वितरण भइरहेको छ। पुरानो र जीर्ण पाइपलाइनका कारण नेपाल खानेपानी संस्थान विराटनगरले वितरण गरेको खानेपानीमा विगत ६ वर्ष पहिले देखि नै समस्या देखिँदै आएको छ। प्रदुषित खाने पानीकै कारण छ वर्ष पहिले विराटनगरमा जन्डिसले महामारीकै रूप लिएको थियो। प्रदुषित पानीका कारण १८ जनाले ज्यान गुमाएका थिए भने ४ हजार बढीमा जन्डिस देखिएको थियो। जसका कारण विराटनगरवासीले खानेपानी संस्थानको पानी नभई चापाकलको पानी पिउने गरेका छन्। विराटनगरमा जार र बोतलको पानी पनि पिउनेको संख्या पनि बढ्दो छ। धाराको पानी पिउन योग्य नभए पछि नगरवासी जार र बोतलको पानी पीउन बाध्य भएका हुन्।

विकास निर्माणका कामले खानेपानी प्रदुषित भएकाले महानगरमा वितरित खानेपानीको संरचना नै परिवर्तन गर्नुपर्ने अवस्था अएको विराटनगर महानगरपालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले बताए। दाहालका अनुसार विराटनगरका अधिकांश सडक निर्माणका क्रममा छन्। कतिपय निर्माण भइसकेका छन्। सडक निर्माणका क्रममा खानेपानीका सबैजसो पाइपलाइन काम नलाग्ने अवस्थामा पुगेका छन्। धेरैजासो कालेपत्रे सडकका बीच भागमा खानेपानीको पाइपलाइन पर्ने भएकाले धारा मर्मत गर्न र नयाँ धारा जडान गर्दा कालेपत्रे सडक नै भतकाउने पर्ने अवस्था छ। सडक विस्तार भएसँगै पुरानो पाइपलाइन कामै नलाग्ने भएकाले सबै सडकको पाइपलाइन फेर्ने योजना महानगरपालिकाले अघि बढाएको दाहालले जानकारी दिए।

खानेपानीको पाइपलाइन सडको दुवतिर विस्तार गर्ने योजनाअनुसार जाइकाले दुई महिनाअघिदेखि अध्ययन सुरु गरिसकेको दाहालले जानकारी दिए। जाइकाले १० महिना भित्रमा अध्धयन सक्ने छ। विराटनगरमा हाल कायम सबै सडकमा सडकको दुबैपट्टी खानेपानीको पाइप बिछ्याउन आवश्यक पाइप, खानेपानीको स्रोत सुधार, थप खानेपानी ट्यांकी निर्माण र खानेपानी शुद्धीकरणलगायतका लागि आवश्यक बजेटको विस्तृत विवरण अध्ययनपछि स्पष्ट हुने दाहालले बताए। दाहालका अनुसार हाल महानगरपालिकासँग खानेपानीको विषयमा सम्पूर्ण विवरण छैन। महानगर बन्नेक्रममा गाविसहरू जोडिएर नयाँ वडा बनेकाले सबै विवरण महानगरसँग नभएको दाहालले बताए। ‘महानगरपालिका बनेपछि पहिलोपटक खानेपानीको आबश्यकता र पाइपलाइनलगायतका विषयमा अध्ययन गरी गुरुयोजना बनाउने काम सुरु गरिएकाले अध्ययन प्रतिवेदन आएपछि मात्रै सबै विषय छर्लंग हुनेछ,’ दाहालले भने।

महानगरपालिकाको नगरपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा विराटनगर महानगरपालिकाले आन्तरिक स्रोतबाट ‘एक घर एक धारा’ अभियान कार्यान्वयन थालेको छ। विराटनगरको तीनपैनी देखि महानगरापलिका र तीनपैनीदेखि अस्पताल चोकसम्मको भागमा सडकको दुवैपट्टि खानेपानीको पाइप फेर्ने काम थालिएको दाहालले जानकारी दिए। उनले भने, ‘आन्तरिक स्रोतबाट महानगरपालिकाले खानेपानीको पाइप फेर्ने काम सुरुगरिसकेको छ।’ महानगरपालिकाका सबै सडकको दुवैपट्टि खानेपानीको पाइप राखिने भएकाले गेट र कम्पाउण्ड लगाउने नगरवासीलाई महानगरपालिकाको अनुमति नलिई पर्खाल नलगाउन महानगरपालिकाले सचेत गराएको छ। महानगरपालिकाको अनुमति नलिई पर्खाल लगाए खानेपानीको पाइपलाइन बनाउने बेलामा पुनः पर्खाल भत्काउनुपर्ने भएकाले महानगरको अनुमति नलिई नबनाउन सचेत गराएको दाहालले बताए।

प्रकाशित: १० पुस २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App