१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

काठमाडौँ- आइतबार देखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गरे।

पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ।

मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिनुपर्छ। सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ।

अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ। यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ।

बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ।

गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ।

मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिए।

नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो। रासस

 

प्रकाशित: ३ पुस २०७३ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App