१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करार डाक्टरले धानेको जिल्ला अस्पताल

जिल्ला अस्पताल बैतडी । तस्बिरः बिरा/नागरिक

बैतडी- जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा करार दरबन्दीमा कार्यरत डाक्टरले धानेका छन्। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको हो। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र बिष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको छ।

दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए। आर्थिक अख्तियारी समेत नपाउँदा आवश्यक समान खरिद गर्न र करारका डाक्टरलाई आर्थिक अधिकार नदिँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको डाक्टर जोशीले बताए।

अस्पतालको प्रसूति सेवासमेत करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ। अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या छ। अस्पतालमा कार्यरत डा.देवेन्द्र लेखकले तालिम लिएर अप्रेशन गरेर बच्चा जन्माउने सेवा दिइरहेका छन्। तर उनको करार अवधि पनि तीन महिना मात्रै बाँकी छ। यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भए पनि सबै दरबन्दी रिक्त छन्। दरबन्दीका स्टाफ नर्स नहुँदा करारका स्टाफ नर्सले सेवा प्रवाह गरिरहेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्
जिल्लाका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर छैनन्। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम लगायतका सेवाहरु प्रभावित भएको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसीजी मेसिन भए पनि डाक्टरको अभावमा सबै प्रयोगविहीन भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र भएको १६ वर्षमा २ वर्ष जति मात्र चिकित्सकको सेवा पाएको स्थानीय सुरत पार्कीले बताए।
 

 

 

प्रकाशित: ९ पुस २०७६ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App