७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

पोखरा–दुबईको उडानले हौसिएको पोखरा

पोखरालाई सिधैं मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु भएको छ।

प्रारम्भिक रूपमा एक महिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ।

पोखराबाट हुन थालेको यो सिधा उडानले पोखरालाई कम्तीमा २ सय ५० गन्तव्यमा हवाई मार्गबाट जोड्ने भन्दै सिंगो पोखरा फ्लाई दुबईको यो उडानबाट निकै नै उत्साही पनि बनेको छ।

पोखरालाई एकै पटक विश्वका धेरै वटा मुलुकसँग जोड्ने गरी हुन थालेको यो उडानले मध्यपूर्वका मात्र नभई अमेरिका र युरोपियन मूलका पाहुनालाई सिधै पोखरा ओराल्न सकिनेमा पोखरा आशावादी छ।

त्यही अनुसार अहिले पोखराले यो उडानको प्रवर्द्धनमा उत्तिकै महत्त्व दिएको छ। मध्यपूर्वका विभिन्न मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने नेपाली कामदार र दुबई हुँदै आउने पर्यटकलाई सिधै पोखराबाट आउजाउ गराउन सक्ने हो भने बल्ल पोखराले यो उडानबाट लाभ पाउने व्यवसायीको भनाई छ।

त्यसो त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएपछि पोखरामा अरू पनि अन्तर्राष्ट्रिय उडानका केही प्रयास भएका हुन्। तर, ती उडानले दिगो रूप लिन सकेका थिएनन्, त्यसैले यो उडानको निरन्तरतालाई महत्वका साथ हेरिएको छ।

यसअघि हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। त्यो बाहेक सिचुआन एयरलाइन्सले चीनको छेन्दु–पोखरा चार्टर उडान गरेको थियो।

ती दुवै उडान नियमित हुन सकेका थिएनन्। त्यसबाहेक अरू उद्धार र केही चार्टर उडान भए पनि नियमित रूपमा टिकाउ हुने गरी अहिलेसम्म उडान चल्न सकेको छैन। विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित भएको छ।

यसअघि भएका उडानका प्रयासले दिगो रूप लिन नसकेको बेला फ्लाई दुबईको यो पटकको उडानलाई दिगो बनाउन धेरै नै मेहनत गर्नुपर्ने व्यवसायीको भनाई छ।

यसअघि चिनियाँ सहरमा भएका उडानले भन्दा यो उडानले धेरै वटा गन्तव्यलाई एकै पटक जोड्ने भएकोले पनि यसले पोखरालाई लाभ दिलाउने र उडान नियमित हुनेमा पोखरेली व्यवसायी विश्वस्त छन्।

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘यसअघि चिनियाँ सहरमा मात्र उडान थियो। ती गन्तव्यले वास्तवमा पोखरामा पाहुना भित्र्याउन खासै सघाउने होइनन्। हाम्रा लागि चीनको छेन्दु मुख्य ट्रान्जिट सहर पनि होइन। ल्हासा त झनै ट्रान्जिट होइन। तर, दुबई हाम्रा लागि महत्त्वपूर्ण ट्रान्जिट हो। यही ट्रान्जिट प्रयोग गरेर अमेरिकी र युरोपियन मूलका पर्यटक नेपाल भित्रिन्छन्। त्यसैले यसलाई हामीले महत्वका साथ हेरेका छौँ।’

व्यवसायीका अनुसार फ्लाई दुबइको आफ्नै जहाजबाट विश्वका करिब ५५ मुलुकका १२५ गन्तव्यमा सिधा उडान छ। त्यस्तै फ्लाई दुबईले इमिरेट्ससँगको सहकार्यमा उडान गर्दा पहुँच झन्डै १ सय ३ मुलुकका २ सय ५० गन्तव्यमा उडान हुने भएकोले पनि पोखरासँगको यो उडान महत्त्वपूर्ण उपलब्धि रहेको उनीहरूको भनाई छ।

‘युरोपियन र अमेरिकी पाहुनालाई सिधै पोखरामा ओराल्न पाउने गरी यो उडान हुँदैछ। अब पाहुना काठमाडौं ओर्लिनु पर्दैन। पोखरालाई २ सय ५० गन्तव्यमा जोड्न पाउनु नै उडान दिगो बनाउने आधार हो,’ श्रेष्ठ भन्छन्, ‘चिनियाँ सहरसँगको उडानले भन्दा दुबईसँगको उडानले पोखरालाई पर्यटकीय गन्तव्यमा सिधा पहुँच बिस्तार गरेको छ।’

उनका अनुसार पोखरामा दैनिक रूपमा हुन थालेको यो उडानमा सुरुवाती समयका लागि दोहोरो उडानमै पर्याप्त यात्रु रहेका छन्। नेपालमा चाडबाड मनाउन आउने नेपाली कामदार र पर्यटकीय सिजन पनि परेकोले यो बेला नेपाल आउन चाहेका विदेशी पाहुनाका लागि पनि यो उडानले सहजीकरण गर्ने उनको भनाई छ।

‘अब हामीले दुबईमा पुगेर पर्याप्त प्रचारप्रसार गर्नुपर्छ। सकेसम्म पर्यटकलाई दुबई हुँदै पोखरा आउजाउ गर्नुस् भन्नुपर्छ,’ उनले भने, ‘पोखरा र दुबईबिचको हवाई उडानबारे पर्याप्त प्रवर्द्धन गर्न जरुरी छ।’

पर्यटन बोर्ड पोखराका वरिष्ठ निर्देशक मणिराज लामिछाने पनि दुबई संसारकै हब बनिसकेकोले पोखरालाई जोड्दा पोखराको पहुँच निकै नै परसम्म पुग्ने बताउँछन्।

‘दुबई भनेको संसारको हब हो। मध्यपूर्वलाई पोखरासँग हवाई माध्यमले जोडिनु भनेको पोखराको पहुँच अन्तर्राष्ट्रियस्तरमा अझै बढ्नेछ,’उनले भने, ‘विश्वव्यापी रूपमा पोखराको पहुँच बिस्तार हुनेछ।’

पोखरा र दुबई हवाई सञ्जालमार्फत जोडिएपछि अमेरिका र युरोपका मुलुकका पाहुना समेत सोझै पोखरा भित्र्याउन सकिने उनले बताए।

‘दुबई त विश्वव्यापी सञ्जाल हो। नेपाली पनि ठुलै आकारमा दुबईसम्म घुम्न जान्छन्। दुबईसँग हवाई सञ्जाल बिस्तार हुनु भनेको पोखराको पहुँच सिधै पर्यटकीय श्रोतबजारसम्म पुग्नु हो,’ उनले भने।

‘ग्लोबल हवाई नेटवर्कसँग पोखराको सम्बन्ध जोडिएको छ। यसअघि चिनियाँ सहरमा भएको उडान व्यापारिक दृष्टिले प्रभावकारी दिएनन्। तर, फ्लाई दुबईको उडानमा व्यापार पनि छ। विश्वभरका सहरमा पोखराको पहुँच बिस्तार हुँदा त्यसले अmभ प्रभाव पार्ने विश्वास गर्न सकिन्छ,’ उनले थप भने।

यो उडान पोखरालाई विश्वव्यापी हवाई सञ्जालसँग जोड्ने एक कोशेढुंगा भएको पनि लामिछानेले बताए। यसले साहसिक पर्यटनको राजधानी पोखरा आउने पर्यटकका लागि मात्र नभई यहाँबाट चितवन, लुम्बिनी तथा गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा सहजमा पुग्न मद्दत पुर्‍याउने उनको भनाई छ।

​सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ को रूपमा मनाउने राष्ट्रिय अभियान चलिरहेका बेला अन्तर्राष्ट्रिय उडानको सुरुवातले नेपालको पर्यटन र आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने उनले बताए।

‘हाम्रो लक्ष्य पोखरालाई थप पर्यटकीय गन्तव्यको रूपमा विकास गराउने हो । दुबई पनि पर्यटकीय हब हो। दुबईमा रोजगारी मात्र नभई पर्यटकीय हिसाबले घुमघामको उद्देश्यले ठुलो आकारमा नेपाली पर्यटक जान्छन्,’ उनले भने, ‘दुई वटा पर्यटकीय गन्तव्यलाई जोड्न पाउँदा त्यसले नेपालको पर्यटनमा निकै नै फड्को मार्नेछ।’

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल पनि पोखरा– दुबईको उडानबाट बढी भन्दा बढी लाभ पाउने नै पर्यटन क्षेत्र भएकोले यसलाई टिकाउन जरुरी रहेको बताउँछन्। त्यसका लागि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनले बताए।

दुबईबाट पोखरासम्म सिधा हवाई उडान सञ्चालन भएकोले पनि अब यो रुटबारे अन्तर्राष्ट्रिय बजारमा जानकारी दिनुपर्ने उनले बताए।

‘सबै मुलुकका पर्यटकलाई सिधा उडानबारे थाहा नहुन पनि सक्छ। त्यसैले यसबारे हामीले पर्याप्त प्रचारप्रसार गर्नुपर्छ। उडानलाई दिगो बनाउन सघाउनुपर्छ,’ उनले भने, ‘दुबई हुँदै पाहुनालाई नेपाल आउजाउ गराउन पनि पहल गर्नुपर्छ। त्यसो भएमा बल्ल पर्याप्त यात्रु हुनेछन्। यात्रु अभावमा टिकाउन समस्या पर्छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला पनि प्राविधिक रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भए पनि पर्याप्त यात्रु भित्र्याएर दिगो बनाउन भने पर्यटन क्षेत्र, उद्योगी व्यवसायी सहित सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताउँछन्।

‘बजार बिस्तारमा जोड दिनुको विकल्प छैन। सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आकर्षित गर्न विभिन्न छुट दिइसकेको छ। तर, अब पाहुना ल्याउनका लागि व्यावसायिक क्षेत्र सक्रिय हुनुपर्छ,’ उनले भने।

उनका अनुसार पर्याप्त यात्रु नहुँदा यसअघिका अन्तर्राष्ट्रिय उडानले गति लिन सकेका थिएनन्। ‘यसअघि चिनियाँ सहर केन्द्रित मात्र उडान थिए। चिनियाँ सहरमा नेपालीको पहुँच कमजोर छ। तर, दुबई भने नेपाली कामदारदेखि आउजाउ गर्ने विदेशी पाहुनाको पनि बाटो पर्छ। त्यही भएर पोखरा–दुबईको यो उडान दिगो बनाउनुपर्छ भन्नेमा सबै एकमत छौँ। यात्राको मुख्य ट्रान्जिट भएकोले पनि यो उडानलाई दिगो बनाउन केही सहज छ।’

दुबई विश्वव्यापी हवाई सञ्जालको ट्रान्जिट भएकोले पनि अहिलेको उडानबाट बढी आशावादी भएको उनले बताए।

‘अमेरिका, युरोपियन मूलका पाहुनालाई यही रुटबाट पोखरा ल्याउन सकियो भने त्यसले समग्र पर्यटन क्षेत्रमा लाभ दिन्छ। उडानलाई निरन्तरता दिलाउन प्रवर्द्धन अभियानलाई सक्रिय बनाउनुपर्छ,’ उनले भने। 

प्रकाशित: ७ आश्विन २०८३ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App