१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ज्येष्ठ पूर्वराजदूतलाई सम्मान

 काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।
 राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई सङ्घका तर्फबाट सम्मान गरिन्।    
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गरे।
    

सम्मानित पूर्वराजदूत श्रेष्ठले परराष्ट्र सेवाबाट नियुक्त व्यक्ति मात्र कूटनीतिज्ञ हुन् भन्ने खालको मन्त्रालयको बुझाइलाई सच्याउन सुझाव दिँदै खटाइएका राजदूतको योगदानको मूल्याङ्कन गर्ने संयन्त्रको आवश्यकतामा जोड दिए। नेपाल पूर्वराजदूत सङ्घका अध्यक्ष डा शम्भुराम सिङ्खडाले नेपालजस्ता साना मुलुकले कूटनीतिक चलाखीबाट आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्नुपर्ने बताए। पूर्वराजदूत उपाध्याय संयुक्त राज्य अमेरिका, श्रेष्ठ बेलायत, कोइराला दक्षिण कोरिया र प्रा डा लोहनी बङ्गलादेशमा नेपाली राजदूतका रुपमा रहेका थिए। रासस    
 

प्रकाशित: ९ पुस २०७६ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App