coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘बलि’ दिन भारत लगिएकी किशोरीको उद्धार

काठमाडौं – ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ। झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडाैंबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा प्रेममाया तामाङ, दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलीप पोद्दार, कृष्ण तामाङ र उमेश साह रहेको प्रहरी स्रोतको भनाइ छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले ६ जना पक्राउ परेको पुष्टि गरे। ‘किशोरीको उद्धार गरिएको छ। पक्राउ परेकाहरूबारे अनुसन्धान हुँदैछ,’ उनले भने। पक्राउ पर्नेमा दुईजना पति–पत्नीसमेत रहेको बताइएको छ। काठमाडौं बस्दै आएकी ती किशोरीले ६ महिनादेखि बानेश्वरस्थित फेसन डिजाइनसम्बन्धी पसल खोलेर बसेकी एक महिलासँग सम्पर्क बढाएकी थिइन्। त्यही महिलामार्फत उनी बलिका लागि मान्छे भारत लैजानेहरूको सम्पर्कमा पुगिकी हुन्। ‘भर्खरभर्खर मोडलिङ थालेकी किशोरी रहिछन्। भारतमा गई मोडलिङ गर्न तयार भइछन्। त्यसपछि पटकपटक अन्तर्वार्ता दिने क्रममा शंका लागेपछि उनी प्रहरीको सम्पर्कमा आएकी हुन्,’ स्रोतले भन्यो। ती किशोरीले पुस २ गते प्रहरीमा उजुरी दिएकी हुन्। त्यसपछि मात्रै परिसरले प्रहरी निरीक्षकको कमान्डमा अप्रेसन चलाएको थियो।

बलिका लागि मान्छे भारत लानेहरूले ६ फिट उचाइ भएकी युवती चाहिएको बताएका थिए। आफ्नो उचाइ करिब ६ फिट भएकाले सम्पर्क ती किशोरीले उनीहरूलाई गरेकी थिइन्। राम्रो पैसा र पेसा दुवै पाइने भएपछि ती किशोरी भारत जान पनि तयार भएकी थिइन्। पहिलो अन्तर्वार्तामा उनलाई विभिन्न धर्मबारे प्रश्न गरिएको थियो। दोस्रो अन्तर्वार्ताका प्रश्नहरू खानपानतर्फ केन्द्रित थिए। उनीहरूले तेस्रोपल्ट पारिवारिक सम्बन्ध र महिनावारीबारे प्रश्न गरेका थिए। मोडलिङका लागि लाने भन्ने तर धर्म र महिनावारीबारे सोधेपछि ती किशोरी सशंकित भई प्रहरीकहाँ पुगेकी थिइन्। ‘जब उनी भारत जान तयार भइन्, त्यसपछि उनीहरूले कालो लुगा लगाएर परीक्षणसमेत गरे,’ स्रोतले भन्यो, ‘विभिन्न तन्त्रमन्त्रसमेत गरेको पाइयो। महिलालाई तान्त्रिक विधिका माध्यमले मन्त्र र पूजापाठमा संलग्न गराइएको समेत देखिएको छ।’

धार्मिक आस्था र मोडलिङ फरकफरक विषय भए पनि धर्मसम्बन्धी प्रश्न धेरै गरिएपछि शंका लागेर किशोरी प्रहरी कार्यालयमा उजुरी दिन गएकी थिइन्। सोही उजुरीका आधार प्रहरीले पुस २ गतेदेखि नै निगरानी गर्दै आएको थियो। पुस ५ गते उनीहरूले ती किशोरीलाई काठमाडौंबाट विराटनगर लगेका थिए। उनीहरू काठमाडाैंबाट हिँडेपछि प्रहरीको टोली पनि मोरङ पुगेको थियो। ‘मोरङबाटै प्रहरीले उनीहरूलाई मंगलबार साँझ काठमाडौं ल्याएको हो। प्रहरीले यसलाई गोप्य राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

यसअघि पनि मानवबलिका लागि नेपालबाट महिलालाई भारत लान लागेको चर्चा चलेको थियो। गत असोजमा तानु पहरी र ओमकार साहले काठमाडौं नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन भारत लान खोजेको बताइएको थियो। पहरी भारतीय नागरिक हुन् भने साह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन्।

प्रकाशित: १० पुस २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App