१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छोराकाे आशमा नौं सन्तान, ७ महिने गर्भ

नौ सन्तानकी आमा सिरुकला ल्वार, श्रीमान र सन्तानसँग । तस्बिरः कृष्ण/नागरिक

बाजुरा- पीण्डदानका लागि छोरा नै चाहिन्छ भन्ने गलत मान्यता समाजमा अझै कायम छ। अहिले पनि समाजमा छोराले मात्र किर्याकर्म गर्नुपर्छ, नत्र स्वर्ग पुगिन्न र नर्कमै बस्नु पर्ने पाप मिल्छ भन्ने गलत सोच हाबी छ। जसका कारण पारिवारीक समस्या मात्र देखिएका छैनन्, आमा र बच्चाको शारिरीक स्वास्थ्य समेत जोखिममा छ।

छोराकै आशमा दर्जनसम्म सन्तान जन्माएका, बहुविवाह गरेका घटना मात्र छैनन्, शारिरीक जोखिमताले आमाको ज्यान गएको, लालनपालनको समस्याले कुपोषणको सिकार हुनु परेको र शिक्षा आर्जनबाट वञ्चित हुनु परेका उदाहरण समाजमा व्याप्त छन्।

सन्तान बढी भएकै कारण पारिवारीक र शारिरीक समस्याको सिकार बनेकी छन्, बुढीन्नदा नगरपालिका १० की सिरुकला ल्वार। उनी उमेरले मात्र ३५ वर्षकी भईन्। उनले नौ सन्तान जन्माई सकेकी छन्, भने हाल ७ महिनाकी गर्भवती पनि छन्। नौ मध्ये तीन जना बच्चाको मृत्यु भईसकेको छ र ६ जीवीत छन्।

जीवीतमध्ये पाँच छोरी र एक छोरा छन्। छोरा शारिरीक अपागं भएकै कारण उनले थप सन्तान जन्माउन लागेकी हुन्। छोरा नभए समाजमा हेला हुने र भोलि बुढेसकालको साहरा नै कोही हुदैन, जसरी पनि चाहियो, त्यसैले अर्को जन्माउन लागेको ल्वारले लजाएरै भनिन्।

पहिलो सन्तान १५ वर्षको उमेरमा जन्माएकी ल्वारकी जेठी छोरीले समेत बच्चा जन्माईसकेकी छन्, तर आमा स्वयंले बच्चा जन्माउने आश भने मारेकी छैनन्। लगातार नौ सन्तान जन्माउनुको एउटै कारण छोरा जन्माउनु हो। भगवनाले एक छोरा दिएको हो, त्यो काम लाग्ने भएन, ६ छोरी भएर के काम, पराइ की त हुन्, छोरा नहुने कोख रित्तो हो, छोरीलाई क्या सन्तान भन्नु ल्वारले थपिन्।

ल्वार परिवार आर्थिक रुपमा समस्या भोग्न तयार छ, आफूलाई हुने शारिरीक पिडा सहेर बसेकी छन्, तर उनलाई छोरा चाहिएको छ। पाँच पटक शारिरीक समस्याका कारण जिल्ला बाहिर गएर उपचारसमेत गराएकी छन्।

लालनपालनमा समेत समस्या छ। तर पनि छोराकै लागि बाध्य भएर बच्चा जन्माउनु परेको सिरुकलाका श्रीमान लालबहादुर ल्वारको भनाइ छ। समाजले समेत हेला गर्छ, त्यस कारण पनि जन्माउनु पर्ने बाध्यता हो, हजुर लालबहादुरले थपे।

यो प्रतिनिधी घटना मात्र हो, बुढीनन्दा नगरपालिका ९ कै धनरुप धामीका ८ छोरी पछि मात्र छोरा भयो। छोरा नपाउँदासम्म धनरुपले पनि श्रीमतीलाई बच्चा जन्माउन दबाव दिई रहे। जब छोरा भयो र बच्चा जन्माउन रोके।

पाण्डुसैनका हरिचन्द्र बोहराका पनि नौ सन्तान छन्। उनले पनि छोराकै लागि यति धेरै सन्तान जन्माएका हुन्। लगातार छोरी मात्र भएपछि बीचमा अर्को विहे समेत गर्न खोजे तर नवौ सन्तानका रुपमा छोरा जन्मेपछि उनले चित्त बुझाए। स्वामिकात्र्तिक खापर गाउँपालिका ४ का रनीले (नाम परिवर्तन) छोराकै लागि तीन विहे समेत गरे।

छोराकै भर पर्ने सोचाइ हाबी भएकै कारण समस्यामा यस्ता समस्या देखिएका हुन्। जसले शारिरीक, आर्थिक, मानसिक समस्या देखिने गरेका छन्। बढी सन्तान जन्माउने आमामा रक्तअल्पता बढ्ने, मानसिक रोगी हुने, उपचारमा समस्या हुने गरेको हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीले बताए।

सुत्केरी अवस्थामा नै मृत्यु हुने, कम आयुमै ज्यान गुमाउनु पर्ने समस्या पनि धेरै सन्तान जन्माउने आमाहरुमै देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। उसोत तीनीहरुका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणमा समेत समस्या देखिने गरेको छ। यो अशिक्षीत र अज्ञनतामा बसेका दुर्गम क्षेत्रमा बढी देखिएको छ।

आमा र परिवारको भविष्य र क्षमता नै नहेरेर बच्चा जन्माउनु नै दुर्गममा पहिलो समस्या बनेको जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्। आर्थिक अवस्था, खानपान, जीवनशैली र महिलाको अवस्था हेर्दा भगवान भरोसामा बाँचेको जस्तो लाग्छ, डाक्टर विश्वकर्माले भने।

राम्रो शिक्षा छैन, उचित उपचार र लालनपालनको समस्या उस्तै छ, यसमा राज्यबाटै निश्चित सन्तानका लागि कडाइ गर्न आवश्यक रहेको भन्छन्, पाण्डुसैन स्वास्थ्य चौकीका सिअहेव वीरबहादुर बोहरा।

छोराकै आशमा आमाको स्वास्थ्यलाई ख्यालै गरिदैन, पुरुषको कारण छोरा छोरी हुने हो, भन्ने बुझाइ नै छैन, दोष समेत आमालाई मात्र दिइन्छ, यस पीतृसत्तातात्मक सोचकै उपज हो, भन्छन् बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी।

यसमा स्थानीय तहबाट पनि आवश्यक सचेतना र जागरणका लागि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको रेग्मीले थपिन्। बाजुराका सयौं परिवारमा यही समस्या छ। छोराकै आशमा परिवारले धान्न नसक्ने गरि बच्चा जन्माएको अवस्था छ।

 

 

प्रकाशित: ९ पुस २०७६ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App