१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपतिको स्वागत पर्खाइमा नेपाल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्ने पर्खाइमा रहेको बताएकी छिन्। चिनियाँ राष्ट्रपति सीको भाषण, अन्तर्वार्ता, जीवनी र कामबारे लेखिएको पुस्तक 'सी जिनपिङ : चीनको शासन व्यवस्था' को आइतबार राष्ट्रपति भवन शितलनिवासमा लोकापर्ण गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।

चिनियाँ भाषाबाट अनुवादित सो पुस्तकको लोकार्पण राष्ट्रपति भण्डारी र नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख लिउ छि पाओले संयुक्त रुपमा गरेका थिए।

राष्ट्रपति भण्डारीले कार्यक्रममा उपस्थित चिनियाँ अधिकारी सामु नेपाल राष्ट्रपति सीको स्वागत गर्न आतुर रहेको सन्देश पुर्‍याइदिन आग्रह गर्दै भनिन्, 'कृपया महामहिम र उहाँकी धर्मपत्नी फङ लियुआनसमक्ष हाम्रो मित्रताको सन्देश पुर्‍याइदिनु होला। हामी नेपालमा उहाँहरूको स्वागतको पर्खाइमा छौं।'

चिनियाँ राज्यपरिषद् सूचना कार्यालय, नेपालस्थित चिनियाँ दूतावास, चीन अध्ययन केन्द्र कार्यक्रम आयोजक थिए।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सी दुरद्रष्टा र चीनको प्रगति र समृद्धिमा समर्पित नेता भएको भन्दै प्रशंसा गरिन्। 'उहाँको नेतृत्वमा चीनले विगतको सफलतालाई निरन्तरता दिँदै विकासलाई अझ नयाँ उचाइमा लगेको छ,' भण्डारीले भनिन्, 'प्राचीन रेसम मार्गको पुनरोदय र वान बेल्ट वान रोडको दुरगामी परिकल्पनामा उहाँको दुरदृष्टि अभिव्यक्त भएको छ भन्ने ठानेकी छु।'

तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ नेता लिउले राष्ट्रपति भण्डारीसँग शितलनिवासमा शिष्टाचार भेट गरेलगत्तै पुस्तक लोकार्पण  कार्यक्रम गरिएको थियो। कार्यक्रम नेपाली र चिनियाँ भाषामा सञ्चालन गरिएको थियो। विभिन्न दलका नेता, नेपाली कूटनीतिज्ञ कार्यक्रममा सहभागी थिए।

सन् २०१४ मा प्रकाशित उक्त पुस्तक नौ भाषामा अनुवाद भइसकेको छ।

लिउको भ्रमणलाई चिनियाँ राष्ट्रपति सीको आगामी भ्रमणसँग जोडेरसमेत हेरिएको छ।

चिनियाँ नेता लिउले नेपाल–चीन सम्बन्ध विश्वका लागि उदाहरणीय भएको बताए। 'नेपाल र चीनबीचको सम्बन्ध अन्तर्राष्ट्रिय क्षेत्रमा उदाहरण बनेको छ,' उनले भने।

नेपाल र चीन नदी र पहाडले जोडेको मुलुक भएको भन्दै लिउले चिनियाँ परिकल्पनाको 'वान बेल्ट वान रोड' ले नेपाललाई नयाँ अवसर प्रदान गर्ने बताए। सन् २०१४ मा चिनियाँ राष्ट्रपति सीले अघि सारेको जल तथा स्थलमार्गका छुट्टाछुट्टै योजनामा विभिन्न माध्यमबाट संसारका ६० वटा देशलाई जोड्ने उल्लेख छ।

लिउलले वान बेल्ट वान रोडबाट चिनियाँ उद्यमीहरु नेपाल आएर लगानी गर्ने, नेपालको विकासलाई सघाउने र जनतास्तरमा पनि सहयोग आदानप्रदान गर्न सहयोग मिल्ने बताए।

कार्यक्रममा चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले पुस्तकमा चिनियाँ राष्ट्रपति सीको ८० वटा भाषण, अन्तर्वार्ता, जीवनी र योगदान समेटिएको जानकारी दिए।

उच्च सुरक्षा

पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि नेपाल आउने उच्च चिनियाँ अधिकारी भए पनि लिउको नेपाल भ्रमणलाई लो प्रोफाइलमा राखिएको छ।

सुरक्षा प्रबन्ध भने नेपाल भ्रमण आउने उपराष्ट्रपति बराबरको मिलाइएको छ। उनको सुरक्षामा सशस्त्र र प्रहरी दुवै परिचालन गरिएको छ। 'सिभिलमा सशस्त्र प्रहरी बल खटाइएको छ' उच्च सुरक्षा स्रोतले भन्यो।

सडक खाली नगराए पनि सुरक्षाका लागि दुवैतर्फ प्रहरी तैनाथ गरिएको छ। प्रहरी उच्च स्रोतअनुसार लिउलाई विदेशी उपराष्ट्रपति सरह सुरक्षा दिइएको छ।

आइतबार साँझ माओवादी केन्दका नेताले लिउसँग होटल सोल्टीमा भेटवार्ता गरेका छन्। भेटलगत्तै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितका नेताले लिउको सम्मानमा होटलमा रात्रीभोज आयोजना गरेका थिए। लिउले सोमबार दिउँसो प्रधानमन्त्री दाहालसँग भेट्ने कार्यक्रम छ।

प्रकाशित: ४ पुस २०७३ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App